Comments Add Comment

नवजीवनको एक वर्षको आम्दानी १२ करोड

१ साउन, कैलाली । राष्ट्र बैकबाट सिमित बैंकिङ्ग कारोबार गर्ने अनुमति प्राप्त देशकै पहिलोे सहकारी संस्था नवजीवन सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष ०७४/७५ मा १२ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

उक्त मुनाफामा बिभिन्न बैंकमा जम्मा रहेको नवजीवनको रकमको व्याज भने जोडिएको छैन ।

सहकारीका पाँचवटा शाखाको बिभिन्न बैंकमा रहेका खातामा झण्डै एक अर्ब रुपैयाँ जम्मा छ । धनगढीका बिभिन्न बैंकमा नवजीवन सहकारी संस्थाकोे १४ करोड रुपैयाँ जम्मा छ ।

बैंकहरुमा रहेको रकमबाट नवजीवनले व्याज वाफत करीव एक करोड रुपैयाँ पाउने अनुमान गरिएको छ ।

बैंकहरुबाट प्राप्त हुने व्याज रकमसमेत गरेर यसवर्ष नवजीवनको मुनाफा झण्डै १३ करोड हुने नवजीवन सहकारी संस्थाका महाप्रबन्धक मोहनराज भट्टले बताए ।

गत आर्थिक वर्षमा ८ करोड ८७ लाख मुनाफा आर्जन गरेको नवजीवनको एक वर्षमै ३५ प्रतिशतले मुनाफा बृद्धि भएको महाप्रबन्धक भट्टले बताए ।

दुई वर्षअघि नवजीवनको मुनाफा ६ करोड ७० लाख रुपैयाँ रहेको थियो । दुई वर्षअघि उसले कमाएको मुनाफाको तुलनामा यस वर्षको मुनाफा झण्डै दोब्बर हो ।

संस्थाका महाप्रबन्धक भट्टका अनुसार २ अर्व ५८ करोड निक्षेप रहेको नवजीवनले व्यापार, कृषि लगायत बिभिन्न शीर्षकमा २ अर्व ३२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

नवजीवन सहकारी संस्था प्रदेश नम्बर ७ कै सबैभन्दा बढी कर तिर्ने संस्था पनि हो । यसवर्ष सरकारलाई उसले मुनाफाको २० प्रतिशत अर्थात २ करोड ४० लाख रुपैयाँ राजश्व बुझाएको छ ।

धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवन सहकारी संस्थाले धनगढी, अत्तरीया, सुख्खड, टीकापुर र बर्दियाको बासगढीमा रहेको शाखा मार्फत सेवा दिइरहेको छ ।

नवजीवनका पाँचवटै शाखा र केन्द्रीय कार्यालयमा समेत गरी ८६ जना कर्मचारी कार्यरत छन् ।

०५० साल मंसिर ३० गते ६४ जनाबाट शुरु भएको नवजीवन सहकारी संस्था नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ कारोवारका लागि अनुमति प्राप्त गर्ने नेपालकै पहिलो सहकारी संस्था हो । हाल नवजीवका १८ हजार शेयर सदस्य रहेका छन् ।

१० लाख ४० हजार पूँजीबाट शुरु भएको नवजीवनको हाल १५ करोड ८५ लाख पूँजी रहेको छ ।

संस्थाका अध्यक्ष चक्रबहादुर सिंहले जनताको विश्वास, कर्मचारीहरुको लगनशिलता इमान्दारिताका कारण नवजीवनले दुई वर्षको अबधिमा मुनाफामा छलाङ मारेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment