Comments Add Comment

कतारमा नेपालीको फुटबल प्रेम


संसारका झण्डै ४० प्रतिशतलाई मानिसलाई कुनै न कुनै रुपमा प्रभावित बनाउँदै बहुप्रतिक्षित विश्वकप फुटबल सकिएको छ । रुसमा सम्पन्न उक्त फुटबलसँग नेपालीको कुनै चासो नहुँदा नहुँदै पनि नेपालका झण्डै १५ प्रतिशत जनतालाई यसले प्रभावित बनाएको अनुमान गर्न सकिन्छ । विश्वका विकसित देशका जनतालाई ५६ प्रतिशत र फुटबल खेल्ने मुलुकका जनतालाई यो खेलल ९७ प्रतिशत प्रभावित बनाएको आँकडा सार्वजनिक भएको छ । यसको अर्थ हो, यसले विश्वको ठूलो अर्थतन्त्रलाई यसले प्रभावित बनाएको छ र आगामी दिनमा यो बढ्दै जान्छ ।

२०२२ को वर्ल्डकप खेलाउन तयार देश कतारमा यसले प्रभावित बनाउनु स्वभाविक नै हो । र, नेपालको श्रम बजारको मुख्य हिस्सा रहेको कतारको रंगशाला बनाउन रातदिन मेहनत गरिरहेका नेपालीहरुको सन्दर्भमा नेपालमा यसको महत्व बढेर गएको छ ।

कतारको सबैभन्दा लोकप्रिय खेल फुटबल हो । १९४० दशकको अन्त्यतिर यहाँ फुटबल खेल सुरु भएको मानिन्छ । फुटबल संग कतारको स्वर्णिम इतिहास रहेको छ । १९७३ मा यहाँको कर्निसमा रहेको एतिहासिक स्टेडियममा महान बक्सर खेलाडी मोहम्मद अलि र महान फुटबल खेलाडी पेले सहभागी गराएको थियो , पेले जसले आफ्नो प्रसिद्ध सान्टोस टिमबाट खेल प्रदर्शन गरेका थिए ।

कतारले एएफसी एसियन कप १९८८ र २०११, गल्फकप १९७६ र १९९२ र २००४ र एसियन गेम २००६ को सफल आयोजना गरेको छ । अस्ट्रेलियामा सम्पन्न १९८१ को अन्डर २० फिफा विश्वकपको उपविजेता बन्न सफल भएको थियो । त्यस्तै ३ पटक गल्फकप बिजेता भएको कतार एसियन गेम २००६ को फुटबल खेलमा इराक लाई १—० मा हराई स्वर्ण पदक जित्न सफल भएको थियो । देश भित्र क्लब म्याचहरु खेलाउने देखि लिएर अन्तराष्ट्रिय स्तरका विभिन्न खेलहरु खेलाउदै आएको कतार २०२२ को वर्ल्डकप खेलाउन तम्तयार छ ।

वर्ल्डकपको भावी आयोजक राष्ट्र कतारले वर्ल्डकपलाई लक्षित गरेर के कस्ता कार्यक्रम आयोजना गर्दैछ भन्ने सर्वत्र चासोको विषय थियो । त्यसो त वर्ल्डकप प्रति गहिरो रुची भएका तर प्रत्यक्ष हेर्ने अवसर नपाएका खेलप्रेमीका निम्ति फ्यान जोनहरु हुनेछन भन्ने कुरामा दुइमत थिएन । २०१४ को ब्राजिलमा भएको वर्ल्डकपको लाईभ खेल कतारको फ्यान जोनमा देखाइएको थियो । भाग्यवस उक्त खेल मैले पनि हेर्ने अवसर पाएको थिएँ । वर्ल्डकपको सुरु भए संगै यहाँका प्रतिष्ठित स्टेडियमहरुमा फ्यान जोन भएको कुराहरु न्युज तथा सोसियल मिडियाहरु मा आउन थाले । त्यसो त सिनेमा, होटेल, रेस्टुरेन्ट तथा मलहरुमा गेम हेर्ने व्यवस्था गरिएको थियो । कतारमा रहेका धेरैजसो नेपालीहरुको अवस्था मेरा भन्दा फरक थिएन ।

वर्ल्डकपको सबै खेलहरु मेरो अफिस टाइममा पर्ने भएको हुदा मोबाइलमा नै गेम हेर्नु पर्ने बाध्यता थियो । कमसेकम आफू समर्थक देशहरुको खेल फ्यानजोनमा हेर्न पाइयोस भन्ने चाहना थियो। ब्राजिलको समर्थक म १७ जुनमा भएको ब्राजिल र स्विजरल्याण्डको पहिलो खेल मोबाइलमा नै हेर्ने बाध्य भए । जुन २२ फ्राईडे भएकाले ब्राजिल र कोस्टारिकाको खेल भने स्टेडियममा हेर्न पाउने भएकाले केहि उत्साहित थिए । खलिफा स्टेडियम २०२२ को वर्ल्डकप खेलाउने स्टेडियम मध्यको एउटा स्टेडियम जहाँ फ्यानजोन भएकाले हामी त्यहाँ गयौं । तर, टेक्निकल कारण देखाउँदै आयोजकले आजको खेल देखाउन नसकिने जानकारी दिए । हामि बिचमा अलपत्र परे जस्तो भयौ । अन्तत हामी गाडीमा हिड्दै मोबाइलमा ती खेल हेर्न बाध्य भयौ । मेरा कतिपय साथीहरु भने अफिस छुट्टी लिएर फ्यान जोनहरुमा पुगेको थिए ।

फ्राइडेको अन्तिम खेल सर्बिया र स्विजरल्याण्डको म्याच फ्यान जोनमा हेर्ने भनेर अलसाद स्पोर्ट क्लब तर्फ लाग्यौ । हामि एक घण्टा अगाडी अलसाद स्पोर्ट क्लब पुगेका थियौ। तथापि यहाँ पार्किंग पाउन गाह्रो भैरहेको थियो । रसियामा जुन महिनामा औसत तापक्रम १३ – २२ डिग्रीसम्म हुने गर्दछ । यहाँ औसत तापक्रम २९ ( ४२ डिग्रीसम्म, फरक मौसमको मात्र थियो । दर्शकहरुको जुनुन, उत्साह र भिड सम्भवत रसिया र यहाँ समान थियो । दर्शकहरु लाई व्यवस्थित रुपमा स्टेडियम भित्र प्रवेश गराउनका निम्ति सेक्युरिटी गार्डहरुलाई हम्मेहम्मे परेको दृश्यले स्टेडियम भित्र जाने थप उत्साह बढ्यो । जब स्टेडियमको मुख्य गेटनिर पुग्यौ त्यहाँको सेक्युरिटी र गेट पासका निम्ति खटिएका स्वयम्सेवक र उनीहरुको व्यवस्थापनले निकै प्रभाव पर्‍याे । स्वमसेवकहरु आइडी कार्डको सबै इन्फर्मेसन कम्प्युटरमा राख्दै पेपरबैंड लगाउदै हामि लाई भित्र पस्ने अनुमति दिए । सेक्युरिटी स्क्यानरमा आफु लाई स्क्यान गर्दै हामी अगाडि बढ्यौ । स्टेडियम भित्र पस्दै गर्दा कुनै ५ तारे होटेलभित्र छौ भन्ने महसुस भयो । स्वयम सेवकहरुले निकै विनम्रता साथ् हामि लाई स्टेडियम तर्फ बाटो देखाइरहेका थिए ।

स्टेडियम भित्रको माहोल बेग्लै थियो । निला, बैजनी, गुलाबी, सुनौला आदि रंगका लाइटहरु एक अर्का बीच प्रतिस्पर्धा गरिरहेका थिए । उत्सवको माहोल त सबै हँसिला अनुहारहरु हेर्दै अनुमान लगाउन सकिन्थ्यो । हामि सिट रोज्न थाल्यौ । त्यहाँ धेरै अप्सनहरु थिए । ठूला ठूला बेलुनहरुमाथि पल्टिँदै हेर्ने, सोफामा बसेर हेर्ने, रेस्टुरेन्टका टेवलमा खाना खाँदै हेर्ने अथवा स्टेडियमका चियरमा बसेर हेर्ने । अन्तत स्क्रिनको सिधा अगाडि पाँचवटा सिटमा हामीले अड्डा जमायाैं।

आयोजकले फ्यान जोनका विशेषताहरु विशाल स्क्रिन, पूर्ण एसी, ४० ओटा पेय पदार्थ तथा फास्टफुडका स्टलहरु , केटाकेटीहरुका लागि खेल्ने ठाउँ , ख्यातिप्राप्त स्टारहरुको कन्सर्ट र पारिवारिक वाताबरण आदि भनेर जुन किसिमले प्रचार गरेको थियो । त्यो भन्दा कयाैं गुना धेरै विशेषता हामीले त्यहाँ देख्न पायौं । वासरुम देखि प्राइभेट रुम तारिफ गर्न लायक थियो । प्रत्येक हातबाट कतिबेला फोहोर खस्छन र टिपाैंला भनेर तम्तयार बसेका किलिनर्स, टिभीमा लाइभ कार्यक्रम चलाउन दौडधुप गरेका प्राविधिक टोलि अनि दर्शकहरुको असुविधा नहोस भन्नका निम्ति खटिएका स्वयंसेवक । यहाँको माहोलले यस देशले फुटबल खेल तथा वर्ल्डकपलाई उच्च प्राथमिकतामा राखेको प्रमाण दिइ रहेको बुझ्न सकिन्थ्यो ।

यहाँको अर्को विशेषता हामीले चाहेका फास्टफुडहरु हामी बसेको सिटमा नै खुत्रुके पसलेहरुले लिएर आउँथे । पपकर्न, कडक चाय बाट हामीले सुरु गर्यौ । खेल सुरु नहुदा सम्म अगाडीको भब्य स्टेजमा कन्सर्ट चलिरहेको थियो । खेल सुरु भएर जब स्क्रिनमा रसियाको स्टेडियम देखियो एसिले ठण्डा भएको शरीरले आफुलाई रसियामा नै भएको आभास भयो । त्योभन्दा पनि बढी जब आफ्ना समर्थक टोलिले बल पोस्ट तर्फ लैजादै गर्दाको हुटिंग, गोल गर्दा तालीको गडगडाहट र गोल खादाको नैराश्यता यी सबै कुराले निकै प्रभाव परेको थियो ।

जुलाई ६ आज ब्राजिलको खेल । आज फ्राईडे । कस्तो सन्जोग । बिहानै देखि हुटहुटी थियो । तर मनमा थोरै बेचैनी , कतै आज पनि ब्राजिलको गेम हेर्न नपाउने त होइन भन्ने । दिनभरि त्यस्तै संकाहरु मनमा उब्जिरहेको थियो । हामि पहिलो गेम उरुग्वे र फ्रान्सको किन छुटाउने भनेर २ घण्टा अगाडि स्टेडियम तिर लाग्यौ । स्टेडियममा कतै हामी पहिलो भइने त होइन भन्ने हाम्रो ठम्याई त्यति बेला फेल खायो जब स्टेडियमको पार्किंग भरिभराउ थियो । गेटमा लामो भिड थियो । हामी भिडको अन्त्यमा सभ्य भएर लाइनमा बस्दै थियाैं । हामीभन्दा पछाडिका असभ्यहरु अगाडी गेटनिर पुगिसकेका थिए । खेल हेर्ने जुनुनले मलाई पनि असभ्य बन्न हौसाइरहेको थियो । र म असभ्य भएँ । मेरो साथी र दाजुहरु पछाडि नै छुट्नुभयो । अन्ततः गेट बन्द भयो । उहाँहरु आउन पाउनुभएन । म एक्लै म्याच हेर्न बाध्य भएँ ।

अर्को दिन अर्थात ब्राजिल र बेल्जियमको गेम भने सबैले सँगै हेर्ने भनी खलिफा स्टेडियमतर्फ लाग्यौ । यसका लागि धेरै नेपालीहरुले फुटबल हेर्नकै लागि कामबाट छुट्टी दिएका थियौं । गेटनिर बंगाली ब्राजिलियन फ्यानहरुको जत्थाले भरिभराउ थियो । हामी निकै संघर्षका बाबजुत पस्न पाएनौं । गेम सुरु भैसकेको थियो । मोबाइलमा गेम हेर्दै फेरि कतारतर्फ हानियौं । कतारमा भएको फ्यान जोनको विशेषता गाडी पार्किंगमा राखेर अगाडि ठूलो स्क्रिनमा गेम हेर्ने सुविधा थियो । जसको चारैतर्फ खाना तथा प्येय पदार्थका स्टलहरु थिए । चारैतिर फुटबलमय वातावरण थियो । हामीले हाफ टाइमपछिको गेम यहाँ हेर्ने अवसर पायौं । यो दौडधुप, रस्साकस्सी ब्राजिल हारेको हेर्नका निम्ति रहेछ । सबैका अनुहार मलीन भए ।

विकसित देशहरुमा फ्यानजोनहरु हुने गर्दछन् । वल्र्डकप नै खेल्ने देशहरुका कुरा बेग्लै छन् । शान्ति सुरक्षाका नाममा हाम्रो देशमा खुल्ला ठाउँमा खेल देखाउन बन्देज जस्तै छ । फ्यानजोनका धेरै विशेषता छन । जसबाट खेलप्रेमीले धेरै फाइदा लिन सक्छन् । ठूलो स्क्रिन अथवा पर्दामा खेल हेर्दा खेलसम्बन्धी धेरै कुराहरु सिक्ने अवसर मिल्छ । यहाँको फ्यानजोन मा हरेक आमाबाबुहरु आफ्ना छोराछोरीलाई आफ्नो समर्थक टिमको जर्सी लगाएर उपस्थित देखिन्थे। किड्सजोन मा भर्खर उभिन सिक्दै गरेका बच्चाहरु पनि फुटबल संगै लडिरहेका हुन्थे। जसले गर्दा उनीहरुको बाल मस्तिस्कमा खेलप्रति अवश्य सकारात्मक प्रभाव पर्ने छ ।

वर्ल्डकप भनेको आफ्नो राष्ट्रलाई विश्व सामु चिनाउने अवसर हो । विश्वमा गुमनाम देशहरु पनि वर्ल्डकप खेलेका कारण एकाएक परिचित हुने गर्दछन् । त्यसो त राम्रो खेल प्रदर्शन गरेका देशहरु सबैको मन मस्तिस्कमा बस्ने गर्दछन् । फुटबल मात्र होइन, हरेक खेलले एक देशलाई अर्को देशसँग जोड्ने पुलको काम गर्दछ ।

फिफा बरियताक्रममा हामी निकै तल भए पनि नेपाली जाति फुटबल खेलका पारखी हौं । तथापि हामी सधैं हाम्रा सीमित स्रोत साधनलाई अपवादका रुपमा लिने गर्दछौं । फुटबलका राजा एड्सन अरान्ते दो नासिमेंतो अर्थात् पेले जसले नाङ्गो खुट्टाले झुम्राको बल खेलेका थिए । उनको एउटा भनाइ छ— ‘सफलता दुर्घटना जस्तो अचानक आउँदैन । यो कडा महेनत, इच्छाशक्ति, सिक्ने चाहना, अध्ययन, केही सम्झौतामा भरपर्छ । तर, यीभन्दा महत्वपूर्ण कुरा तपाईं जे सिक्दै हुनुहुन्छ र गर्न चाहनुहुन्छ, त्यसप्रति तपाईंका गहिरो प्रेम हुनुपर्छ ।’ हामी आफ्नो असफलताका सयांै दोष अरुमाथि थुपार्ने गर्दछांै । तर, पेलेले भनेका सफलता प्राप्तिका सबैकुरा आफैले गर्नुपर्ने हो भन्ने मूल कुरा भुल्ने गर्दछौं ।

आफ्ना छोराछोरीका अगाडि उनीहरुलाई केवल डाक्टर, इञ्जिनियर अथवा कुनै सरकारी जागिर खुवाउने निजी सपना नसुनाउनुहोस् । उनीहरुभित्रको प्रतिभालाई पहिचान गर्नु होस् र त्यस्तै वातावरणको सिर्जना गरिदिनु होस् । देशले पनि अन्तराष्ट्रियस्तरको रंगशाला बनाउने सपना देखाउनु भन्दा सर्वसाधारणको पहुँचमा खेल खेल्ने, हेर्ने र बुझ्ने वातावरण सिर्जना गरिदियोस् ।

आशा गरौं, एकदिन हाम्रो देशमा पनि मेस्सी, रोनाल्डो, नेमार र केलियन बाम्पे को जन्म हुनेछ । अनि एकदिन हाम्रो देशले पनि वर्ल्डकप खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment