Comments Add Comment

बालश्रमिक नभएको घरमा हरियो झण्डा

२ साउन, डोटी । दिपायल सिलगढी नगरपालिकाले बालश्रमिक नभएको घरमा हरियो झण्डा राख्ने भएको छ ।

नगरपालिकालाई बालश्रममुक्त नगरपालिका बनाउने अभियान अन्तरगत बालश्रमिक नभएको घरमा हरियो झण्डा गाड्ने तयारी भइरहेको नगर प्रमुख मञ्जु मलासीले जानकारी दिइन । ‘हामीले धेरै गफ मात्रै गर्‍यौं, अव गफ होइन काम गर्नुपर्छ,’ प्रमुख मलासीले भनिन्, ‘हामी नगरपालिकाभरी अनुगमन गर्छौं, जुन जुन घरमा बालश्रमिक छैन त्यो घरमा हरियो झण्डा गाड्दै जान्छौं र उनीहरुलाई धन्यवाद पनि दिन्छौं ।’

उनले बालश्रमिक भएको परिवारले नगरपालिकाबाट प्राप्त गर्ने सेवा सुबिधामा रोक लगाइने समेतको कार्यक्रम ल्याइने बताइन । ‘नगरपालिकाको कर्मचारीहरुका घरमा पनि बालश्रमिक छन भन्ने खबर आएको छ,’ मलासीले भनिन्, ‘यदी त्यसो भएको छ भने त्यस्ता कर्मचारीहरुलाई कानुन बमोजिम कारवाही हुन्छ ।’

उनले व्यापारीहरुले सर्वसाधारणलाई दिएको ऋणको व्याज स्वरुप उनीहरुका छोराछोरीलाई श्रममा लगाउने गरेको आरोप लगाइन् ।

डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल सामाजिक कार्यकर्ता र सरकारी कर्मचारीहरुको घरमा समेत बालश्रमिक छन भन्ने कुरा सुन्दा आफुलाई लाज लागेर आएको वताउँछन । ‘बालश्रमिक राख्ने सरकारी कर्मचारीलाई प्रहरीले समात्नु पर्‍यो भने कम्ती वेइज्जत होला Û’ उनी यदी त्यस्तो भयो भने बालश्रमिक राख्ने कर्मचारीको त थाह भएन तर म भने धेरै लज्जित भएको महसुस गर्नेछु ।’

उनले नैतिकता भएन भने कानुनको पनि कुनै अर्थ नहुने बताउँदै कम्तीमा सरकारी कर्मचारी र सामाजिक कार्यकर्ताहरु नैतिकवान बनिदिनु पर्ने वताए ।

अर्काको घरमा काम गरेर दिउसो बिद्यालय पढ्न आउने बालबालिकाहरुसंग कापी कलमसमेत नियमित नहुने गरेको बताउँछन् बालमन्दिर आधारभूत बिद्यालयका प्रधानाध्यापक बिजयराज श्रेष्ठ । ‘केही बालबालिका त नियमित रुपमा बिद्यालय आउँछन्,’ प्रधानाध्यापक श्रेष्ठले भने, ‘अधिकांश बालबालिकाहरु नियमित बिद्यालय पनि आउँदैनन्, आएपनि कक्षाकोठामै सुत्ने, बिचमै छोडेर जाने गर्छन ।’

अधिकांश बालबालिकाहरु बुवाको लापरबाहीका कारण श्रमिक हुन बाध्य भएको दिपायल सिलगढी नगरपालिका वडा नं. ९ का अध्यक्ष धर्मसिंह साउँद बताउँछन् । ‘दिनदिनै रक्सी खाएर घरमा तनाव दिईरहेका हुन्छन्, त्यस्तो अवस्थामा कसरी बालबालिकाहरु पढ्न सक्छन् ?’ साउँद भन्छन्, ‘त्यो भन्दा त अर्काको घरमा काम गरेर भएपनि पढ्ने आशमा बालबालिकाहरु शहरतिर आउने गर्छन ।’

उनले आफ्नो वडाका कति बालबालिकाहरु श्रमिक भएका छन् भन्ने बिषयमा आफुले सर्वेक्षण गरिरहेको बताए ।

बालबालिकाहरुलाई काममा लगाउनु हुँदैन भनेर मालिकहरुलाई सम्झाउन खोज्दा उल्टो धम्काउने गरेको बताउँछन् सामाजिक परामर्शकर्ता देवकी बोहरा । उनी भन्छिन्, ‘बालबालिकाहरुलाई पनि सिकाएर कुनै नसुन्ने वनाएका छन्, आफु पनि त्यस्तै जवाफ दिन्छन् ।’

बालश्रमिक नराख्न आग्रह गर्दा उल्टो तपाईले जिम्मा लिनु पर्छ यो वालवालिकाको भविश्यको भन्ने गरेको उनको अनुभव छ ।

बालश्रमिकको बिषयमा समाचार लेख्ने सञ्चारकर्मीहरुलाईसमेत मालिकहरुले गाली गर्ने गरेको दिपायल सिलगढी नगरकार्यपालिकाकी सदस्य दिपा श्रेष्ठ बताउँछिन् । उनले थपिन् ‘यी पत्रकारहरुले लिनु पर्छ यि बच्चाहरुको भविश्यको जिम्मा भनेर गाली गरेको पनि सुनिएको छ ।’

दिपायल सिलगढी नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशी बालश्रमिक नभएको घरमा गाड्नका लागि हरियो झण्डा तयार भईसकेको वताउँछन् । ‘नगरपालिकाभित्र करीव एक सय बालश्रमिकहरु छन भन्ने अनुमान छ,’ जोशीले भने, ‘बालश्रमिक भएको घरमा रातो झण्डा लगाउनु पर्छ भन्ने मेयर सावको प्रस्ताव छ, यसमाथी छलफल हुँदैछ ।’

उनले पढाई दिने वहानामा गाउँबाट बालबालिकाहरु ल्याउने र बिहान पाँच बजेदेखि राती ११ वजेसम्म काम गरेको गरेको बताए । उनले थपे, ‘वडा नं. ५ र ६ मा मात्रै करिब ३० घरेलु बालश्रमिकहरु रहेका छन् ।’

घरेलु बालश्रमिक राख्ने सरकारी कर्मचारीहरु र सामाजिक कार्यकर्ताहरुलाई सम्वन्धित निकायले कारवाही गर्नु पर्ने जोशीको भनाइ छ ।

बालमैत्री स्थानीय शासन लागू गर्नका लागि बालश्रमले समस्या गरेको नगर उपप्रमुख एवं अनुगमन तथा सुपरीवेक्षण समितिका संयोजक शिवराज खड्का वताउँछन् । उनी भन्छन् ‘होटेल र यातायातका साधनहरुमा काम गर्ने बालबालिकाहरु बढी जोखिममा रहेका पाइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment