Comments Add Comment

२०१९ देखि गौतमबुद्ध विमानस्थलमा अन्तरराष्ट्रिय उडान !

चिनियाँ ठेकेदार सक्रिय, ५० प्रतिशत काम सकियो


४ साउन, बुटवल । एक वर्षअघि नै पूरा गर्ने लक्ष्यसहित काम शुरु भएको राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम बल्ल ५० प्रतिशत पूरा भएको छ ।

सन् २०१५ जनवरीमा शुरु भएको आयोजना निर्माण सुरु भएको दुई वर्षमा अर्थात् सन् २०१७ मै पूरा गर्ने लक्ष्य राखिएको थियो । सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित चिनियाँ ठेकेदारमार्फत २०१५ मा विमानस्थल निर्माण कार्य सुरु भएको थियो ।

कहिले कुन बहानामा त कहिले कुन बहानामा विमानस्थल निर्माणमा अवरोध र ढिलासुस्ती हुँदै आयो । मधेस आन्दोलन, निर्माण सामाग्रीको अभाव, मुख्य तथा सहायक ठेकेदार कम्पनीबीच आर्थिक लेनदेन विवाद र मुआब्जा विवादका कारण विमानस्थल निर्माण कार्य निर्धारित समयभन्दा दुई वर्ष पछाडि धकेलिएको हो ।

विमानस्थल निर्माणमा लगानी गरेको एशियाली विकास बैंकले २ महिना अघि चिनियाँ ठेकेदार कम्पनीले निर्माणमा सन्तोषजनक काम नगरेकाले अनुदान र ऋण रोक्ने चेतावनीपत्र नागरिक उड्ययन प्राधिकरणलाई पठाएको थियो । जनवरीयता उसले ऋण र अनुदानसमेत बन्द गरेको थियो । तर, पछि विवाद समाधान भई काम सन्तोषजनकरुपमा अगाडि बढेपछि एडीबीले ऋण लगानीलाई निरन्तरता दिएको छ ।

विमानस्थल आयोजना प्रमुख इन्जिनियर ओम शर्माका अनुसार पछिल्लो समय सबै पक्ष सहज भएसँगै निर्माण कार्यले गति लिएको छ । सन् २०१९ जुन सम्ममा विमानस्थल निर्माणको काम सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई तिव्रता दिइएको शर्माले बताए ।

‘अहिलेसम्म ५० प्रतिशत काम पूरा भएको छ’, शर्माले भने–‘विमानस्थलको अप्ठ्यारा मध्येका कामहरु धमाधम सम्पन्न हुने अवस्थामा छन्, अब सन् २०१९ को जूनसम्म विमानस्थल स्तरोन्नतिको सबै काम पूरा हुन्छन् ।’

सन् २०१७ मै बनिसक्नुपर्ने विमानस्थलमा २०१९ सेप्टेम्बर २७ तारिखका दिन विश्व पर्यटन दिवसदेखि पहिलो अन्तराष्ट्रिय उडान भर्ने आयोजना प्रमुख इन्जिनियर ओम शर्मा बताउँछन्

सन् २०१९ सेप्टेम्बर २७ तारिखका दिन विश्व पर्यटन दिवसको अवसरमा विमानस्थलबाट पहिलो अन्तराष्ट्रिय उडान भर्ने गरी छलफल चलिरहेको शर्माले अनलाइनखबरलाई बताए ।

आयोजना प्रमुख शर्माका अनुसार निर्माणाधीन कामहरुमध्ये पार्किङ एरियाको ७० प्रतिशत काम सम्पन्न भएको छ भने बाँकी रहेको ३० प्रतिशत काम एक महिनाभित्र पूरा हुनेछ ।

त्यसै गरी आगामी १५ दिनभित्र धावनमार्गको काम सम्पन्न भइसक्ने र त्यसपछि पिचको काम सुरु हुने शर्मा बताउँछन् ।

विमानस्थलको जिम्मा लिएको चिनिया ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले अहिले काममा तिव्रता दिएकाले अब निर्धारित समयमै काम पूरा हुने विश्वास बढेको शर्माको भनाइ छ ।

अहिले प्रशासकीय भवन, कन्ट्रोल टावर, धावनमार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । कूल ६ अर्ब २२ करोड रुपैयाँ लागतको यो विमानस्थलमा एडिबीको ५४ करोड रुपैयाँ अनुदान रहेको छ । बाँकी चार अर्ब २० करोड रुपैयाँ ऋण सहयोग हो । विमानस्थल निर्माणमा हालसम्म २ अर्ब ६ करोड खर्च भएको आयोजनाले जनाएको छ ।

विमानस्थल निर्माण पूरा भएर अन्तराष्ट्रिय उडान शुरु भएपछि यो विमानस्थलमा दैनिक १५ हजारदेखि २५ हजारसम्म आन्तरिक तथा वाह्य यात्रु/पर्यटक अवतरण हुने अनुमान गरिएको छ ।

विमानस्थल निर्माणले तीब्रता पाएसँगै रुपन्देहीमा स्वदेशी–विदेशी यात्रुलाई लक्षित गरी होटल/रेष्टुराँ लगायतका व्यवसाय सञ्चालनको तयारीमा व्यवसायीहरु लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment