Comments Add Comment

भारतीय पर्यटक भन्छन्ः सूर्य अस्त, नेपाल मस्त

सडक सुरक्षा र चेकिङले दिक्दार

 

२ साउन, पोखरा ।  भारतमा एउटा आहान रहेछ-‘सूर्य अस्त, नेपाल मस्त’ । अर्थात जब सूर्य अस्ताउँछ अनि नेपालमा मस्ती सुरु हुन्छ ।

उनीहरुको आहानको मूख्य आसय भनेको नेपालमा आएपछि सेक्समा रमाउन पाइन्छ । तर, हाल नेपालमा धरपकडका घटना हुन थालेपछि उनीहरु नेपाल भन्दा थाइल्याण्डतर्फ आकषिर्त भएको देखिएको छ ।

भारतीय पर्यटकले कोठा खोज्दा सेक्सबारे टुंगो नलागेसम्म होटल बुक नगर्ने पोखरेली एक पर्यटन व्यवसायीले आफ्नो अनुभव सुनाए ।

भारतीय पर्यटक कोठा खोज्दै आए भने शुरुमा क्या क्या हे भन्दै प्रश्न गर्ने र होटलको विशेषता भनेर भ्याइसक्दा पनि उक्त प्रश्न भने दोहोर्‍याइ राख्ने बताए । उनले भने, ‘शुरुमा होटलमा सुविधा क्या क्या हे भनेर सोध्छन्, अनि होटलको विशेष भन्दै गर्दा और क्या हे भन्छन्, अनि थप विशेष भनेर भ्याइसक्दा पनि और क्या हे भन्ने प्रश्न दोहोर्‍याइ राख्छन्, र अन्तिममा लड्की नहि मिल्ताए ? भनेर प्रश्न गर्ने र नँही मिल्ता हे भनेपछि दुस्रामा देखेङ्गे भन्दै अर्को होटलतर्फ जान्छन् ।’

भारतीय पर्यटक मस्तीका लागि घुम्न आउने गरेको पाइएको छ । खास गरेर प्राकृतिक छटा, हिमाल, ताल वा संस्कृति भन्दा पनि सेक्स उनीहरुको पहिलो प्राथमिकतामा पर्छ । त्यसैले नेपालमा धरपकड हुन थालेपछि उनीहरु थाइल्याण्ड जानेगरेको स्वयम् भारतीयहरुले बताए ।

त्यस्तै नेपालमा होटलहरु महंगो भएको भारतीयको टिप्पणी छ । भारतीय एक पर्यटन व्यवसायीले नेपालका होटल महंगो हुँदा भारतीयहरु थाइल्याण्ड जानेगरेको बताए । उनले भने,’नेपालका होटलहरुको रेट थाइल्याण्डका होटलहरुको बराबर छ, यसो भइरहृयो भने त नेपाल भन्दा थाइल्याण्ड नै जान्छन् भारतीय पर्यटक ।’ नेपाल भन्दा थाइल्याण्ड रोजाईमा पर्छ भन्नुपनि सेक्ससँग जोडिने प्रष्टै देखिन्छ ।

सडक सुरक्षा र चेकिङले दिक्दार

यस्तै भारतीयहरुले नेपालको सडक सुरक्षा र दिक्दारलाग्दो चेकिङप्रति चासो व्यक्त गरेका छन् ।

उनीहरुले नेपाल आउँदा सडकका कारण दुःख झेल्नुपरेको तथा पटकपटकको दिक्दार लाग्दो चेकिङका कारण समस्या भोग्नुपरेको भन्दै त्यसप्रति चासो व्यक्त गरेका हुन् ।

नेपाल पर्यटन बोर्डको सहयोगमा पश्चिमाञ्चल होटल संघले पर्यटन प्रवर्द्धनका लागि सञ्चालन गरेको ‘चलिए पोखरा’ अभियान लिएर भारतको पटना, बनारस र लखनउ पुग्दा भारतीय जनप्रतिनिधि, भारतीय पर्यटक, पर्यटन व्यवसायी तथा त्यहाँका पत्रकारहरुले नेपालमा सडक सुरक्षा पहिलो चासो भएको बताए ।

सडक जीर्ण अवस्थामा रहेका कारण नेपाल घुम्न जाँदा भारतीय पर्यटकले सास्ती भोग्नुपरेको उनीहरुको गुनासो छ । एक त सडक जीर्ण छ, त्यसमाथि बाढी र पहिरोका कारण कतिखेर कहाँ बाटो अबरुद्ध हुन्छ अनिश्चित हुँदा नेपाल आउन धेरैपटक सोंच्नुपर्ने उनीहरुको प्रष्टोक्ति छ ।

खासमा उनीहरुले मुग्लिन-नारायणगढ सडक खण्डको समस्या बारम्बार दोहोर्‍याए । सो सडक खण्डको बाटो बिस्तार गरेर सबै ठाउँमा कालोपत्रे भइसकेको बारे उनीहरु बेखबर थिए । साथै सो सडक खण्डमा आउने पहिरोले पर्यटक अलपत्र र बिचल्ली बनाउने गरेको भन्दै भारतीय पर्यटक भित्राउने हो भने पहिले सडक सुरक्षा चुस्तदुरुस्त राख्न सुझावसमेत दिए ।

तर, नेपाली प्रतिनिधिले मुग्लिन-नारायणगढ सडक खण्डको बाटो बिस्तार भएर पूर्ण रुपमा सञ्चालनमा आइसकेको बताइरहँदा उनीहरु त्यसबारे आफूहरु बेखबर रहेको बताए । त्यस्तै, बेलाबेला हुने बन्द हड्ताल र चक्काजामका कारण सडक अबरुद्ध हुँदा पनि पर्यटकले सास्ती भोग्नुपरेको भन्दै उनीहरुले ति समस्या समाधान गर्नपनि सुझाए ।

भारतीयले दोश्रो चासो भारतीय पर्यटकमाथि हुने पटकपटकको चेकिङमा देखाएका छन् । उनीहरुले भारतीय पर्यटक भन्ने वित्तिकै नेपाल प्रहरीले बारम्बार चेकिङ गरेर दुःख दिनेगरेको गुनासो गरे ।

नेपाली सीमा क्षेत्रबाट शुरु हुने यो क्रम नफर्केसम्म चल्ने उनीहरुको आरोप छ । साथै उनीहरुले ठाउँठाउँमा लगाइने सडक करप्रति पनि चासो व्यक्त गरेका छन् । एक क्षेत्रबाट अर्को क्षेत्र प्रवेश गर्ने वित्तिकै कर तिर्नुपर्ने झञ्झट आफूहरुको लागि सकस भएको उनीहरुको भनाइ छ ।

उनीहरुले सीमा क्षेत्रमा एक पटक कर तिरेपछि भारत नफर्केसम्म स्वतन्त्र रुपमा घुम्न, डुल्न पाउने व्यवस्था मिलाउन सुझाएका छन् । बरु त्यो एक पटक तिर्ने कर केहि बढी भएपनि फरक नपर्ने उनीहरुको धारणा छ । यसले पर्यटकलाई राहत मिल्ने र नेपाल घुम्न आउन बल प्रदान गर्ने उनीहरुको जिकिर छ ।

भारतीयको तेश्रो चासो भनेको भारतीय गाडीमै चढेर नेपाल घुम्न पाउनुपर्ने छ । भारतीय पर्यटक गाडीमा बोर्डर आएपछि फेरी गाडी फेर्ने समस्याका कारण पनि नेपाल घुम्न आउन मन नलाग्ने उनीहरुको भनाइ छ ।

गाडी खोज्ने समस्या झञ्झटिलो हुने भन्दै उनीहरुले आफूले लिएर आएको गाडीमै नेपाल घुम्न पाउने हो भने भारतीय पर्यटकको संख्या हृवात्तै बढ्ने उनीहरुको दाबी छ ।

भारतीयलाई नेपालमा निर्वाध रुपमा आफ्नै गाडीमा घुम्न दिएजस्तै नेपाली पर्यटकलाईसमेत भारतमा नेपाली गाडीमै चढेर घुम्न मिल्ने ब्यबस्था गरेर भएपनि यो समस्या समाधान गर्नुपर्ने उनीहरुको सुझाव छ । यसले दुवै देशमा पर्यटक आगमनमा बृद्धि ल्याउने उनीहरुको बुझाई छ । यसका लागि नेपाल र भारत दुवै तर्फका अधिकारीहरुबीच उच्चस्तरमा छलफल गरेर टुंगोमा पुग्नुपर्नेमा उनीहरुको जोड छ ।

नेपालमा अझैपनि २०७२ सालको भुकम्पको परकम्प गइरहेको भारतीयको बुझाई रहेको पनि यस भ्रमणले देखाएको छ ।

भारतीय पत्रकारहरुले नेपालमा अझै भुकम्प गइरहेको छ ? भनेर प्रश्नसमेत गरेका थिए । साथै भुकम्प पछिको पुर्ननिर्माण र मानिसहरुको बसाईबारे पनि उनीहरुले चासो व्यक्त गरेका थिए ।

भूकम्पको परकम्प करीब करीब सकिएको र नेपाल सुरक्षित छ भन्ने सन्देश नपुगेको उनीहरुको यो भनाईबाट सहजै अनुमान गर्न सकिन्छ ।

भारतीयले सिधा हवाई सेवालाई पनि चासोका साथ उठाएका छन् । उनीहरुले भारतीय पर्यटक काठमाडौं आउन चाहे काठमाडौं, जनकपुर, लुम्विनी वा पोखरा आउन चाहे सिधै हवाई जहाजमार्फत आउनसक्ने बनाउनका लागि सिधा हवाई सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

चलिए पोखरा अभियानका क्रममा भएको भेटघाटमा बोल्दै उत्तर प्रदेशका परिवहन मन्त्री स्वतन्त्रदेव सिंहले हवाई सेवा सञ्चालन अनिवार्य भइसकेको बताउँदै यसका लागि माथिल्लो लेवलमा कुरा गर्ने बताएका थिए । उनले दुई देशका अधिकारी बसेर यो समस्याको समाधान गर्नुपर्ने बताए ।

निश्कर्षः 

भारतीय नेपाल भारतको सम्बन्ध रोटी बेटीको सम्बन्ध भएको र यो ऐतिहासिक, सांस्कृतिक, धार्मिकलगायत सबै हिसाबले महत्वपूर्ण भएको बताउँछन् । तर, पर्यटनमा यसले आंशिक मात्र काम गर्छ । अब उनीहरुलाई आकर्षित गर्ने हो भने उनीहरुको चासो सम्बोधन गर्नुपर्छ ।

नेपालमा भारतीय पर्यटक आकर्षित गर्ने हो भने पहिले सडक सुरक्षा चुस्तदुरुस्त बनाउनुपर्ने देखिएको छ ।

सन् २०२० सम्ममा वार्षिक २० लाख पर्यटक भित्राउने सरकारको योजना सफल बनाउने हो भने यो चासोको सम्बोधन गर्न जरुरी छ । किनकी उनीहरुको प्रमुख चासोको विषय नै यहि हो ।

सञ्चालनमा रहेका सडकहरु चुस्त दुरुस्त राख्नुका साथै नयाँ सडकहरु बिस्तार गर्नुपर्ने आवश्यक्ता देखिएको हो ।

चलिए पोखराको नेतृत्व गरेका नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख सूर्य थपलिया भारतीयको चासो स्वाभाविक भएको बताउँदै यसको समाधानका लागि सरकारी तहबाटै कदम चाल्नुपर्ने बताउँछन् । उनी भन्छन्,’मुग्लिन-नारायणगढ सडक खण्डको बिस्तारसँगै केहि हदसम्म सडक समस्या समाधान भएको छ, तर यसले मात्रै पुग्दैन, थप सडक निर्माण र भएका सडक चुस्तदुरुस्त राखिराख्न पहल गर्नुपर्छ ।’

त्यस्तै, पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले पनि सडक सुरक्षा प्रमुख विषय भएकाले यसको समाधान गर्न सके पर्यटक बढ्ने बताए । साथै हालै बिस्तार गरिएका सडक र यहाँका सेवाबारे अन्र्तराष्ट्रिय रुपमा प्रचारप्रसार गरेर जानकारी गराउन आवश्यक रहेको उनले औंल्याए ।

सडक बिस्तार गर्नु त राज्यको दायित्व नै हो तर सँगसँगै निर्माण गरिएका सडक र यहाँको परिस्थितिका बारेमा पनि अन्र्तराष्ट्रिय समुदायलाई जानकारी गराउनुपनि सरकारको दायित्व भित्रै पर्छ ।

तर, मुग्लिन-नारायणगढ सडक खण्ड बनिसकेर सञ्चालनमा आएको एक महिना बितिसकेपनि छिमेकी देश भारतमा नै जानकारी नहुनु दुःखद हो । यसले समग्र पर्यटन व्यवसायमा असर परेको छ । किनकी अन्र्तराष्ट्रिय समुदायलाई जानकारी भएमात्रै नेपालमा पर्यटक आउने हो ।

त्यस्तै, भारतीयले राखेको दोश्रो चासोको रुपमा रहेको बारम्बारको दिग्दारलाग्दो चेकिङ र सवारी करको समस्या पनि समाधान गर्न जरुरी छ । तर, यो एकतर्फी मात्र होइन दोहोरो हुनुपर्छ ।

मतलव नेपालमा भारतीय पर्यटकले एक पटक सवारी कर तिरेपछि नफर्केसम्म तिर्नुनपर्ने बनाउनुपर्छ भने उनीहरुलाई बारम्बार चेकिङ गरेर दुःख दिने सकसको पनि अन्त्य हुनुपर्छ ।

सँगसँगै भारतमा पनि नेपालबाट गएका पर्यटकहरुलाई एक पटक कर तिरेपछि निस्पिmक्री घुम्न दिनुपर्छ भने बारम्बार हुने चेकिङ पनि हटाउनुपर्छ । यसका लागि सरकारी तहबाटै कदम चाल्न जरुरी देखिएको छ ।

सडककै कारण वा त्यस्ता झिनामसिना कारणले पर्यटकको गन्तव्य बदलियो भने त्यो नेपालको लागि दुर्भाग्य हुने पोखरा पर्यटन परिषदका उपाध्यक्ष भरतराज पराजुलीले बताए ।

सडकलाई प्राथमिकता दिएर सडकको गुणस्तर सुधार्न नेपाल सरकार लाग्नुपर्ने तथा रक्सौल नाकालाई प्राथमिकतामा राखेर ब्यबस्थित रुपमा सञ्चालन गर्न सकेपनि पर्यटक आगमनमा बृद्धि ल्याउन सकिने उनको भनाई छ ।

पश्चिमाञ्चल होटल संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकले सँधै निश्चित र सुरक्षित यात्रा चाहने बताउँदै सन २०२० को पर्यटन लक्ष्य भेट्टाउने हो भने आजैदेखी पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए ।

उनले सन २०२० को लक्ष्य भेट्टाउन अन्य देशभन्दा भारतीय पर्यटकको भूमिका महत्वपूर्ण हुने भन्दै ति पर्यटक ल्याउन उनीहरुले देखाएको सडक सुरक्षालगायतका सबै चासोको समाधान गर्न जरुरी रहेको औंल्याए ।

त्यस्तै, भारतबाट नेपाल र नेपालबाट भारतका विभिन्न प्रमुख सहरहरुमा सिधा हवाइ सेवा सञ्चालनका लागि पहल गर्नुपर्ने देखिएको छ । नत्र पोखरा आउनुपर्ने पर्यटक काठमाडौं पुगेर वा जनपुर जाने पर्यटक नेपालगञ्ज हुँदै गन्तव्यमा पुग्छन् भन्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment