Comments Add Comment

काठमाडौंको फोहोरबाट बिजुलीः हात्ती आयो फुस्सा !

महानगरपालिका भन्छ– लोडसेडिङ हट्नाले फोहाेरबाट बिजुली निस्केन !

२ साउन, काठमाडौं । आजभन्दा दुई वर्ष पहिले फोहोरबाट बिजुली निस्कने विषयले राम्रै चर्चा पाएको थियो । शुरु–शुरुमा धेरैले फोहोरबाट बिजुली निकाल्न सकिन्छ भन्ने कुरालाई विश्वासै गर्न सकेनन् ।

फोहोरबाट बिजुली निस्कन्छ भनेर सञ्चारमाध्यममा चर्चा शुरु हुँदै गर्दा धेरैले त्यसलाई ‘हावा समाचार’ को सज्ञा दिएका थिए । तर, त्यो यथार्थमा थियो, हावा होइन । सडेगलेका फोहोरबाट बिजुली निकाल्न सकिने नै थियो । जसअनुसार काठमाडौं महानगरपालिकाले फोहोरबाट बिजुली निकाल्ने घोषणा गर्‍याे ।

विशेष गरी ०७२ सालको महाभूकम्प र त्यसपछि भारतले लगाएको अघोषित नाकाबन्दीको पीडा भोगेका नेपालीलाई फोहोरबाटै विद्युत् उत्पादन हुने विषयले थोरै भए पनि मनशान्ति भएको थियो ।

नाकाबन्दीका समयमा इन्धन नपाएर एक लिटरको ५ सय रुपैयाँसम्म तिर्न बाध्य भएका जनताले इन्धनको विकल्प खोजिरहेका थिए । त्यहीबेला तत्कालीन प्रधानमन्त्री केपी ओलीले घरघरमा खाना पकाउने ग्यासको पाइप फिट गर्ने र स्वीच प्याट्ट पार्नासाथ चुल्होमा आगो बल्ने सपनासमेत सुनाएका थिए ।

स्वदेशमा इन्धन उत्पादन सम्भव नभए पनि फोहोरबाटै विद्युत् उत्पादन हुने र इन्धनको सट्टामा विद्युत् प्रयोग गर्न पाउने आशाले नेपाली जनताको मुहारमा खुसी ल्याएको थियो । दैनिकरुपमा सडकैभरि देखिने फोहोरले विद्युत् उतपादन गर्छ भनेपछि खुसी नहुने कुरा पनि भएन । नभन्दै फोहोरबाट विजुली निकाल्न काठमाडौं महानगरलाई युरोपेली युनियनले आर्थिक सहयोग गर्ने घोषणा गर्‍याे र सहयोग पनि गर्‍याे ।

काठमाडौंबाट निस्कने फोहोरबाट बिजुली उत्पादन गर्न एकीकृत दिगो फोहोरमैला व्यवस्थापन प्रवद्र्धन परियोजनाअन्तर्गत महानगरपालिकाले प्रक्रिया अघि बढाएको थियो ।

उक्त परियोजनामा युरोपेली संघ (ईयू) को ८० प्रतिशत र महानगरको २० प्रतिशत लगानी गर्ने गरी सम्झौता भयो । परियोजनाको लागत करिब दुई करोड रुपैयाँ हुने महानगरको त्यसबेलाको अनुमान थियो ।

हात्ती आयो हात्ती आयो फुस्स !

युरोपेली युनियनले आर्थिक सहयोग नै गर्ने भएपछि महानगरलाई फोहोरबाट बिजुली उत्पादन गर्न असहज थिएन । तर, जनताको अपेक्षा भने आजसम्म पनि पूरा हुन भने सकेको छैन ।

फोहोरबाट आफ्नै देशमा बिजुली उत्पादन हुदाँ बाहिरी मुलुकको विद्युत् र इन्धनको भर पूर्णरुपमा नपर्नु पर्ने भन्दै खुसी देखिएका सर्वसाधारणका लागि अन्ततः फोहोरबाट बिजुली भन्ने कुरा ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ भन्ने उखान चरितार्थ बनेको छ ।

महानगरले विद्युत् उत्पादन गर्न कसरत भने गरेकै हो । महानगरले टेकुस्थित फोहोरमैला जम्मा गर्ने स्थानबाट बिजुली निकाल्न ‘डाइजेस्ट प्लान्ट’ स्थापना गरिएको थियो ।

महानगरले विद्युत् उत्पादन गर्ने मेसिन १ करोड ८६ लाख रुपैयाँमा भारतबाट खरिद गरेर ल्याएको थियो ।

भारतबाट ल्याएको मेसिनको त्यसबेला सफल परीक्षणसमेत गरिएको महानगर वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवर बताउँछन् ।

‘शुरुमा दैनिक १४ किलोवाट बिजुली उत्पादन गर्ने लक्ष्य थियो’ विभागीय प्रमुख कुँवरले भने– ‘उत्पादित बिजुली महानगरपालिकाको कार्यालय प्रयोजन र स्थानीय बासिन्दालाई दिने तयारी स्वरुप परीक्षणसमेत गरिएको हो ।’

लोडसेडिङ हटेपछि योजना चौपट

महानगरका विभागीय प्रमुख कुँवरले सफल परीक्षण भएको जवाफ दिएपछि विद्युत् उत्पादनचाहिँ किन भएन त ? अनलाइनखबरको प्रश्नमा उनी भन्छन् ‘लोडसेडिङ भइरहँदा अलि बढी आवश्यकता थियो, लोडसेडिङ अन्त्य भएपछि यसको आवश्यकता पनि घट्दै गयो ।’

त्यतिबेला नमूना परियोजनाका रुपमा सञ्चालन गरिएको र परियोजना सफल भएमा अन्य स्थानमा समेत सञ्चालन गरिने महानगरको योजना थियो ।

पर्याप्त जैविक फोहोरको अभावका कारण पनि दैनिक मेसिनले विद्युत् उत्पादन गर्न नसकेको प्रमुख कुँवरले बताए । उनले भने ‘विद्युत् उत्पादनका लागि कुहिने फोहोरको मात्रै आवश्यक पथ्र्यो, आवश्यकता अनुसारको कुहिने फोहोर नआएपछि मेसिन प्रयोगविहीन भयो ।’

विभागीय प्रमुख कुँवरले मेसिन थन्काएर राख्ने योजना महानगरको नभएको बताए । मेसिनलाई केही समयपछि पुनः प्रयोगमा ल्याएर विद्युत् उत्पादन गर्ने महानगरको योजना रहेको उनले सुनाए ।

काठमाडौं महानगरमा दैनिक ५ सय टन फोहोरमैला उत्पादन हुने गरेको छ । महानगरले दैनिक ३ सय टन फोहोरमैला विद्युत् उत्पादनका लागि प्रयोग गर्न सकिने बताएको थियो ।

महंगो मेसिन बिग्रिएर थन्कियो

दैनिक १४ किलोवाट विद्युत् उत्पादन गरिने भनिएको मेसिन यतिबेला बिग्रिएर थन्किएको छ । झण्डै २ वर्ष पहिले फोहोरको प्रयोगबाट विद्युत् उत्पादन गर्नका लागि ल्याइएको मेसिन प्रयोगमा नआएपछि बिग्रिएर थन्किएको हो ।

मेसिनका केही पार्टपूर्जाहरु बिग्रिएको र चाँडै त्यसको मर्मत हुने विभागीय प्रमुख कुँवरको भनाइ छ । बिग्रिएका पार्टहरु नेपालमा नपाइने भएकाले भारतबाट मगाउने महानगरको तयारी रहेको उनले बताए ।

महानगर वातावरण विभाग, टेकुमा रहेको मेसिनका भित्री पार्टपूर्जाहरु बिग्रिएका भए पनि बाहिरी स्वरुप भने सकुशल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment