Comments Add Comment

रामबजार हत्याकाण्डबारे आफन्त भन्छन् : प्रहरीले जाहेरीसमेत लिन मानेन

३ साउन, पोखरा । पोखरा महानगरपालिका १० रामबजार कालिकामार्गमा गत जेठ २९ गते राति भएको हत्याकाण्डको आरोपी रामजी घलेका आफन्तले प्रहरीले एकपक्षीय रुपमा अनुसन्धान गरेको आरोप लगाएका छन् ।

घलेका आफन्तले घले निवासमा विहीबार पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएका हुन् । उनीहरुले घलेकी श्रीमती सुमित्रा ठकुरी घलेकी दिदीकी छोरा बेलबहादुर ठकुरीले घटना गराएको आरोप लगाउँदै यसबारे प्रहरीले किटानी जाहेरी पनि लिन नमानेको गुनासो गरेका छन् ।

यसअघि जेठ २९ गते राती छुरा प्रहार हुँदा छोरा ज्ञापन घलेको मृत्यू भएको थियो भने रामजी घले र उनकी श्रीमती सुमित्रा घले घाँटी रेटिएको अवस्थामा फेला परेका थिए ।

साथै सुमित्राको पेटमा भएको ९ महिने शिशुको पनि गर्भावस्थामै मृत्यू भएको थियो । घटनालगत्तै प्रहरीले रामजी घलेले छोराको हत्या गर्नुका साथै श्रीमतीको हत्या प्रयास गरेर आफूले आत्महत्या प्रयास गरेको जानकारी दिएको थियो ।

तर घलेका आफन्तले घटना रामजीले नभई सुमित्राको दिदीको छोरा बेलबहादुर ठकुरीले गरेको आरोप लगाएका हुन् । उनीहरुले रामजी निर्दोष रहेको जिकिर गर्दै घाइते सुमित्रा, उनकी आमा धनमाया ठकुरी र सुमित्राकी दिदीकी छोरा बेलबहादुर ठकुरीलाई समेत अनुसन्धानमा तानेर घट्नाको निश्पक्ष छानबिन गर्न माग गरे ।

पत्रकार भेटघाटमा बोल्दै आरोपी रामजीका दाजू नारायण घलेले आफ्नो भाई निर्दोष रहेको दाबी गरे । उनले भने,’मेरो भाई निर्दोष छ, कुखुराको चल्लासमेत नमार्ने मेरो भाइले कसरी मार्छ आफ्नै छोरा ? यो हुनै सक्दैन, मेरो भाइले हत्या गरेकै होइन ।’

दाजू नारायणले घट्नामा जोडिएका सबैलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान गर्न माग गरे । आफूहरुको किटानी जाहेरी लिनसमेत प्रहरीले नमानेको भन्दै उनले भने, ‘मैले किटानी जाहेरी दिन खोजेको हुँ तर प्रहरीले लिन मानेन, मेरो निर्दोष भाइलाई हिरासतमा राखेको ३८ दिन भइसक्दा पनि घट्नाको सत्यतथ्य किन बाहिर ल्याउँदैन ? यसमा हाम्रो आशंका छ ।’

तर प्रहरीले भने असार ९ गते नै स्वयम् रामजी घलेले किटानी जाहेरी दिइसकेकाले आफन्तको जाहेरी नलिएको बताएको छ ।

प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको भन्दै यसबारे थप बोल्न नमिल्ने बताएको छ । कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) रवीन्द्रमान गुरुङले भने, ‘अनुसन्धानबारे धेरै कुरा भन्न मिल्दैन ।’

आरोपी रामजी अझै कास्की प्रहरीको हिरासतमा छन् भने उनकी श्रीमती पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घर फर्किएर आफन्तको घरमा बस्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment