Comments Add Comment

डा. टंक न्यौपाने भन्छन्– देशको लुतो फालौं !

‘साउनमा मासु नखानु हिन्दुकरणको प्रभाव’


१ साउन, काठमाडौं । आज साउने संक्रान्ति । नेपाली समाजमा साउने संक्रान्तिलाई एउटा पर्वकै रुपमा मनाउने पुरानो प्रचलन छ । खासगरी शहरमा भन्दा गाउँघरमा साउने संक्रान्तिको चहलपहल बढी हुन्छ ।

पाकेको अन्नको न्वागी खाने दिनका रुपमा पनि साउने संक्रान्तिलाई लिने गरिन्छ । पहाडमा यसबेला वर्षे धान पाक्ने र हरियो मकै खाने बेला हुने भएकाले धान र मकैको न्वागी खाने प्रचलन छ ।

मांसहारीले आजको दिन राँगा, बंगुर तथा खसीबोका वा कुखुराको मासु खाएर साउने संक्रान्ति मनाउने गर्दछन् । पहाडमा आजको दिन सार्वजनिकस्थलमा स्याउला ओच्छ्याएर मासु काटेर गाउँलेहरुमा भाग लगाउने प्रचलन छ ।

आजको दिनलाई लुतो फाल्ने दिन पनि भनिन्छ । बलिरहेको अगुल्टो घुर्‍यानतिर मिल्काएर ‘जा लुतो जा’ भन्दै लुतो फाल्ने ग्रामीण परम्परा छ ।  लुतो फाल्ने क्रममा निबुवा, भोगटे, कागती, अम्बा, नासपाती इत्यादि फलफूल चढाएर कण्डारक नामक राक्षसको पूजा गर्ने प्रचलनसमेत गाउँघरमा छ । यसरी पूजा गर्दा दाद, लुतो एवं खटिराजन्य छालामा लाग्ने रोगको प्रकोपबाट बच्न सकिन्छ भन्ने लोक विश्वास रही आएको छ ।

लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख, घण्ट, थाल  बजाउने, ढिकी कुट्ने र होहल्ला गर्ने गरिन्छ

साउने संक्रान्तिको साँझमा कुकुरडाईनो, भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी इत्आदि वनस्पतिहरू जलाएर आँगनको चारैदिशामा लुतो भाग् भन्दै ˆयाँकिन्छ । र, यसैलाई नै लुतो ˆयाँकेको भन्ने प्रचलन छ ।
त्यसैगरी लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख, घण्ट, थाल  बजाउने, ढिकी कुट्ने र होहल्ला गर्ने गरिन्छ । घरबाट लुतो भागोस् भनेर साँझमा केहीबेर ढोका बन्द गर्ने परम्परा अचेल हराउँदै गएको छ ।

धरान निवासी संस्कृतिविद प्राध्यापक डा. टंक न्यौपाने कृषिप्रधान समाजमा हिलोमा काम गर्नुपर्ने हुँदा लुतो लगायतको छालासम्बन्धी रोग लाग्ने भएकाले साउने संक्रान्तिलाई लुतो फाल्ने दिनका रुपमा लिने गरिएको बताउँछन् ।

तर, साउनमा मासु खानुहुँदैन भन्ने प्रचलन सही नभएको डा.  न्यौपाने बताउँछन् । वर्षायाम खेतीपातीको समय भएकाले झनै प्रोटिनयुक्त खानेकुराको आवश्यकता पर्ने बताउँदैै प्राडा न्यौपाने  भन्छन्– ‘साउन महिनामा मासु बार्ने प्रचलन थिएन । अहिले पनि साउने यसंक्रान्तिमा मासु काट्ने चलन पहाडतिर छ ।’

यस दिनलाई राजनीतिमा देखिएको समस्या अर्थात देशको लुतो फाल्ने विम्बका रुपमा लिन सकिने साहित्यकार प्राडा. न्यौपानेले अनलाइनखबरलाई बताए ।

डा. न्यौपानेले भने– ‘आजको आधुनिकीकरण र शहरीकरणले गर्दा लुतो फाल्ने संस्कार समाप्त भएपछि अब यो देशमा लागेको जुन रोगव्याधि छ, यो लुतो चाहिँ फालिनुपर्छ ।’

प्राडा. न्यौपानेसँग गरिएको कुराकानी उनकै शब्दमाः

अरुबेला मासु खाने, साउनमाचाहिँ किन नखाने ?

मैले वाल्यकालमा देखेको हुँ, त्यसबेला साउने संक्रान्तिका दिन लुतो फालिन्थ्यो । कृषिप्रधान देश नेपाल गाउँ नै गाउँको देश हो । हिलोमा खेल्नुपर्ने हुनाले त्यसबाट लुतो निस्कन्थ्यो नै । औषधिहरु त्यसबेला कमै थिए । अनि एउटा परम्परागत अन्धसंस्कृतिमा आवद्ध भएर लुतो फाल्ने परम्परा बसाए ।

दोस्रो, हामी साउने संक्रान्तिमा हरिया मकैको न्वागी खान्थ्यौं । त्यो मकै पनि पाक्ने बेला यतिखेरै हो । यतिबेलै पाक्ने भएको हुनाले अन्नलाई प्रशोधन गर्नुप¥यो भन्ने कन्सेप्टले यो साउने संक्रान्ति मनाउने गरिएको हो ।

साउने संक्रान्तिमा हामी मासु खान्थ्यौं । साउन महिनामा मासु बार्ने प्रचलन थिएन । अहिले पनि साउने संक्रान्तिमा मासु खाने चलन पहाडतिर छ ।तर, अहिले गलत के भयो भने अनावश्यक हिन्दुकरण भएर साउनभरि मासु नखाने, हरियो चुरा लाउने गलत संस्कार भित्रियो ।

आजको आधुनिकीकरण र शहरीकरणले गर्दा लुतो फाल्ने संस्कार समाप्त भएपछि अब यो देशमा लागेको जुन रोगव्याधि छ, यो लुतो चाहिँ फालिनुपर्छ

तर, साउनमा हामीले मासु खाने नै हो । जसले खाएको छैन, त्यो अर्कै कुरा हो । साउनमा चाहिँ नखाने, अरुबेला खाने भन्ने कुरा हुँदैन ।

म त सनातन धर्म मान्छु । हामी बनाइएका हिन्दु हौं । हिन्दुकृत हौं । र, हामी सबैखाले धर्मलाई पचाउने सनातनी भएको हुनाले नै धार्मिक सहिष्णुता पनि भएको हो । त्यसकारण हामीले साउनमा मासु खाने नै हो । अहिले साउनमा मासु नखाने जुन चलन गरे, त्यो मलाई मन परेको छैन । वर्षायाममा काम गर्नुपर्ने बेलामा त झन प्रोटिन त अनिवार्य हो ।

पहिले–पहिले साउने संक्रान्तिमा क्षेत्री बाहुनले खसी खान्थे । राईलिम्बुहरुले राँगा, सुँगुर खान्थे । अर्थात सबैले मासु खान्थे । नखानेले साउनमा मात्रै होइन, अरुबेला पनि खाँदैनथे ।

साउने संक्रान्तिको लुतो फाल्ने संस्कारलाई अहिलेको परिस्थितिमा देशको राजनीतिसँग जोडेर हेर्न मिल्छ । आजको आधुनिकीकरण र शहरीकरणले गर्दा लुतो फाल्ने संस्कार समाप्त भएपछि अब यो देशमा लागेको जुन रोगव्याधि छ, यो लुतो चाहिँ फालिनुपर्छ ।

यो पनि पढ्नुहोस्

साउन, शिव महिमा र मौसमी मादकता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment