Comments Add Comment

२० अर्ब पूँजीको इन्फ्रास्ट्रक्चर बैंक सञ्चालनको तयारी, सीईओका लागि दौडधुप शुरु

हेड अफिस कृष्ण टावरमा, कर्मचारी नियुक्तिको प्रक्रिया शुरु

३ साउन, काठमाडौं । नेपालको इतिहासमै पहिलोपटक धेरै पूँजी भएको इन्फ्रास्ट्रक्चर बैंक सञ्चालनको तयारीमा रहेको छ । २० अर्ब रुपैयाँ चुक्ता पूँजी तोकिएको इन्फ्रास्ट्रक्चर बैंक सञ्चालनका लागि सञ्चालक समितिले गृहकार्य तीव्र बनाएको छ ।

जेठ पहिलो साता नेपाल राष्ट्र बैंकबाट सञ्चालनका लागि सैद्धान्तिक सहमति पाइसकेको यस बैंकले सञ्चालनका लागि आवश्यक पर्ने पूँजी, कर्मचारी नियुक्ति तथा भौतिक पूर्वाधारको व्यवस्था गर्न जुटेको छ ।

यस बैंकमा नेपाल सरकारको १० प्रतिशत लगानी रहने छ । साथै विभिन्न बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, निजी क्षेत्र तथा सर्वसाधारणको समेत बैंकमा लगानी रहनेछ ।

के काम गर्छ यस बैंकले ?

सैद्धान्तिक सहमति पाइसकेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पूर्वाधार विकासका क्षेत्रमा लगानी गर्नेछ । बैंकको मुख्य उद्देश्य देशको पूर्वाधार विकाससम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह गर्ने तथा परियोजना सञ्चालन गर्ने रहेको छ ।

यसैगरी विभिन्न कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पूर्वाधार विकाससम्बन्धी परियोजना सञ्चालनका लागि प्रतीतपत्र खोल्ने तथा जमानत पत्रहरु जारी गर्नेछ ।

राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधार विकाससम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनका लागि विभिन्न प्रकारका स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दीर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गर्ने, डिवेञ्चर जारी गरी स्रोत परिचालन गर्ने तथा लिजिङ कारोबार लगायतका काम समेत बैंकले गर्ने बताइएको छ ।

भौतिक पूर्वाधार र रकम जम्मा भएपछि लाइसेन्स : राष्ट्र बैंक

बैंक सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार तथा पूँजी जम्मा भइसकेपछि सञ्चालन अनुमति पत्र (अन्तिम स्वीकृति) प्रदान गरिने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले बताए ।

पौडेलका अनुसार बैंकले सञ्चालन अनुमतिका लागि सैद्धान्तिक सहमति पाएको ६ महिनाभित्र आवश्यक पुँजी जम्मा गरिसक्नुपर्नेछ भने भौतिक पूर्वाधारहरु समेत तयार गर्नुपर्नेछ । बैंकले यसअघि नै ४५ प्रतिशत पूँजी जम्मा गरिसकेको छ ।

बैंकले गत जेठ पहिलो साता राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएको थियो । यस अनुसार मंसिर पहिलो सातासम्म बैंकले सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार पारिसक्नु पर्नेछ ।

तोकिएको समयभित्रै बैंकले आवश्यक सबै पूर्वाधार तयार पारिसक्ने गरी गृहकार्य तीव्ररुपमा गरिरहेको छ ।

हेड अफिस कृष्ण टावरमा, कर्मचारी नियुक्तिको प्रक्रिया शुरु

बैंक सञ्चालनका लागि आन्तरिक गृहकार्य तीव्ररुपमा भइरहेको इमर्जिङ नेपालका प्रमुख कार्यकारी अधिकृत डा. विनोद आत्रेयले जानकारी दिए । इजर्मिङ नेपाल बैंकको लगार्नीकता कम्पनी रहेको छ ।

आत्रेयले भने, ‘हामीलाई पहिलो कुरा कार्यालय व्यवस्थापन गर्नुपर्ने थियो, सोहीअनुसार कृष्ण टावरमा प्रधान कार्यालय फिक्स गरिसकेका छौं ।’

बैंकका कर्मचारीहरुको नियुक्ति प्रक्रियासमेत शुरु भइसकेको डा. आत्रेयले जानकारी दिए । कर्मचारी नियुक्तिका लागि आवेदन खुला गरिसकेको जानकारी दिँदै उनले तत्काल ४० जनाभन्दा बढी कर्मचारीहरु नियुक्ति गरिने बताए ।

बैंकले डेपुटी सीईओदेखि असिस्टेन्टसम्मका पदमा कर्मचारी माग गर्दै बुधबार नै सूचना सार्वजनिक गरिसकेको छ । बैंकमा जागिर खान इच्छुक तथा योग्य व्यक्तिले साउन १६ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ ।

को बन्ला सीईओ !

बुधबारमात्रै विभिन्न तहका कर्मचारीहरु नियुक्तिका लागि विज्ञापन गरेको बैंकले प्रमुख कर्मचारी अर्थात प्रमुख कार्यकारी अधिकृतको खोजी भने करिब ३ महिना अघिदेखि नै गरिरहेको छ ।

यसअघि बैंकको सीईओ बन्ने तरखरमा नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कार्यकारी निर्देशक एवं इमर्जिङ नेपालका सीईओ आत्रेय नै हुने चर्चा थियो ।

बैंक सञ्चालक समितिले समेत आत्रेयलाई सीईओ बनाउन चाहेको भए पनि कानूनी बाध्यताका कारण अर्कै सीईओ नियुक्त गर्नुपर्नेछ ।

राष्ट्र बैंकबाट अवकाश भएको ३ वर्षसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी पदमा बस्न नपाउने राष्ट्र बैंक ऐनमा व्यवस्था छ । सोही व्यवस्थाका कारण बैंकले अर्को सीईओ खोजिरहेको छ ।

बैंकको सीईओका लागि तीन जना विदेशी नागरिकसहित आधा दर्जन बढी आकांक्षी देखिएको बैंक स्रोत बताउँछ । स्रोतका अनुसार सीईओका लागि नविल बैंकका पूर्व सीईओ सशीन जोशी, लगानी बोर्डका पूर्वसीईओ राधेश पन्तसहित अन्य बैंकरहरुले चासो देखाएका छन् ।

‘सीईओ बन्न नेपाली ४ जना बैंकरहरुले अलि बढी चासो देखाउनुभएको छ’ बैंकका एक सञ्चालकको भनाइ उधृत गर्दै श्रोतले भन्यो, ‘नेपाली बैंकरहरुको सीईओ बन्ने दौडधुप अलि बढी देखिए पनि भारतीयलाई नियुक्ति गर्ने कि भन्ने विषयमा प्रारम्भिक छलफल भएको छ ।’

बैंकको सञ्चालक समिति अध्यक्षमा भने डा. विमल कोइराला रहेका छन् । कोइराला नेपाल सरकारका अवकाशप्राप्त मुख्यसचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment