Comments Add Comment

बेथितिका भागिदार जनता हुन् कि सरकार ?

नेपाली समाज अर्काको आलोचना गर्न र सुन्न रमाउने समाज हो । हरेक चोक,गल्ली, चिया पसल, रेस्टुराँ, भट्टी पसल, पँधेरो, सरकारी कार्यालय, मेलापात, अस्पताल, विद्यालयलगायत जहीँत्यहीँ अरुको कुरा काटेको सुन्न पाइन्छ । सबैभन्दा बढी सरकार र नेताको आलोचना गरिन्छ, कुरा काटिन्छ ।

सरकारले गरेको कमजोरीको संसदमा वा जनताको लेवलमा आलोचना त संसारभरिकै प्रचलन हो, तर यहाँ अचाक्ली नै हुने गरेको छ । आलोचना गर्नुभन्दा आत्माआलोचना गर्नु निक्कै कठिन छ । आज सबै नेता, कार्यकर्ता र जनताले आफूले परम्परागतरुपमा गर्दै आएको कमजोरीको आत्मानुभूति गरेपछि मात्रै सही ठाउँमा पुग्न सकिन्छ ।

नेपाली जनता, जसले देशको इतिहासको निर्माण गरेका छन्, नेता र नेतृत्वको निर्माण गरेका छन्, उनीहरुले पनि गम्भीर परम्परागत गल्ती दोहोर्‍याउँदै आएका छन् । अरुलाई चोरऔंला ठड्याउँदा आफूतिर तीन औंला फर्किएका हुन्छन् भनिन्छ । जनतातिर ठडिएका औंलाको चर्चा किन नगर्ने ?

यस विषयमा बुँदागत छलफल गरौं ।

१) हामी आश्वासनका आधारमा नेता र पार्टीलाई भोट हाल्छौं, आश्वासनलाई यथार्थतामा खोज्दैनौं । अर्को चुनावमा नयाँ नयाँ गुलिया आश्वासनका पछि-पछि दगुर्छौं । देशको नीतिगत र संरचनागत परिवर्तन गर्न योगदान गर्ने, सही राजनीतिक सिद्धान्तको पक्षपोषण गर्नेलाई भन्दा कालो धन खर्चिएर डन, गुण्डा अगाडि-पछाडि लगाएर हिँड्नेलाई नेता मान्छौं । वाह वाह गर्छौं ।

२) चुनाबमा बढी पैसा गर्न सक्ने उम्मेद्वारलाई राम्रो उम्मेद्वार ठान्छौं । पैसा खर्च गर्न नसक्नेले राजनीतिमा नआए हुन्छ भनेर निम्न बर्गबाट राजनीतिमा आएका वा आउन चाहनेलाई पटक-पटक निराश पार्छौं । सर्वहाराको राजनीतिमा सर्वहाराचाहिं पस्नै नपाउने, पसेका पनि बस्नै नपाउने परिस्थितिको टुलुटुलु हेरिहन्छौं !

३) एउटा सामान्य हैसियत भएको नेता शक्तिमा पुग्नेवित्तिकै करोडौं सम्पत्तिको मालिक भएको देख्दा उसको सम्पत्तिको श्रोत के हो भनेर खोजीनीति गर्दैनौं । बरु “मौकामा चौका हानेछ” भनेर उसैको तारिफ गर्छौं । आलोचनात्मक चेतलाई लुकाएर चाप्लुसी चेत प्रदर्शन गछौं ।

४) कम्तिमा पाँच बर्ष चल्ने स्थिर सरकार बनाउन भोट माग्छौं, भोट हाल्छौं । तर सरकार बनेको पाँच महिना पनि नपुग्दै सरकारको उछित्तो काड्न थाल्छौं । ताल परे विभिन्न बहानामा सरकारको विरोधमा सडकमा निस्कन्छौं । पाँच महिनाअघि महान मानिएको अमूक नेतालाई उसको कुनै ब्लण्डरविनै तारो हान्ने साधन बनाउँछौं ।

५) हामी बाग्मती नदी सफाई अभियान, हनुमन्ते सफाई अभियान, नगर सफाई अभियानलगायतका अभियानमा सरिक हुन्छौं, नेताहरुसँग सेल्फी खिच्छौं । तर, आफ्नो घरबाट निस्कने फोहोर सुटुक्क तिनै खोला वा राजमार्ग वा सार्वजनिक स्थानमा यत्रतत्र फालिदिन्छौं ।

६) हामी उही किसिमको निर्माण सामग्री प्रयोग गरेर आफ्नो घर पचास बर्ष टिक्ने बनाउँछौं । तर, आफू उपभोक्ता समितिको अध्यक्ष वा ठेकेदार भएर सरकारी बजेट खर्च गरेर आफ्नो घर अगाडिको सार्वजनिक बाटोचाँहि ५० दिन पनि नटिक्ने बनाउँछौं ।

७) हामी “सरकारले राम्रो नियम कानून बनाउन सकेन”भनेर खुब आलोचना गर्छौं । तर, बनेका नियम कानूनको पालना गर्नु परे हामी आफूलाई निम्छरो भएको महसुस गर्छौं । हामी मापदण्ड मिचेर घर बनाउछौं र नगरपालिकाको कुनै पदाधिकारीलाई घुस ख्वाएर नक्सा पास गराउन सके गौरवान्वित हुने र मापदण्ड विपरीत नक्सा पास नगर्ने पदाधिकारीलाई “चोर डाका”भन्दै सराप्छौं ।

८) हामी आफ्ना बालबच्चालाई महंगा निजी स्कुलमा पढाउँछौं र सरकारी स्कुलको व्यवस्थापन समितिमा पदाधिकारी वा सदस्यमा बस्न मरिहत्ते गर्छौं ।

९) हामी आफूलाई सर्वश्रेष्ठ ठान्दछौं । सरकार, संसदभन्दा ठूलो ठान्दछौं । “मेरो कुरा लागू भएन भने मरिदिन्छु” भनेर अड्डी कस्छौं, अनसन बस्छौं ।

१०) हामी कुनै सार्वजनिक वा सामाजिक काम गर्नु परेमा “यसबाट मलाई के कति फाइदा हुन्छ” बाट सोच्न थाल्छौं । सकेसम्म आफ्नो भाग पहिल्यै छुट्याएरमात्र काम शुरु गर्छौं ।

११) हामी ट्राफिक जाम भएको मन पराउदैनौं । आफू जाममा परे खुइ..य ,खुइ..य गर्छौं । तर, ट्राफिक नियम र सडक नियम उलङ्घन गरेर आफैं ट्राफिक जाम गराइरहेका हुन्छौं । आदि-आदि ।

कमजोरी नगर्ने असल नागरिक उल्लिखित “हामी” भित्र पर्दैनन् । यहाँ त केही आम मनोवृत्तिको मात्र चर्चा गरिएको हो । जनताको तहमा देखिने यस्ता कमजोरी नहटेसम्म समाजको अग्रगामी रुपान्तरण केवल प्राज्ञिक बहसमात्र हुनेछ ।

आर्थिक समृद्धिको नाराको विचल्नी हुनेछ । जनताको मनोवृत्तिमा परिवर्तन नआए जुनसुकै सिद्धान्त बोकेको, जतिसुकै स्थिर र प्रतिवद्ध सरकार आए पनि देशको मुहार तत्काल फेरिने कल्पना गर्न सकिँदैन । किनभने नेता जनताले बनाउने हो, गड्यौला बर्सेजस्तो नेता आकाशबाट बर्सने होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment