Comments Add Comment

बाँदरबाट मकै जोगाइदिन सांसदसँग हारगुहार


४ साउन, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकामा बाँदरले मकै नष्ट गरेपछि यहाँका किसान चिन्तित बन्दै गएका छन् ।

पहाडी जिल्ला पाल्पाको प्रमुख अन्नबाली मकैमा घोगा हाल्न थालेसँगै बाँदरले नष्ट गर्न थालेपछि यहाँका किसान मकै जोगाइदिनका लागि गाउँपालिका प्रमुख र प्रदेश सांसदसँग हारगुहार गर्न पुगेका हुन् ।

गाउँमा युवा पुस्ता नभएकाले अधिकांश महिला, वृद्ध र बालबालिकामा बसोबास गर्ने थलो बन्दै गएसँगै बाँदर धपाउन समस्या भएको छ । महिला तथा बालबालिकाले बाँदर धपाउन खोज्दा पटकपटक हैरानी परेको गुनासो बाँदर पीडितले गर्दै आएका छन् ।

रिब्दीकोट गाउँपालिका–३ का ९५ घरपरिवार मकैबारीमा बाँदरको बगाल बस्तीमा पसेपछि मकै नष्ट गरेको स्थानीय बासिन्दा रामबहादुर सुनारले गुनासो गरे । बाँदर पीडित सुनारले एउटा बगाल बाँदरलाई गाउँबाट धपाए पनि अर्को बगाल आएर दुःख दिने गरेको गुनासो गरे । ‘कताबाट आउँछ थाहा नै हुँदैन, मकै, तरकारी बाली उत्पादन गरे पनि बाँदरले नष्ट गरेको गुनासो प्रदेश सांसद् तुलाराम घर्ती ‘वसन्त’, रमा घर्ती गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीसमक्ष राखेका छौं’, उनले भने ।

बाँदरलाई गाउँबाट धपाउन निकै मुश्किल बन्दै गएपछि आफूहरुले भरुवा बन्दुकसहित बाँदर नियन्त्रण गर्न पाउनुपर्ने प्रमुख माग राखेका छन् । वर्षभरि खाने पहाडी भेगको अन्नबाली नोक्सानी गरेपनि बाँदर पीडित संगठित भएका हुन् । रिब्दीकोट गाउँपालिका–३ का बाबुलाल रसालीले बाँदरले मकै र मृगले अन्नबाली नष्ट गरेसँगै किसानको मेहनत विफल भएको गुनासो पोखे । मकै बाली भित्राउने समयसम्म बाँदरबाट मकै जोगाइदिनका लागि सांसद तथा गाउँपालिका प्रमुखसँग बाँदर पीडितले अनुरोध गरे ।

प्रदेश सांसद तुलाराम घर्ती ‘वसन्त’ले बाँदरको समस्या सुने पनि आफूमाझ समस्याका रुपमा पहिलोपटक नयाँ प्रकृतिको समस्या आएको बताए । सिंह, बाघले क्षति गरे क्षतिपूर्ति पाउने व्यवस्था भएपनि बाँदरबाट भएको नोक्सानीको राहत पाउने व्यवस्था नभएको बताए ।

उनले बाँदर प्रवेश गर्ने स्थानमा मान्छे राखेर बाँदर धपाउनुपर्ने घर्तीले बताए । बाँदर नियन्त्रणका लागि कार्यविधि बनाएर भरुवा बन्दुक प्रयोग गरी बाँदर धपाउन सकिने सम्भावना रहेको बताए ।

प्रदेश सांसद रमा घर्तीले मकै तथा तरकारी उत्पादन गर्ने क्षेत्रमा बाँदरको समस्या रहिआएको अवस्था पशुपालन व्यवसाय गरेर पनि आम्दानी गर्न सकिने र बाँदरको समस्या पनि हट्ने बताइन् । उनले गाईभैंसी, बाख्रा तथा बंगुरपालन व्यवसाय सञ्चालन गरी मनग्य आम्दानी गरेर युवाले स्वदेशमै केही गर्न सक्ने सांसद् घर्तीको भनाइ थियो ।

गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीका अनुसार हाल बाँदरबाट अन्नबाली नोक्सानी हुन नदिनका लागि नियमित रुपमा स्थानीय बासिन्दाले संगठित भई बाँदर धपाउनुपर्ने बताए ।

यो समस्या समाधानका लागि गाउँपालिकाले बाँदरबाट नोक्सानी कम हुने अन्नबाली तथा पेशातर्फ किसानलाई आकर्षित गर्नुपर्ने देखिएको छ ।

मकै तथा तरकारी उत्पादन हुने क्षेत्रदेखि १० मिटर टाढासम्म बाँदर बेहोस हुने घाँसको खेती गर्दा बाँदर नियन्त्रण हुनेछ । बाँदर घाँसमा प्रवेशसँगै बेहोस हुने र सोही समयमा नियन्त्रणमा लिन सकिने यसका जानकार बताउँछन् ।

पछिल्ला वर्ष वन संरक्षणसँगै पाल्पाका रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली माथागढी, तिनाउ गाउँपालिकालगायतका बाँदरका कारण किसान हैरानी भोग्न बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment