Comments Add Comment

रामभौरी भाथा मेलाबारे विवाद कायमै

४ साउन, वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका-१ मा पर्ने रामभौरी भाठामा महादेवमन्दिरमा लाग्ने साउने मेलालाई लिएर उत्पन्न विवाद अझै निश्कर्षमा पुग्न सकेको छैन । तिथि अनुसार साउन ७ गतेबाट भाथामा साउने मेला शुरु हुँदैछ ।

पर्सा राष्ट्रिय निकुञ्ज आधाभारले धार्मिक महत्व राख्ने रामभौरीभाठाको दुग्धेश्वरनाथ महादेव मन्दिरमा हुने साउने मेला निकुञ्ज बाहिर सार्न आग्रह गरेपछि उत्पन्न विवाद निष्कर्षमा पुग्न नसकेको हो ।

राष्ट्रिय निकुञ्जको ‘कोर एरिया’ (वन्य जन्तुको बासस्थान) मा मेला लगाउँदा हुने भिडभाड र हो हल्लाले जीवजन्तुको दैनिकीमा खलल पुग्ने भएकोले मन्दिरमा व्यवस्थित र शान्त हिसाबले दर्शन गर्न र निकुञ्ज बाहिर मेला लगाउन निकुञ्ज प्रशासनको आग्रह छ ।

वन्यजन्तुहरूको वासस्थानमा साउने मेला लाग्दा वन्यजन्तुमा प्रतिकूल असर पर्छ, वन्जजन्तु वासस्थान छोडी भाग्न सक्छन्, साउने मेला भर्न आउने भक्तजनहरुमाथि आक्रमण समेत हुन सक्ने भएकोले मेलालाई व्यवस्थित गर्न खोजिएको तर्क निकुञ्जका अधिकारीहरुको छ ।

तर स्थानीय मेला समिति, मन्दिर निर्माण समिति, राजनीतिक अगुवाहरुले भने मेला मन्दिर आसपासकै क्षेत्रमा परम्परागत रुपमा नै लगाउन पाउनुपर्ने अडान राख्दै आएका छन् । सरोकारवालाहरुकोबीचमा पटक-पटक बैठक बसेको भएपनि मेलाको सम्बन्धमा कुनै ठोस टुंगो लाग्न सकेको छैन ।

विवादले मेला समितिको तयारी फितलो

निकुञ्ज प्रशासनले चारभैया पोस्ट र सोनवर्षाबीच राष्ट्रिय वनको जग्गामा मेला गर्न र दुग्धेश्वरनाथ महादेव मन्दिरमा भक्तजनमात्र जानेगरी मेलालाई व्यवस्थित गर्नुपर्ने अडान लिँदै आएको छ ।

मेला लगाउने बारे निकुञ्ज प्रशासन मौखिक रुपमा सहमत भएको छ । तर, पसल थाप्ने र बढी भिड नलगाउने कुरा भएको छ ।

भाथा मेला व्यवस्थापन समितिका अध्यक्ष विगा चौधरी निकुञ्ज प्रशासनले भने जसरी मेला लगाउनै नसकिने बताउँछन् ।

‘सयौंं बर्षदेखि मानिसहरु आइरहेका छन् । काँवर बोकेर दौडदैं मन्दिरमा पुगेका हुन्छन् । उनीहरु तुरुन्तै र्फकन सक्दैनन् । मेलाको दिनमा २४ घण्टा अष्टजाम हुन्छ, सत्यनारायणको पूजा लगाउँछन्, महिलाहरुले खोईच भर्ने भाकल गरेका हुन्छन्, भाकल पुरा भएकाले कपाल मुण्डन गरेर चढाउँछन्, बाजा गाजा बजाउँदै जान्छन् । भक्तजनहरु बास समेत बस्ने गरेका छन्,’ उनले भने, ‘भोलि मेला समितिको बैठक बसेर एउटा टुंगोमा पुग्छौं । मेला भर्न जाने बाटो मर्मत गर्नुपर्ने पनि छ ।’

भोलिको बैठकपछि तदारुकताका साथ अन्य कामहरु अघि बढाउने मेला समितिले जनाएको छ ।

मेला व्यवस्थापन समितिले मेलाको लागि २० देखि ५० बिघा जग्गा हुनुपर्ने, धर्मशाला, पोखरीको व्यवस्था गर्नुपर्ने र मेला स्थानबाट दुग्धेश्वर महादेव मन्दिरसम्म जाने सडक स्तरोन्नती गरिनुपर्ने, भक्तजनलाई आवतजावत गर्न सार्वजनिक सवारीसाधनको व्यवस्था हुनुपर्ने माग राख्दै आएको छ ।

यसरी दुवै पक्ष आ-आफ्नो अडानमा बसेका कारण ११ गतेबाट लाग्ने रामभौरीभाठाको साउने मेला अहिलेसम्म अन्योलमा परेको छ ।

एक महिने साउने मेलाको लागि मन्दिरमा विशेष तयारी हुने गरेको भएपनि सहमति जुट्न नसकेका कारण कुनै तयारी हुन सकेको छैन । मेला भर्नका लागि भारतबाट समेत ठूलो संख्यामा भक्तजन आउने गरेका छन् ।

सबै पक्षबाट निकुञ्जको अडानको विरोध

पर्सा राष्ट्रिय निकुञ्ज आधाभारले पर्साको पटेर्वा सुगौली वडा नं. १ मा रहेको दुग्धेश्वरनाथ धाममा लाग्दै आएको भाथा मेलामा अवरोध पुर्‍याउन खोजेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ ।

निकुञ्जबाट मेलालाई अवरोध पुर्‍याउने काम भईरहेको प्रति असन्तुष्टि जनाउँदै दुई दिन अघि काँग्रेसले जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाली कांग्रेसको पर्सा जिल्ला सभापति अजयकुमार द्विवेदी र दुग्धेश्वरनाथ धामका संरक्षकसमेत रहेका पूर्वमन्त्री सुरेन्द्र चौधरीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा नागरिकको अधिकार कुण्ठित पार्न खोजिएको आरोप लगाइएको छ ।

‘दुग्धेश्वरनाथ धाम हजारौं वर्षदेखि पर्सा जिल्ला एवं वरपरीका जिल्ला र भारतबाट आउने हिन्दु भक्तजन तथा श्रद्धालुहरु समेतको निम्ति बैदिक आस्थाको केन्द्रको रुपमा मात्र होईन, हाम्रो साँस्कृतिक धरोहरको रुपमा पनि रहेको छ । नारायणी सभ्यता, हरिहरक्षेत्र, देवघाट र कृष्णगण्डकी लगायतको यस भूखण्डलाई वैदिककालदेखि नै ऋषि बाल्मिकी, अष्टाबक्र एवं ऋषिपुत्री गार्गीको तपोभूमि र आश्रयस्थलको रुपमा रहेको तथ्य वैदिक इतिहासमा उल्लेख छ ।’

नेता चौधरी भन्छन् ‘नेपाल सरकारबाट आरक्षको अवधारणा बन्नु भन्दा पहिलेदेखि नै धाम र दुग्धेश्वरनाथ महादेव ईष्ट देवता, कुल देवताको रुपमा पुजनीय छन् ।’

संविधानले नै प्रदान गरेको अधिकारलाई निकुञ्जले हनन गर्न खोजेको उल्लेख गर्दै प्रतिकारमा आन्दोलन गर्ने चेतावनी उनको छ ।

निकुञ्जले लिएको अडानको विरुद्धमा पर्सा क्षेत्र नं ४ का सांसद हरि नारायण रौनियार पनि देखिएका छन् । पहिला बस्ती सारिएको र अहिले मन्दिरै सार्ने जस्तो कुरा गरेर परम्परागत मेला बन्द गर्न खोजिएको आरोप उनको छ ।

‘निकुञ्जको नाममा, जंगली जनावरको नाममा आस्थालाई नै मेटाउने काम गर्न हुँदैन,’ उनले भने, ‘ पर्साको भाथा मन्दिर मात्रै जंगलभित्र छैन, मुक्तिनाथ पनि जंगल भित्र छ ।, ठाकुरद्वार पनि त्यस्तै छ, चितवनमा निकुञ्जमा हात्ती बाघ गैडा छ, नै ठूलो पर्यकीय स्थल बनेको छ । देशी विदेशीलाई जनावारलाई देखाउन लगिन्छ । भाथामा मात्रै समस्या हुने यो सरासर गलत छ ।’

सदियौंदेखि चलिआएको मेला रोकेर मुठभेडको वातावरण निम्त्याउन नहुने उनको भनाइ छ ।

मेला रोक्ने होइन व्यवस्थित बनाउनेः वार्डेन

निकुञ्जमा विभिन्न किसिमका जनावर, वनस्पतिले र ३ सय ३३ प्रजातिका चराचुरुंगीहरु र विश्वमै दुर्लभ पाटे बाघ, एकसिंगे गैंडा, गौरी गाई, घोड गधा संरक्षित छन् ।

चुरेको फेद र चारकोसे झाडी बीचमा रामभौरी र भाठा नाम गरेका दुईवटा बस्ती थिए । तर, पछि आरक्ष बनेपछि आरक्षभित्र परेको बस्तीलाई ०६७ सालमै आवश्यक बन्दोबस्त मिलाएर निकुञ्ज बाहिर सारिसकिएको छ । त्यही ५ सय विघा क्षेत्रफलमा अहिले पानी सहितको घाँसे मैदान छ ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले सरोकारवालाहरुलाई मेला व्यवस्थित गर्न पटकपटक आग्रह गर्दा पनि अटेर गरेको बताउँछन् ।

मेलालाई व्यवस्थित रुपमा सञ्चालन गरौं भन्ने धारणा आफ्नो रहेको उनको भनाइ छ । हात्ती, बाघ लगायतका जनावरको संख्या बढेको छ ।

गत वैशाखमा हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ । जनावरले जतिखेरपनि आक्रमण गर्न सक्ने भएकोले व्यवस्थापन गर्न गम्भीर हुनुपर्छ भन्न खोजेको हो ।’ उनले भने ‘ आस्थामा खलल पुग्ने गरी साम्प्रदायिक भएर दर्शन गर्ने र जल चढाउने कुरामा निकुञ्जले कुनैपनि अवरोध गरेको छैन । मेलालाई व्यवस्थित गरौं भनेको हो । आस्था पनि मर्न नदिउ, जंगली जनावारको बासस्थानमा पनि अवरोध नपुगोस भन्ने हाम्रो भनाइ हो ।’

उनले मन्दिर क्षेत्रलाई व्यवस्थित गर्न सके धार्मिक तथा वन्यजन्तु अवलोकन गर्न आउने दुवैखाले पर्यटकको ध्यान आर्कषित गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment