Comments Add Comment

मोडेल र नर्स बन्छु भन्ने समीक्षालाई कसले जिउँदै जलायो ?

शंकाको सुई परिवारतिरै सोझियोः प्रहरी


४ साउन, बुटवल । रुपन्देहीको रुद्रपुर त्यही ठाउँ हो, जहाँकी चेली टेरिया फौजामगरले भारतको चर्चित डान्स रियालिटी शो डीआईडी लिटिल मास्टरमा भाग लिएर लाखौं भारतीयलाई पछाडि पार्दै उपाधि जितेर रुद्रपुरलाई संसारमै चिनाइन् । तर, तिनै चर्चित नृत्यंगना टेरियाकै गाउँमा गत असार ९ गते आङै सिरिङ्ग हुने घटना भयो ।

भविश्यमा मोडेल र नर्स बन्ने सपना बुनेकी १६ वर्षीया किशोरी समीक्षा ठकुरीमाथि शंकास्पद तरिकाले आगलागी भयो । घाँटीभन्दा तल जलेर गम्भीर घाइते भएकी समीक्षाको असार २० गते उपचारका क्रममा काठमाडौंमा मृत्यु भयो ।

परिवारका सदस्यविरुद्ध किटानी जाहेरी

समीक्षालाई मार्ने उद्देश्यले घरमा सुतेको अवस्थामा मट्टीतेल छर्केर आगो लगाइदिएको दावीसहित परिवारकै सदस्यहरुविरुद्ध अहिले इराकमा रहेकी आमा माया ठकुरीले नेपाल फर्केर किटानी जाहेरी दिएपछि रुद्रपुर फेरि चर्चामा छ ।

समीक्षाकी आमाले बुबा तेजबहादुर ठकुरी, हजुरआमा हरिकला ठकुरी, फुपूहरु मधु थापा र शोभा रानाविरुद्ध किटानी जाहेरी दिएकी छिन् । तर, अनुसन्धानको मुख्य तीर हजुरआमा हरिमाया ठकुरी र कान्छी फुपू शोभा रानातिर सोझिएको प्रहरी स्रोत बताउँछ ।

यी दुईजनामाथि दुईपटक सम्म अदालतबाट म्याद थपेर अनुसन्धान जारी छ । तर, दुई साता बितिसक्दा पनि अनुसन्धान नसकिएको र दोषी पत्ता नलागेको अनि मृतकको दाहसंस्कारसमेत हुन नसकेको भन्दै स्थानीय आमा समूह विरोधमा उत्रिएका छन् । घटनाको प्रभावकारी अनुसन्धान गरी सत्यतथ्य छिटो बाहिर ल्याउन र पीडितलाई न्याय दिन माग गर्दै आमा समूहहरु आन्दोलित भएका छन् ।

कञ्चन गाउँपालिकाका ९ वटा आमा समूह, सामुदायिक वन उपभोक्ता र महिला अगुवाले सालझण्डीस्थित इलाका प्रहरी कार्यालय घेराउ गर्दै घटनाको सत्य तथ्य छिटो बाहिर ल्याउन माग गरेका छन् ।

समीक्षाको मृत्यु भएको १६ दिन बितिसक्दा पनि सत्यतथ्य बाहिर नआएको भन्दै उनीहरुले प्रहरीलाई अनुसन्धान प्रभावकारी बनाउन दवाब दिएका हुन् ।

महिलाहरुले अनुसन्धान फितलो भएको र सत्यतथ्य लुकाउने प्रपञ्च हुनसक्ने भन्दै छिटो भन्दा छिटो दोषी पत्ता लगाउन माग गरेका छन् । स्थानीय महिला अगुवा गौरा थापाले समीक्षाको मृत्युको घटनाको दोषी पत्ता नलागेसम्म आफूहरु चुप लागेर नबस्ने बताउँछिन् ।

जलेर घाइते भई उपचारका क्रममा समीक्षाले आफूलाई हजुरआमाले नै यस्तो अवस्थामा पुर्‍याएको भनेर आफूलाई भनेको हुँदा घटनामा परिवारकै सदस्यको संलग्नता रहे पनि प्रहरीले कसैको प्रभावमा परेर अनुसन्धानमा ढिलाई गरेको समीक्षाकी सानिमा रचना बुढाथोकीको दाबी छ । उनले हजुरआमा र कान्छी फुपूलाई मात्र होइन, घटनाको यथार्थ बाहिर नआउञ्जेल किटानी जाहेरीमा परेका चारैजनालाई अनुसन्धानको दायरामा राख्नुपर्ने माग गरिन् ।

सौतेनी मामिलो

समीक्षा जन्मेको ९ महिनापछि उनका बुबा तेजेन्द्र ठकुरीले अर्की श्रीमती ल्याएका थिए । दोस्रो बिहे गरेसँगै समीक्षाकी आमामाथि कुटपिट र दुव्र्यवहार हुन थालेपछि सहन नसकेर आमाछोरी माइतीमा बस्दै आएका थिए ।

दुई वर्षअघि आमाले समेत दोस्रो बिहे गरेर गएपछि समीक्षा समस्यामा परिन् । उनी गत कात्तिकदेखि मात्रै आफ्नो बुबाको घरमा बस्न थालेकी हुन् ।

लामो समय मावलीमा बसेर आफ्नो घरमा बस्न आएसँगै समीक्षामाथि परिवारका सदस्यले राम्रो व्यवहार नगरेको मामा बोम दर्लामी बताउँछन् ।

समीक्षालाई बारम्बार यातना दिने, कुटपिट गर्ने, विद्यालयको शुल्क नदिने र सौतेलो भाइले मार्ने धम्की दिने जस्ता दुब्र्यवहार हुने गरेको दर्लामीको दाबी छ । उनका अनुसार घटना हुनु केही समयअघि पनि समीक्षामाथि निर्घात कुटपिट भई अस्पताल भर्ना गर्नुपरेको थियो ।

उक्त घटना स्थानीय प्रहरी चौकी, गाउँपालिकाको न्यायिक समितिसम्म पुगेर आइन्दा यस्तो नगर्ने सहमतिमा मिलापत्र भएको थियो ।

आमाले समेत दोस्रो बिहे गरेर गएपछि समीक्षा घर आएर बस्ने थालेकी र अंश दाबी गरेपछि उनलाई हत्या गर्ने योजना अनुसार मट्टीतेल छर्केर आगलागी गराई मृत्युको मुखमा धकेलेको मावली पक्षको आरोप छ । स्थानीय आमा समूहका अगुवा पनि समीक्षाका मावली पक्षको दाबीमा सहमत देखिन्छन् ।

मावलीले बताए अनुसार शारीरिकरुपमा पनि सुन्दर रहेकी समीक्षा भविश्यमा मोडेल र नर्स बन्ने बताउँथिन् ।

पोलिग्राफ टेस्ट गर्छौंः प्रहरी

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी डिलबहादुर मल्ल घटना शंकास्पद र गम्भीर प्रकृतिको भएकाले गहिराइसम्म पुगेर अनुसन्धान जारी रहेको बताउँछन् ।

‘हामी सत्यतथ्य पत्ता लगाउन अभियुक्तमाथि पोलिग्राफ पनि चेक गर्दैछौं’ डीएसपी मल्लले भने– ‘अहिलेसम्मको अनुसन्धानले घटनामा बाहिरका मान्छेको संलग्नता होलाजस्तो पाइएको छैन, परिवारका सदस्यतिरै अनुसन्धान केन्द्रित गर्नुपर्ने देखिएको छ ।’

संसदमा पनि कुरा उठ्यो

समीक्षाको मृत्युको घटनालाई लिएर प्रदेश नं ५ को संसद बैठकमा समेत महिला सांसदहरुले आवाज उठाएका छन् । उनीहरुले घटनाको गहिराइमा पुगेर अनुसन्धान गर्न प्रदेश सरकारसँग माग गरेका थिए ।

जवाफमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले घटनाप्रति प्रदेश सरकारको ध्यान गएको र प्रभावकारी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment