Comments Add Comment

खान खाने यस्तो शैली, हामीले पनि सिक्ने कि ?

जब भोक लाग्छ, थालभरी भात पस्कियो । दाल, तरकारी जे छ, त्यसैसँग मुछेर ग्वाम-ग्वाम खायो । कहाँ बसेर, कसरी, कति, कुनबेला खाने भन्ने हामीलाई त्यती मतलब हुँदैन । यसो हुनुमा दुई कारण छन् ।

एक त हामी धपेडीपूर्ण दैनिकीबाट गुजि्ररहेका छौं । त्यही कारण आरमसाथ बसेर खाने मेलोमेसो मिल्दैन । अर्को, हामीसँग खानपानको खास ज्ञान भएन । यसले अनर्थ नलागोस् । तर, हामी खाना खाने शैलीप्रति त्यती सचेत र जागरुक छैनौं ।

हामीलाई लाग्छ, भोक मेट्नका लागि खाना खाने हो । खाना जसरी खाएपनि त्यही पेटमा पुग्ने हो । जति खाएपनि, जस्तो खाएपनि, जसरी खाएपनि डेढ वित्ताको पेट भर्नु हो । हामीलाई यस्तै लाग्छ ।

जतिबेला काठमाडौंका चल्तीका रेष्टुरेन्टहरुमा काम गरिरहेका हुन्थें, त्यसबेला कसले के खान्छन्, कसरी खान्छन्, कति खान्छन् भन्ने कुरा उत्सुकतापूर्वक नियाल्थें । त्यसबेला मैले पश्चिमा मुलुकमा ग्राहकहरुको खानपान शैलीबारे नजिकबाट जान्ने मौका पाएँ ।

कसरी खान्छन् ?

हामी पेट भर्न खाना खान्छौं । उनीहरु शरीरलाई आवश्यक न्युट्रेशन अर्थात पोषक तत्व परिपूर्ति गर्नका लागि खाना खान्छन् । त्यसैले ति ग्राहकहरु त्यस्तै खानेकुरा अर्डर गर्थे, जो पौष्टिकताले भरिपूर्ण छ । हामीलाई उनीहरुको खाना त्यती स्वादिलो नलाग्ने । तर त्यस्ता खानेकुरा स्वस्थ्यकर हुने । उनीहरु स्वादमा भन्दा बढी स्वास्थ्यमा महत्व दिने रहेछन् ।

हामी खाना खाने भनेपनि जिब्रो पड्काएर अमिलो, पिरो, नुनिलो, टर्रो स्वाद लिन्छौं । कस्तो खाना स्वस्थ्यकर भन्ने कुराको जानकारी लिदैनौं । मिठो भए पुग्छ । कतिपय अवस्थामा सस्तो खानेकुरा खोज्ने चक्करमा पनि अस्वस्थ्यकर खानेकुराको सेवन गर्न पुग्छौं ।

तर, उनीहरुलाई न्युट्रेशनको बढी ज्ञान हुने रहेछ । खानेकुरा नै न्युट्रेशनको स्रोत हो भन्ने कुराको जानकारी मात्र होइन, त्यसलाई कति मात्रा कसरी खाने भन्ने कुराको पनि उनीहरुलाई हेक्का हुँदोरहेछ । त्यसैले दिनभरको खानामा सकेसम्म सन्तुलन मिलाएर खाने गर्छन् ।

हामी एकैथरीको खाना भरपेट खान्छौं । उनीहरु धेरै भेराइटी मगाउँछन् र थोरै-थोरै सबैको स्वाद लिन्छन् । भलै त्यो स्वादिलो खानेकुरा नहोस् । तर, उनीहरु निकै स्वाद मानेर खाने गर्छन् । उनीहरुको यो प्रवृत्ति मलाई साह्रै मन पर्‍यो ।

साङ्गे योन्जन लामा

खाना एक उत्सव

हामीलाई एक थाल भात रित्याउन चार मिनेट लाग्दैन । हतार हतार गाँस टिप्छौं र भेट भर्छौं । यसो गर्दा खानाको असली स्वाद लिन सकिदैन । जिब्रोमा एकछिन पनि खाना खेलाउन पाइदैन । कुन खानाको स्वाद कस्तो भन्ने कुरा थाहै नपाई हाम्रो पेटमा ओभरडोज भइसकेको हुन्छ ।

उनीहरुले भने साह्रै स्वाद लिएर खाने रहेछन् । आवश्यक खानेकुरा अर्डर गर्ने । टेबलभरी सजाउने । त्यसपछि जो-जो छन्, एकसाथ बस्ने । सबै खानेकुरा थोरै-थोरै स्वाद लिएर खाने । खानेकुरा खाइरहँदा उनीहरु खुब रमाइलो पनि गर्ने रहेछन् ।

साथीभाईसँग छ भने त्यही अनुसारको रमाइलो, परिवारसँग छ भने त्यही किसिमको । यस्तो लाग्ने, मानौ खाना खानु पनि एउटा उत्सव हो । हामीले खानेकुरालाई त्यती इज्वत दिएर सायदै खाने गर्छौं ।

उनीहरु एउटा टुक्रा पिज्जा खान परे पनि त्यसमा स्वाद लिएर रमाएर खाने । पिज्जाको टुक्रा लिएर कुनै चउरको एकान्त, शान्त ठाउँमा जाने । सानो टुक्रा पिज्जाबाट पनि धेरै समय रमाइलो गर्दै खाने । मलाई उनीहरुको यस्तो शैली खुब मन पर्‍यो ।

ब्रेकफास्ट अनिवार्य खाने, क्षण-क्षणमा डार्क चकलेट वा अन्य हल्का खानेकुरा खाइरहने, सफा पानी सेवन गरिरहने र डिनरलाई निकै रमाइलोगरी खाने चलन हुने । डिनरमा अक्सर एक गिलास वाइन वा वियर पनि पिउने गरिन्छ ।

हामीकहाँ चिज उत्पादन हुन्छ । तर, हामी त्यस्तो खानेकुरा खाँदैनौ । उनीहरु भने अनिवार्य जस्तै चिज सेवन गर्छन् ।

अहिले हाम्रा टिनएजर्सले पिज्जामा अलि अलि चिज खान्छन् । तर, दिनभरको खानामा चिज सामेल गर्दैनन् । जबकी उनीहरु यस्ता खानेकुरा प्राथमिकताका साथ आफ्नो डाइटमा सामेल गरिन्छ । उनीहरुले खाने चिज त्यती मिठो नहुदो रहेछ । तर स्वस्थ्यकर भएकाले खान्छन् । यसबाट के बुझिन्छ भने, उनीहरु स्वास्थ्यप्रति कति सचेत छन् ।

स्वादिलो त आफैले बनाउने हो

खानेकुरा भनेको पेट भर्न मात्र खाने होइन । स्वास्थ्यका लागि खाने हो । त्यसैले जिब्रोलाई भन्दा बढी पेटलाई ख्याल बिचार गर्नुपर्छ ।
स्वास्थ्यलाई ख्याल गर्दा स्वादिलो नहोला कि भन्ने पिर पर्न सक्छ । तर स्वाद भनेको मान्ने कुरा हो । स्वस्थ्यकर खानेकुरा सेवन गर्दा पनि त्यसलाई उत्सवकै रुपमा रमाइलो गरेर खान सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment