Comments Add Comment

अग्रिम आयकरले तरकारी, फलफूल र माछामासु महंगियो


२ साउन, काठमाडौं । सरकारले  नयाँ आर्थिक वर्षबाट भन्सार विन्दुमै ५ प्रतिशत अग्रिम आयकर लिन थालेपछि भारतसहित तेस्रो मुलुकबाट भित्रिने तरकारी, फलफूल र माछामासु महंगिन  थालेको छ । केही दिनभित्रै आयात हुने कृषिवस्तुको  बजार मूल्य उच्च हुने दावी ब्यापारीहरुले गरेका छन् ।

साउन १ पछि भन्सार छुटेका धेरै कृषि वस्तु बजारसम्म आइसकेको छैनन् । ती वस्तु बजारमा आउनासाथ एकसाथ धेरै प्रकारका तरकारी तथा फलफूलको मूल्य ह्वात्तै बढ्ने अवस्था देखिएको हो ।

साउन १ गतेदेखि लागू भएको व्यवस्थाअनुसार तरकारी, फलफूल र खसीबोका, राँगा, माछा भित्र्याउँदा आयातकर्ताले ५ प्रतिशत अग्रिम आयकर तिर्नुपर्छ ।

यसअघि यस्तो आयकर ब्यापारीहरुले कारोबारका आधारमा किस्ता-किस्ता तिर्दै आएका थिए । तर, व्यापारीहरुले ठूलो मात्रामा वस्तु आयात गर्ने र त्यसअनुसार आयकर नबुझाएको भन्दै बजेटमार्फत अग्रिम आयकर लागू गर्ने घोषणा गरेको छ ।

अब आयातकर्ताले विलविजकमा देखिने कारोबार ५ प्रतिशत अग्रिम आय कर भन्सारमै बुझाउनुपर्छ । कुनै कारणले आयात गरिएको बस्तुमा घाटा भए व्यापारीले त्यसको दावीसहित आय कर मिलान गर्न पाउने व्यवस्था गरिएको छ ।

तर, यसको मारमा उपभोक्ता परेका छन् । सरकारले भन्सारमै अग्रिम अायकर लिन थालेपछि व्यापारीहरुले तरकारी, फलफूल र मासुको मूल्य बढाउन थालेका छन् ।

कालिमाटी तरकारी बजारको मूल्यलाई हेर्ने हो भेन भारतबाट आएको आलु झण्डै १० प्रतिशत महंगिएको छ ।

‘दुई दिनमा आलु महंगिएर आयो । अब प्याज पनि महंगिन्छ । भारतबाट आउने बेमौसमी तरकारीहरु सबै पहिलेभन्दा महंगो हुन्छ,’ एक ब्यापारीले भने, ‘अग्रिम आयकर भन्सारमै तिर्नुपरेपछि आयातकर्ताहरुले लागत बढ्यो भन्न थालेका छन् ।’

किसानलाइ फाइदा!

उनका अनुसार साउन १ देखि भन्सार छुटेका तरकारी तथा फलफूल काठमाडौं आइपुग्दैछन् । अबको केही दिनमा आयातित तरकारी तथा फलफूलको मूल्य आयातकर्ताको चलखेलका कारण महंगिने ब्यापारीहरु नै बताउँछन् ।

तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खुमप्रसाद घिमिरेले पनि अग्रिम आयकरले मूल्यमा असर पार्ने स्वीकार गरे । भन्छन्, ‘आयातकर्ताले लागतमा आयकर तिरेको पैसा पनि जोडेर मूल्य तय गर्ने संकेत देखाइसकेका छन् ।’

यद्यपि भन्सार विन्दुमै ५ प्रतिशत अग्रिम आयकर लिँदा नेपाली किसानलाई राहत मिल्ने उनको तर्क छ । ‘यसले कम गुणस्तरका तरकारी, फलफूल ल्याएर बेच्ने क्रम घट्छ । हाम्रा किसानले उत्पादन गरेका तरकारी तथा फलफूलले भारतको उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्दैन’ घिमिरेले भने, ‘तर भारतसहित अन्य मुलकुबाट आउने तरकारी तथा फलफूलको मूल्य भने अब बढ्छ ।’

उनकाअनुसार प्याज, लसुन, कागती, आलु लगायतका तरकारी भारतबाट नेपालमा धेरै आयात हुन्छ ।

अफ सिजनमा भिन्डी, पर्बल, सुकेको खुर्सानी लगायतका उत्पादन पनि नेपालमा धेरै आउँछन् । फलफुलमा त नेपाल झण्डै-झण्डै निर्भर भइसकेकाले विदशेबाट आउने सबैजसो फलफूलमा मूल्य बढ्ने ब्यापारीहरु बताउँछन् ।

सरकारको तर्क

भन्सार विभागका महानिर्देशक तोयम रोय भने अग्रिम आयकरले तरकारीको मूल्यमा कुनै असर नपर्ने बताउँछन् । ‘यसले बजार मूल्यमा कुनै प्रभाव पर्नु हुँदैन । ब्यापारीले यसअघि पनि आयकर तिर्दै आएका छन् । यो नयाँ र थप कर होइन’ उनले भने, ‘अग्रिम करलाई आयत लागतमा जोडेर नाफा लिन मिल्दैन ।’

तर, सरकारले प्रभावकारी अनुगमन नगरे भारतसहित तेस्रो मुलुकबाट आयात गरिने फलफूल, तरकारी र माछामासुको मूल्य बढ्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment