Comments Add Comment

गुगलमाथि इतिहासकै उच्च जरिवाना, एकाधिकारको अभियोगमा साढे ५ खर्ब तिर्नुपर्ने

सूचना प्रविधि कम्पनी गुगलमाथि ५ खर्ब रुपैयाँ भन्दा धेरै जरिवाना तिर्नुपर्ने भएको छ । मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइडमाथि ४ अर्ब ३४ करोड युरो जरिवाना भएको हो ।

इन्टरनेट सर्चमा आफ्नो प्रभुत्व कायम गर्नका लागि अवैधानिक रुपमा प्रयोग भएको अभियोगमा युरोपेली आयोगले गुगलमाथि यति ठूलो रकम जरिवाना गरेको हो ।

आफ्नो यस्तो नाफाखोरी व्यवसायिक गतिविधि परिवर्तन गर्न वा आफ्नो दैनिक विश्वव्यापी आयको ५ प्रतिशत थप जरिवानाको सामना गर्न युरोपेली आयोगले गुगलको मातृ कम्पनी अल्फाबेटलाई ९० दिनको समयसीमा दिएको छ ।

उता गुगलले भने आयोगको उक्त निर्णयको पुनरावेदन गर्ने जनाएको छ ।

तर जरिवाना रकम तिर्न चाहनेहो भनेपनि गुगलसँग पर्याप्त रकम नभएको होइन । मार्च महिनाको अन्त्यसम्ममा गुगलसँग१ सय ३ खर्ब रुपैयाँ बराबरको नगद मौज्दात रहेको छ ।

युरोपेली आयोगको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा आयोगकी प्रतिस्पर्धा आयुक्त मार्गे्रथ वेस्टागेरले उपभोक्ताहरुलाई छनोटको अधिकार हुनुपर्ने बताइन् ।

आयोगको आदेशपछि उत्पादकहरुलाई एन्ड्रोइड अपरेटिंग सिस्टमको फरक संस्करण प्रयोग भएका स्मार्ट डिभाइसहरु बेच्न मार्ग प्रसस्त हुने विश्वास उनको छ । यसले बजारको अवस्थानै परिवर्तन हुनेछ ।

युरोपेली आयोगको आदेश लगत्तै गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाईले एक ब्लग लेखेका छन् । जसमा उनले भनेका छन्, ‘तिव्र गतिको आविष्कार, विस्तृत छनोट र घट्दो मूल्य नै प्रतिस्पर्धाका विशिष्ट मानक हुन् र एन्ड्रोइडकै कारण यी सबै सम्भव भएको छ । आजको आदेशले एन्ड्रोइड सपोर्ट गर्ने बिजनेस मोडेल अस्विकार गरेको छ जसले धेरै विकल्प प्रदान गरेको थियो ।’

यसअघि आयोगले गुगलमाथि तुलनात्मक सपिङ सर्भिस सम्बन्धी एक छुट्टै मुद्दामा २ अर्ब ४० करोड युरो जरिवाना गरेको थियो ।

आयुक्त वेस्टेगरको टोली गुगलविरुद्धको अर्को अनुसन्धानमा पनि जुटेको छ जसमा गुगलको विज्ञापन प्लेसिङ्ग बिजनेस ‘एडसेन्स’ शंकाको घेरामा छ ।

गुगलमाथि चार अर्ब ३० करोड युरो जरिवाना गरिएको पछिल्लो मुद्दाका सन्दर्भमा आयुक्त वेस्टेगरले तिनवटा कारण प्रस्तुत गरेकी छिन्, जसमाः

· गुगलले एन्ड्रोइड स्मार्टफोन तथा ट्याब्लेट निर्मातालाई आफ्ना स्मार्ट डिभाइसमा गुगल प्ले एपस्टोरमाथिको पहुँचका लागि गुगल सर्च एप तथा क्रोम ब्राउजर प्रिइन्स्टल गर्न बाध्य पारेको ।

· ठूलो परिमाणमा स्मार्टफोन तथा ट्याब्लेट उत्पादन गर्ने कम्पनीहरुलाई डिभाइसमा गुगल सर्च एप प्रिइन्स्टल गरेबापत पैसा खुवाउने गरेको ।

· स्मार्टफोन उत्पादकहरुलाई वैकल्पिक भर्सनको एन्ड्रोइड प्रयोग गरिएका स्मार्टफोन उत्पादन गर्नमा रोक लगाएको र त्यसो गर्नेलाई आफ्ना एप प्रिइन्स्टल गर्न नदिने चेतावनी दिएको ।

यद्यपि गुगलले एन्ड्रोइड डिभाइसहरुमा अन्य वेब ब्राउजर तथा सर्च एप डाउनलोड गर्न रोक लगाएको छैन । तर केवल १ प्रतिशत एन्ड्रोइड प्रयोगकर्ताले मात्र गुगल बाहेकको अन्य सर्च एप डाउनलोड गरेका छन् । त्यस्तै एन्ड्रोइड डिभाइसमा क्रोम बाहेकको वेब ब्राउजर प्रयोग गर्ने केवल १० प्रतिशत मात्र छन् ।

मोबाइल इन्टरनेटको प्रयोग तिव्र गतिमा बढिरहेको बेला गुगलले प्रयोगकर्ताको बढ्दो संख्याको दुरुपयोग गरी नाफा कमाइरहेको आरोप युरोपेली आयोगको छ । यसअघि गुगलको विज्ञापनमैत्री सर्च सर्भिसले डेस्कटप कम्प्युटर प्रयोगकर्तालाई पनि यस्तै नाफाका लागि प्रयोग गरेको थियो ।

सन् २०११ यता गुगलले युरोपमा इन्टरनेट सर्चसँग सम्बन्धित एन्ड्रोइडबाट गरेको रकमकै आधारमा पछिल्लो जरिवाना गरिएको आयुक्तको भनाई छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment