Comments Add Comment

भानुभक्तः भारतदेखि युनेस्कोसम्म

नेपाली साहित्यको श्रीवृद्धि गर्ने उद्देश्यले भारतमा सन् १९२४ मा स्थापना भएको नेपाली साहित्य सम्मेलनले १३ जुलाईमा कवि भानुको जन्मजयन्ती पालन गर्ने परम्परा पहिलोपल्ट दार्जीलिङमा आरम्भ गर्‍यो । पहिलो भानु जयन्तीको प्रभाव दार्जीलिङ भेकका वरिपरि खरसाङ, कालेबुङ लगायत सिलगुढीमा पर्‍यो ।

सन् १९१३ मा स्थापित खर्साङ गोर्खा जन पुस्तकालय, सिक्किममा सन् १९५९ मा स्थापित अपतन साहित्य परिषदले भानुभक्तको जन्म जयन्ती मनाउने गरेको देखिन्छ । सन् १९७९ मा नेपाली साहित्य सम्मेलन- पछिबाट नाम परिवर्तित भएर सन् १९८९ मा नेपाली साहित्य परिषद् नाम हुन गयो) को गठन भएपछि भानु जयन्ती धुमधामले मनाउने परम्परा रहेको छ । यस्ता गतिविधिले नेपाली भाषाको सम्मान बढेको महसुस हुन्छ ।

सिक्किमका पहिलो सम्माननीय मुख्यमन्त्री लेण्डुप दोर्जी काजीले भानु जयन्तीको आˆनो वक्तव्यमा कवि भानुभक्तलाई पहाडेका देवता हुन् भन्नुभएको कुरा सिक्किमका पुराना मानिसहरूले आज पनि सम्झने गर्छन् ।

भारतीय नेपाली साहित्य समाजमा भानु जयन्तीलाई बहुसांस्कृतिक सङ्गमको मिठो झलक दिने एउटा ऐतिहासिक दिन मान्न सकिन्छ । पश्चिम बङ्गाल सरकारले सरकारी अधिसूचना जारी गरी १३ जुलाइको दिन विदा घोषणा गरेको छ भने सिक्किम सरकारले पनि यस दिनलाई विदा घोषित गरेको छ ।

यसरी दार्जीलिङ, खर्साङ, कालेबुङ, डुवर्स, सिलगढी, देहरादुन, असम, मेघालय, मणिपुर आदि भारतका विभिन्न राज्यहरूमा छरिएर बसोबासो गर्दै आएका नेपालीभाषी समुदायले भानु जयन्ती राज्य एवं राष्ट्र स्तरमा सांस्कृतिक पर्वको रूपमा बढो हर्षोल्लास, श्रद्धा र भक्तिसाथ पालन गर्दै आएका छन् ।

संस्कृत रामायणका आदिकवि वाल्मीकि अनि बङ्गलामा रामायण अनुवाद गर्ने कवि कृतिवास जस्ता प्रतिभाशाली कवि नेपाली समाजमा पनि छन् भनेर भानुभक्तलाई अन्य भारतीय भाषा- साहित्यका पाठक र अनेपाली जनसमुदाय समक्ष चिनाउने उद्देश्यले १८ जून सन् १९४९ मा प्रथमचोटि दार्जीलिङको चौरस्तामा कविको सालिग स्थापना गरियो । त्यस समय नेपालले पनि यस्तो ऐतिहासिक कार्यको थालनी गरेको थिएन ।
भारतीय नेपाली समाज र साहित्य कवि भानुभक्तको पर्याय बनिसकेको छ । भारतमा यिनलाई विश्वकवि रविन्ऽनाथ टेगोरको स्थानमा राखेर तुलना गरिन्छ । सन् १९६१ डिसम्बरको दि युनेस्को कोरियर पत्रिकालाई अ सेन्टिनेरी टि्रब्युट टु रविन्ऽनाथ टेगोर भनेर समर्पित गरेको छ । जसमा यिनका व्यक्तित्वलाई दार्शनिक, शिक्षाविद्, उपन्यासकार, कवि र चित्रकार रूपमा वर्णन गरिएको छ भने कवि भानुभक्त पनि बहुप्रतिभाशाली कवि हुन्।

कवि टेगोरको शतवाषिर्कीमा युनेस्कोले टेगोरको गोरा उपन्यासको फेन्स अनुवाद प्रकाशित गरे । रामायण र महाभारतसम्बन्धी पनि युनेस्कोले सन् १९६८ को कोरियर दि ग्रेट एपिक अव् एसिया भनेर प्रकाशित गरिसकेको छ ।

नेपाली डायस्पोरामाझ भानुभक्त

डायस्पोरा नेपाली समुदायमा भानुभक्तको जन्मजयन्ती पालन गर्ने परम्परा रहेको थाहा पाइन्छ । सन् २००५ देखि नेपाली साहित्य परिषद, हङकङले कविको भानुभक्तको जयन्ती पालन गर्दै आएको देखिन्छ । रसियामा सन् २०१० मा विश्व नेपाली साहित्य महासंघको स्थापना भएपछि कविको जयन्ती पालन गर्ने परम्परा सुरु भएको छ ।

सन् २०१० मा कविको २०० औं जन्मजयन्तीमा भानुरचित फुटकर कविता ‘चपला अबला एक सुरमा’ रसियाली भाषामा वाचन गरेको थाहा लाग्छ । रसियाली कवयत्री ल्युदमिला साल्तिकोभाको विशेष सहयोगमा साहित्यकार कृष्णप्रकाश श्रेष्ठले कविका केही प्रमुख फुटकर कविता लगायत रामायणको बालकाण्डबाट केही श्लोकहरू उद्धृत गरी त्यस पुस्तकलाई लोक् को गरूँ हित शीर्षकमा रसियाली भाषामा अनुवाद गरेका छन् ।

भारतदेखि बाहिर अन्य देशहरूमा भानुजयन्ती आजको विश्व समाज नलेज सोसाइटी-का रूपमा चर्चित छ । आजको पिँढी ज्ञान समाजसित जोडिएको छ । यस समाजले ज्ञान उत्पादन गर्छ, एकाअर्कामा बाँड्छ अनि ज्ञानको संसाधन तयार गर्छ । ज्ञानको आदानप्रदान प्रक्रियामा कवि भानुलाई पनि अब ज्ञानको समाजसित जोड्ने प्रयासमा विश्वभरि बस्ने नेपाली समाजले निरन्तर कोशिश गर्दै आइरहेको देखिन्छ ।

यस सन्दर्भमा नेपाल तथा भारत अतिरिक्त विश्वका अन्य ठूला साना देशहरू जहाँ नेपालीहरू स्थायीरूपले बसोबासो गर्दै आएका छन्, त्यहाँ भानु आफ्नो सन्देश छर्न पुगेका छन् । यी देशका रैथानेहरूसित कवि भानु नेपाली भाषा साहित्यको माध्यमद्वारा विश्वमा विस्तारित भएको पाइन्छ । कवि भानु नपुगेको कुनै ठाउँ छैन । जहाँजहाँ नेपाली समाज विस्तारित भएको छ त्यहाँ भानु अनि यिनको रामायण पुगेको छ ।

भुटान, बङ्गलादेश, म्यानमार, थाइल्यान्ड आदिका नेपाली समाजलगायत चीन अनि कोरियामा पनि कवि भानुकृत रामायणको चर्चा पाइन्छ, भानुले नेपाली समाजलाई एकताको सूत्रमा बाँध्न महत् योगदान पुर्‍याएका छन् ।

कवि भानुले पनि रामायणद्वारा दिएको रामकथाको सन्देश आˆनो जाति तथा नेपाल राष्ट्रको निम्ति मात्र नभएर सारा विश्वको निम्ति हो । यस दृष्टिले आज कवि भानुभक्त नेपालीहरूको वैश्विक आवाज बनिसकेका छन्। यिनी आज विश्व साहित्यमा विश्व कवि भनेर चिनिन्छन् । यही सन्देश विश्वको नेपाली साहित्य समाजमा पुगेको छ।

नेपाली डायस्पोरा समाजको सन्दर्भमा चर्चा गर्दा बेलायतमा नेपाली डायस्पोरा समुदायमा बि्रटिस फोर्सेस गोर्खा रेडियोले समय समयमा भानुभक्तीय रामायणका श्लोकहरू प्रसारण गर्ने गर्छ । हङकङका नेपाली डायस्पोरा समुदायमा गठित नेपाली साहित्य परिषद्ले सन् २००५ यता भानु जयन्ती पालन गर्दै आएको छ ।

हिजोआज युरोपियन देशहरूमा जस्तै अमेरिकामा लाखौँ संख्यामा नेपालीहरू भेला भएर कवि भानुलाई उनको जन्मजयन्तीमा सम्झन्छन् । एनआरएनको सत्प्रयासमा यिनी विश्व स्तरमा पुगेका छन् । यिनको विश्वव्यापी आयामले आज नेपाली साहित्यमा यिनी विश्व कविका रूपमा चिनिन्छन् । नेपाली भाषा, साहित्य, कला, संस्कृतिलाई एक सूत्रमा बाँध्ने कवि यी भानु नै हुन् ।

वर्तमानमा अमेरिका, रसिया, अस्ट्रेलिया, जापान, हङकङ, इजरायल, ओमान, कोरिया, क्यानडा, जर्मनी, नेदरल्यान्डस, बेल्जियम, स्वीटजरल्यान्ड, नर्वे, बेलायत आदि विश्वका विभिन्न ठुल्ठुला राष्ट्रहरूमा वर्षौँदेखि रहँदै बस्दै आएका नेपाली डायस्पोरा समुदायमा भानु जयन्ती बढो भव्यतापूर्वक पालन गरेको पाइन्छ ।

भारतीय नेपाली समाजले प्राथमिक शिक्षा केन्ऽदेखि लिएर पुस्तकालय आदिसित कवि भानुको नाम आजीवन जोडिरहन पाऊँ भन्ने उद्देश्यले सन् १९४०-१९५० को दशकतिर दार्जीलिङमा स्थापित भएको पाठशालालाई भानुभक्त प्राथमिक पाठशाला नामले जानिन्छ ।

खर्साङको भानुपथ, दार्जीलिङ र कोलकाताका भानुभक्त सरणी, दार्जीलिङमा निर्मित भानु भवन छ भने उत्तर बङ्गल विश्वविद्यालय सिलगढीमा कवि भानुभक्त र विश्वकवि रवीन्ऽनाथ ठाकुरको संयुक्त नाममा भानु-रवीन्ऽ भवन निर्माण गरिएको छ । कविका नाममा भानुभक्त समिति, सिलगढी, भानुभक्त मञ्च, सन्त जोसेफ महाविद्यालय, दार्जीलिङ, भानुभक्त ग्रामीण पुस्तकालय प्फाबारी, खर्साङ, आदिको नामकरण भएको पाउँछौँ।

भारत अनि नेपाल लगायत विश्वका विभिन्न डायस्पोरा नेपाली समुदायले कवि भानुका नाममा पुरस्कारको घोषणा गरेको छ । भारतबाट पनि नेपाली साहित्यमा विशिष्ट योगदान दिनहुने साहित्यकारहरूलाई सम्मानित गर्न भानुभक्तको नाममा स्थापित भानु पुरस्कार भारतका विभिन्न राज्य लगायत अनेकौँ साहित्यिक सामाजिक संघ संस्थाहरूद्वारा प्रदान गरिँदै आएको छ ।

युनेस्को सूचीका लागि प्रयास

युनेस्कोले दार्जीलिङको हिमाली रेललाई विश्व धरोहरको सूचीमा अन्तर्भुक्त गरेको छ भने कवि भानुको सालिक निर्माणस्थल चौरस्तालाई पनि विश्व सम्पदाको रूपमा घोषणा गरेे । यसले भारतको पर्यटन उद्योगलाई पनि उन्नतशील बनाउनेछ ।

खर्साङ, कालेबुङ, सिलगढी, गान्तोक, गेजिङ बजार, सिङ्ताम, रिनाक, जोरथाङ, नाम्ली तुम्लाबुङ, पाकिम, नाम्ची, रम्फू, देहरादुन, भाग्सु, असम, शिलङ, मिजोराम आदि उत्तरपूर्वाञ्चल राज्यहरूमा कवि भानुभक्तको सालिग स्थापना भएको पाइन्छ ।

कवि र रामायणलाई विश्व सम्पदाका रूपमा स्थापित गर्ने हेतुले सिक्किमले सन् २०११ मा पश्चिम सिक्किमको गेजिङ क्योङसामा विश्वको सबैभन्दा बृहत् ज्ञण्ड फिट अग्लो कवि भानुको सालिग स्थापना गरेको छ । यो एउटा नेपाली अनुसन्धान केन्ऽ हो ।

विश्वका पर्यटकहरूको मुख्य आकर्षण रहेको सिक्किम हिमाली राज्यमा ८.२० करोड रूपैयाँको लागतमा निर्मित कविको उक्त सालिग अनि नेपाली अनुसन्धान केन्ऽको क्षेत्रफल ८६८५ इस्क्वार फिट रहेको छ । कवि भानुको आजसम्म यति अग्लो अनि विशाल सालिग विश्वको कुनै पनि ठाउँमा निर्माण भएको थाहा छैन । कविलाई यहाँ दर्शन गर्न वर्षमा हजारौँ लाखौँ पर्यटकहरू गेजिङ घुम्न आउँछन् । सोही रूपमा कविका भाषिक साहित्यिक योगदानको प्रसार सारा विश्वमा भइरहेको छ ।

हिन्दूस्तान टाइम्सको लखनऊ संस्करणको मुखपृष्ठमा ‘कम नोभम्बर, रामायाण टुरिज्म किक्स अफ’ शीर्षकमा छापिएको समाचारमा पत्रकार फैजान हल्दारले रामयाण टुरिज्मबारे यसरी जानकारी गराएका छ- रामायण हिन्दू महाकाव्य सम्बन्धित ठाउँहरूको यात्राको निम्ति भारतीय रेलवेले अयोध्यादेखि कोलोम्बो हुँदै रामेश्वरमसम्म पुग्ने एउटा विशेष पर्यटन रेलको योजना बनाउँदैछ ।

दिल्लीबाट आगामी १२ नोभम्बरदेखि यस सेवाले १६ दिनभित्र ती ठाउँहरूको यात्रा गराउनेछ । ८०० सिट भएको यस रेलका इच्छुक यात्रीहरूले श्रीलंकाको कोलोम्बोदेखि चेन्नईसम्म यात्रा गर्न सक्नेछन् । यस रेललाई श्री रामायण एक्प्रेस भनिनेछ । रामायण महाकाव्यका नायक रामको जन्मस्थल अयोध्यामा यो पहिलोपल्ट रोकिनेछ ।

यो समाचारबाट नेपाल सरकार अथवा सम्बन्धित निकायहरूले तनहुँबारे केही सकारात्मक योजना निश्चय बनाउन सक्नेछन् । तनहुँलाई विश्व धरोहर घोषणा गर्नका निम्ति नेपाल लगायत भारत, अमेरिका, जापान, बि्रटेन, क्यानाडा, अस्ट्रेलिया, इटली, वर्मा, श्रीलङ्का आदि राष्ट्रहरूले समर्थन गरे यस प्रक्रियालाई अघि बढाउनमा नेपाल सरकारलाई सहज हुनेछ ।

निष्कर्षमा नेपाली भाषा साहित्य र समाजमा कवि भानुभक्त विश्व सम्पदाका रूपमा स्थापित भइसकेका छन् । यिनको रामायण महान् साहित्यिक सम्पदालाई पनि राष्ट्रिय अनि अन्तरराष्ट्रिय संरक्षण प्रदान गर्न अनि यसलाई विश्व धरोहरका रूपमा स्थापित गर्न आधिकारिक रूपमा पहल हुनपर्छ । यसका निम्ति नेपाल सरकार अनि भारत सरकार दुवै देशले युनेस्कोसित पत्राचार गर्नुपर्नेछ ।

सन् २०१४ मा युनेस्कोले नेपालबाट विश्व धरोहरका सूचीमा अन्तर्भुक्त गरिएका लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज, काठमाडौँ उपत्यका, सगरमाथा राष्ट्रिय निकुञ्जलाई जस्तै ऐतिहासिक र वैश्विक मूल्यका दृष्टिले रामायणका कवि भानुभक्तको जन्मस्थललाई पनि सांस्कृतिक सम्पदाका सूचीमा सामेल गर्न सक्नेछ ।

यस प्रक्रियामा सरकारहरूलाई सहयोग गर्ने संस्थाहरूमा यी दुवै मुलुकका शीर्ष सरकारी संस्थाहरू अघि आउनुपर्ने हुन्छ । जस्तै- नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाली साहित्य अकादमी, भारत, अन्तरराष्ट्रिय स्तरमा गठित नेपाल गैरप्रवासीय संस्था, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, विश्व भुटानी साहित्य संगठन, विश्व नेपाली साहित्य महासंघ आदि निस्वार्थरूपले अघि आएर यसमा सहयोगको हात बढाउनुपर्छ । तब मात्र हामी व्यवहारिक अनि आधिकारिकरूपमा कवि भानुलाई विश्व सम्पदाका रूपमा स्थापना गर्न सफल हुनेछौँ ।

(सिक्किम विश्वविद्यालयबाट पीएचडी गरेकी भारतीय डा. कविता लामाले यसैसाता काठमाडौंमा आयोजित हिमवत खण्ड कला साहित्य सम्मिलनमा प्रस्तुत गरेको ‘भाषिक साहित्यिक विश्वसम्पदाका सन्दर्भमा भानुभक्त’ शीर्षकको कार्यपत्रबाट सम्पादित सारांश यहाँ प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment