Comments Add Comment

लौ हेर्नुस् ३५ लाखमा बनेको पुल !

२ साउन, काठमाडाैं । म्याग्दीको धवलागिरी गाउँपालिका जोड्न फेदिस्थित दाङखोलामा बेलिब्रिजको निर्माण गरिएको छ । लक्ष्यभन्दा ३ महिना ढिला गरी निर्माण सकिएको यो अस्थायी प्रकतिको यो पुलमा ३५ लाख रुपैयाँ खर्च भएको छ ।

ठूलो रकम खर्चिएको पुलमा सल्लाको काठको प्रयोग गरिएपछि समाजिक सञ्जालमा त्यसको ब्यापक आलोचना भएको छ । आलोचना भएपछि उपभोक्ता समितिले पुल बनाउँदा भएको खर्चको विवरण नै सार्वजनिक गरेको छ ।

समितिका अध्यक्ष भीमप्रसाद छन्त्याल र सचिव निलप्रकाश थापा (सरोज)ले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर आयोजनाबारे स्पष्टीकरण दिएका छन् । विज्ञप्तिमा पुल पारदर्शी ढंगले, तोकिएको मापदण्ड र गुणस्तर अनुसारको बनाइएको दावी गरिएको छ । यो पुल बनाउन गाउँपालिकाको ३३ लाख २८ हजार रुपैयाँ खर्च भएको छ भने दुई लाख ८४ हजार ७८ रुपैया बराबरको जन श्रमदान पनि छ ।

अध्यक्ष छन्त्यालले ४ लाख ९७ हजार रुपैयाँ आफ्नै खल्तीबाट समेत खर्च भएको दावी गरे । ‘श्रमदानबापत कसैले काम गर्न आएनन्, त्यसैले मेरो खर्च भयो । डोजर खर्च, लेबर खर्च, पानी तान्ने पमपको पनि गाउँपालिकाले दिएन,’ उनले अनलाइनखबरसँग भने, आफ्नो ठाउँको पुल हो भनेर इस्टमेटभन्दा बढ खिर्च गरेँ । अहिले मलाई भ्रष्टाचार गरेको भनेर आरोप लगाइादैछ । यो सरकासर झुट हो ।’

पुल बनाउन गाउँपालिकाले २४ लाख ९६ हजार रुपैयाँ बजेट दिएको थियो । तर, बजेट नपुगेपछि समान खरिद गरेर नै पुल बनाउन थप लगानी गाउापालिकाबाटै भएको थियो ।

पुलमा प्रयोग भएका आठमध्ये तीनवटा फलामको बिम दरवाङबाट पुरानो लगिएको र पाँच वटा बिम गाउँपालिकाले खरिद, ढुवानी गरेर उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख छ । बिम खरिद, ढुवानी, फिटिङ, जडान, फेब्रिकेशन र रंग लगाउने गर्ने काममा गाउँपालिकाबाट सात लाख २८ हजार रुपैया खर्च भएको गरिएको समितिले जनाएको छ ।

गाउँपालिकाको यो खर्चसहित पुल बनाउन ३५ लाख आठ हजार रुपैयाँ लागेको विज्ञप्तिमार्फत स्पष्ट गरिएको छ । पुलमा पाँच मिटर २० सेन्टिमिटर अग्लो तीनवटा पक्की पिल्लर राखिएको छ । पुलमा आठ वटा फलामे बिम राखिएका छन् । फलामका बिम माथि सल्लाका काठ बिछ्याइएको छ ।

दायाँ बायाँको पिल्लरको चौडाई चार मिटर र बिचको पिल्लरको चौडाई तिन मिटर ७० सेन्टिमिटर रहेको विज्ञप्तिमा उल्लेख छ । पुलको लम्बाई १८ मिटर र चौडाई ३.५ मिटर हो ।

‘इस्टिमेट र सम्झौतामा नभएपनि जगको खाडलबाट पानी पम्पिङ गरेर फाल्ने र दरवाङबाट तीन वटा फलामको बिम ढुवानी गरेर निर्माण स्थलमा पुर्‍याइएको छ’ विज्ञप्तिमा भनिएको छ । यसअघि २०७४ सालमा सोही स्थानमा पुल बनाउँदै गर्दा आएको बाढीले संरचना बगाएर क्षति पुर्‍याएको थियो ।

यो पुल धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनसहित मालिका गाउँपालिकाका उपाध्यक्षले गत असार २९ गते उद्घाटन गरेका हुन् । धवलागिरी गाउँपालिकाले यो पुललाई स्थानीय गौरबको आयोजननाको रुपमा लिएको थियो ।  उपभोक्ता समिति अध्यक्ष छन्त्याल गाउँपालिकाकै गाडी चलाउने चालक हुन् ।

यो पुल जडान भएपछि धवलागिरी गाउँपालिकाको धारापानी, ताकम, मुना, मुदी, लुलाङ, गुर्जा र ढोरपाटन क्षेत्रका बासिन्दालाई सुबिधा पुगेको बताइएको छ । तर, पुलको विश्वसनीयतामाथि भने प्रश्न उठिरहेको छ ।

तस्वीरः म्याग्दि अनलाइन/सामाजिक सञ्जाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment