Comments Add Comment

मधेस आन्दोलनका घाइतेको पीडा-घर धितोमा राखेर उपचार

दुईजना घाइतेलाई तीन लाख सहयोग

१ साउन, वीरगञ्ज । प्रदेश २ को सरकारले पर्साका दुई जना मधेस आन्दोलनका घाइतेलाई आर्थिक सहयोग गरेको छ ।

पर्साको सखुवा प्रसौनी गाउँपालिका-५ महुबन बस्ने पन्नालाल यादव र पर्साको वीरगञ्ज महानगरपालिकाको वगही बस्ने मन्सी राउत पटेललाई प्रदेश सरकारले ३/३ लाख आर्थिक सहयोग गरेको हो ।

मुख्य मन्त्री लालबाबु राउतले मधेस आन्दोलनका घाइतेद्वयको घरमै पुगेर तीन लाखको चेक हस्तान्तरण गरेका थिए ।

चेक हस्तान्तरण गर्दै मुख्यमन्त्री राउतले मधेस आन्दोलनका घाइतेका लागि पहिले चरणमा आर्थिक सहयोग गरिएको बताए । ‘यो पहिलो चरणको काम हो, मधेस आन्दोलनका घाइतेहरुलाई प्रदेश सरकारले भुलेको छैन,’ उनले भने ‘ विभिन्न प्याकेजमा प्रदेश सरकारले उनीहरुलाई सहयोग गर्छ ।’

प्रदेश सरकारकोे मन्त्री परिषद बैठकले मधेस आन्दोलनका घाइतेहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरे अनुसार नै सहयोग वितरण गरिएको मुख्यमन्त्री राउतका स्वकीय सचिव दिपक यादवले जानकारी दिए ।

यादवलाई मधेस आन्दोलनका क्रममा ०७२ भदौं १४ गते वीरगञ्जको राधेमाईमा घुँडामा गोली लागेको थियो । यादवले आफ्नो उपचारमा ४३ लाख खर्च भएको बताए । ‘घाइते भएदेखि कहिले विएन्डबी त कहिले भारतको एम्स अस्पताल गरेर मेरो उपचारमा निरन्तर खर्च भइरहेको छ । घर धितो राखेर ऋण लिएर उपचार खर्च जुटाइरहेको छु,’ उनले भने, ‘यसअघि सखुवा प्रसौनी गाउँपालिकाले ५ लाख र गृह मन्त्रालयबाट ३ लाखजति सहयोग पाएको थिएँ । मंगलबार मुख्यमन्त्री ज्यू स्वयं आएर ३ लाख दिनुभयो । अन्य कतैबाट सहयोग पाएको छैन । ‘

आफू काम गर्न नसक्ने अवस्थामा रहेकोले परिवार पाल्न निकै कठिनाइ भइरहेको उनको भनाइ छ  ।

मन्सी पटेललाई मधेस आन्दोलनकै क्रममा मुलुकमा नयाँ संविधान जारी भएको दिन २०७२ असोज ३ गते माईस्थानमा असोज ३ गते गोली लागेको थियो । गोली लागेर गम्भीर अवस्थामा पुगेका उनलाई सोही दिन हेलिकप्टरमा राखेर काठमाण्डु उपचारका लागि लगिएको थियो ।

भारत र नेपालका अस्पतालमा निरन्तर उपचार गराईरहेका यादवको उपचारमा पनि लाखौं खर्च भएको सामाजिक अभियन्ता प्रकाश थारु बताउँछन् ।

आर्थिक अवस्था कमजोर रहेका कारण मन्सीको उपचारका लागि सामाजिक अभियन्ताहरुले पटक-पटक रकम संकलन गरेर सहयोगसमेत गर्दै आएका छन् ।

बाढीमा मृत्यु हुनेको परिवारलाई ५० हजार

प्रदेश सरकारले पछिल्लो समयमा आएको बाढीबाट ज्यान गुमाएकाहरुको परिवारलाई पनि प्रतिपरिवार ५० हजारका दरले आर्थिक सहयोग गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले उनीहरुको पनि घर घरमा पुगेर प्रदेश सरकारको राहत रकम हस्तान्तरण गरेका छन् ।

गत असार १० गते अबिरल वर्षपछि फन्टी खोलामा आएको बाढीले बगाउँदा पर्साको पर्सागढी नगरपालिका-८ का प्रतिमाकुमारी राम र सुरेन्द्र महतो धानुकको मृत्यु भएको थियो ।

उनीहरुको परिवारलाई भेटेर मुख्य मन्त्री राउतले राहत रकम हस्तान्तरण गरेको स्वकीय सचिव यादवले जानकारी दिए ।

यसअघि सोमबार मुख्यमन्त्री राउतले वीरगञ्ज महानगरपालिकाको राम गढवामा खाल्डोमा डुबेर ज्यान गुमाएका बालक आलोक यादवको परिवारलाई पनि ५० हजारको चेक हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment