Comments Add Comment

शंकराचार्य गेटलाई आकर्षक बनाउँदै वीरगञ्ज महानगरपालिका

३ साउन, वीरगञ्ज । वीरगञ्ज देशकै आर्थिक नगरी मात्रै नभएर मुख्य प्रवेशद्वार पनि हो । मितेरी पुल कटेपछि वीरगञ्ज आउनुअघि मुख्य सडकमा शंकराचार्य गेट छ ।

वीरगञ्जको पहिचान बोकेको स्वागतद्वारको रुपमा शंकराचार्य गेटलाई हेरिन्छ । तर, संरक्षण राम्रोसँग हुन नसक्दा गेटमा घाँस उमि्रएको थियो । सडक जीर्ण भएकोले सडकमा सवारी गुड्दा उड्ने धुलोले शंकराचार्य गेट कुरुप हुने गरेको छ ।

यही कुरालाई मध्यनजर गरेर शंकराचार्य गेटको संरक्षणसँगै त्यसलाई आकर्षक बनाउन महानगरपालिकाले अभियान थालेको छ ।

महानगरपालिका कार्यालयले शंकाराचार्य गेटलाई आकर्षक बनाउने र गेटको तल पार्क बनाउने तयारी गरेको हो । त्यसका लागि समर्पण सेवा संस्थाले सहयोग गर्ने आश्वासन दिएको महानगरपालिकाले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका वातावरण तथा सरसफाइ शाखा प्रमुख राजकृष्ण ताम्राकार शंकराचार्यले गेट र आसपासको क्षेत्रलाई आकर्षक बनाउन काम शुरु गरिएको बताए ।

‘पहिलो चरणमा घाँस निकालिएको छ । धुलो सफा गरेका छौं, वीचको भागलाई बन्द गर्ने र वगैचा बनाउने लक्ष्य छ ।’ उनले भने ‘अब केही दिनमा शंकराचार्य गेट साँच्चै स्वागतद्वार बन्छ ।’

शंकराचार्य गेटको तलबाट सवारी आवागमन बन्द गरेर बीचमा बगैचा बनाउने तयारी महानगरपालिकाले गरेको छ ।

सँगसँगै आवश्यकता अनुसार रंगरोगन गर्ने, स्वागतद्वार झल्कने कुराहरु लेखेर आकर्षक बनाइने महानगरपालिका कार्यालयले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भुषालले शंकरचार्य गेटलाई साच्चैको मुख्य प्रवेशद्वार बनाउने बताए ।

‘गेट वे भनिएको छ । मुख्य प्रवेशद्वारको वरपर फोहोर फालिएको छ, शंकराचार्य गेटमा घाँस उम्रिराखेको रहेछ । तलको बगैचा पनि भत्किराखेको छ । यसले पनि कति वेथितिबाट गुज्रिरहेको छौं भनेर प्रष्ट हुन्छ,’ उनले भने, ‘गेट वे भन्नका लागि स्वागतद्वार पनि त्यस्तै किसिमको हुनुपर्छ । शंकराचार्य गेटलाई साच्चैको स्वागत द्वारको रुपमा विकास गर्ने योजना हाम्रो छ । भारतबाट आउने पर्यटकलाई आउने विदेशी नागरिकलाई नेपालले साँच्चै स्वागत गर्‍यो भन्ने अनुभूति हुनेगरि बनाउँछौं ।’

शंकराचार्य गेट वरपर महानगरपालिकाले नै फाहोरमैला फाल्ने गरेका कारण दुर्गन्धित छ । सडक जीर्ण अवस्थामा छ । अब महानगरपालिकाले फोहोर फाल्न बन्द गरेर शहरी सौन्दर्यकरण हुने रुख विरुवा लगाउने प्रशासकीय अधिकृत भुषालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment