Comments Add Comment

छापामा आजः ३० हजार कर्मचारी हटाइँदै, डम्पिङसाइट जाम हुँदा थुप्रियो फोहोर


२ साउन, काठमाडौं । काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा भिन्न–भिन्न विषय परेका छन् । कुनैले सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलन घोषणा गरेकोलाई महत्त्वका साथ छापेका छन् भने केहीले राजदूत नियुक्ति, अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था र वार्ताको प्रगतिबारे खबर लेखेका छन् ।

अन्नपूर्ण पोस्ट दैनिकले आज सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सडक संघर्षमा उत्रिएको समाचार छापेको छ । ३० हजार अस्थायी र करारमा नियुक्त कर्मचारी हटाउने तयारी गरिएकोसँगै कमलपोखरीको २४ रोपनी जग्गा गायब भएको खबर पनि अन्नपूर्णमा छ ।

‘डम्पिङसाइटमा पनि जाम’ शीर्षक दिएर सिसडोलको सडक अवस्थाबारे मुख्य समाचार लेखेको नयाँ पत्रिका दैनिकले सरकारी वार्ता टोली र अनशनरत डा. गोविन्द केसी पक्षबीच दुई चरणमा वार्ता भए पनि सहमति नबनेकोलगायत समाचारलाई पहिलो पृष्ठमा ‘कभरेज’ गरेको छ ।

कान्तिपुर दैनिकले राजदूत सिफारिसबारे विज्ञले व्यक्त गरेको धारणालाई प्राथमिकताका साथ छापेको छ भने नागरिकमा वार्षिक ६८ करोडको इन्धन चोरी हुने समाचार छ ।

वार्षिक ६८ करोडको इन्धन चोरी

विगतका वर्षमा ढुवानीका क्रममा वार्षिक कम्तीमा ६८ करोड रुपैयाँबराबरको इन्धन चुहावट (चोरी) भएको तथ्य पुष्टि भएको नागरिक दैनिकले लेखेको छ ।

नेपाल आयल निगमले इन्धन ढुवानीमा सेक्युरिटी लकिङ सिस्टम प्रयोगमा ल्याउनुअघि वार्षिक ६८ करोड रुपैयाँबराबरको इन्धन चुहावट भएको पुष्टि भएको हो ।

विगतमा इन्धन ढुवानीका क्रममा ट्यांकर चालकले बीच बाटोमा तेल चोरी गरेका कारण पूरा परिमाण नआएको निगम र पम्प सञ्चालकले बताउँदै आएका थिए । निगमले ढुवानी क्रममा हुने तेल चोरी नियन्त्रण गर्न सबै ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि इन्धन चुहावट (चोरी) नियन्त्रण भएको नागरिकको समाचारमा उल्लेख छ ।

छट्पटाउँदै डा. केसी

सास फेर्न कठिन भएपछि अनशनरत डा. गोविन्द केसी अत्तालिन थालेका छन् । श्वासप्रश्वासमा समस्या हुन थालेपछि डा. केसी बेलाबेलामा अत्तालिने गरेको नागरिकमा खबर छ ।

आइतबार रातिदेखि देखिएको यो समस्या बढ्दै गएको छ । मंगलबार बिहान ४ बजेतिर डा. केसीलाई सास फेर्न गाह्रो भएको थियो । अक्सिजनको मात्रा बढाएपछि उनको अवस्था केही सामान्य बनेको थियो ।

समाचार अनुसार विगत १० दिनदेखि मुटुको चाल बढ्दो क्रममा छ । मुटुको चाल बढ्नु डा. केसीका लागि अर्को ठूलो खतरा रहेको चिकित्सकले बताएका छन् ।

३० हजार कर्मचारी हटाइँदै


सरकारी निकायमा कार्यरत ३० हजारभन्दा बढी कर्मचारीलाई सरकारले एकैपटक हटाउने तयारी गरेको छ ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार अस्थायी, करार र ज्यालादारीमा रहेका तल्लो तहका कर्मचारीलाई सरकारले एकैपटक हटाउने गृहकार्य शुरु गरेको हो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसहित विभिन्न मन्त्रालय, विभाग तथा आयोगमा कार्यरतलाई बिदा गर्न लागिएको समाचारमा उल्लेख छ ।

जागिरबाट हटुन्पर्ने भएपछि प्रभावित कर्मचारीहरु पुनर्बाहलीको माग गर्दै सरकारविरुद्ध आन्दोलित छन् ।

कमलपोखरीको २४ रोपनी जग्गा गायब

अन्नपूर्णमै साविक काठमाडौं १ स्थित कमलपोखरीको २४ रोपनी जग्गा गायब भएको अर्को खबर पनि छ ।

समाचार अनुसार, प्रहरी, सडकदेखि सर्वसाधारणले कमलपोखरी अतिक्रमण गरेका हुन् । ४८ रोपनीमा फैलिएको कमलपोखरीको क्षेत्रफल हाल आधा पनि छैन ।

२०३४ सालको नापीदेखि नै कमलपोखरी अतिक्रमणको चपेटामा पर्दै आएको छ । एउटै व्यक्तिले २० रोपनी जग्गा आफ्नो नाममा दर्ता गराएका छन् । कि.नं. ४०४ को २० रोपनी १० आना १ पैसा १ दाम मणिराज गुरुङको नाममा दर्ता भएको अन्नपूर्णको समाचारमा उल्लेख छ । उक्त जग्गाको विषयमा गुरुङ र कृषि कार्यालयबीच विवादसमेत भएको थियो ।

वर्षाले डम्पिङसाइट जाम

फोहोरको रासमाथि माटो छापेर बनाइएको सडक वर्षाको पानीले गलेपछि फोहोर सिसडोलमा खस्न सकेको छैन ।

राजधानीबाट फोहोर बोकेर गएको ट्रक फोहोर घोप्ट्याउन फोहोरको डंगुरमाथि छापिएको माटोमा गुड्नुपर्छ । तर वर्षाको पानीले माटो बगाएको र फोहोर पनि गलेकाले यातायात अवरुद्ध भएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

र, यो पनि– पक्की भवन भाडामा, विद्यार्थी टहरामा

 

 

भूकम्पले भत्काइदिएपछि टहरामा सरेका विद्यार्थीका लागि ९० लाखको भवन बन्यो । तर विद्यार्थी टहरामै छन् । किनकि व्यवस्थापन समिति र प्रधानाध्यापकले भवन भाडामा लगाएका छन् । सुविधासम्पन्न भवनमा मासिक १५ हजार तिरेर सानिमा बैंकले शाखा खोलेको विद्यार्थीले चुहिने टहरामै कक्षा लिइरहेका छन् ।

नयाँ पत्रिकाका अनुसार दोलखाको मेलुङ गाउँपालिका–४ स्थित भीम माध्यमिक विद्यालयको भवन हालै मात्र पुनर्निर्माण प्राधिकरणले ९० लाख खर्च गरेर बनाएको हो । दुई तल्ले पक्की भवन बनेपछि टहरामा पढ्दै आएका विद्यार्थी र अभिभावक खुसी भएका थिए । तर विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले भाडामा लगाइदिएका छन् ।

हेर्नुहोस्, आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment