Comments Add Comment

बालविवाह र दाइजो प्रथा रोक्न जनप्रतिनीधिको प्रतिबद्धता

४ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं १५ बस्ने सुधा कुमारी साह कानु आफू २० वर्ष नपुगी विवाह नगर्ने, दाईजो माग्नेसँग विवाह नगर्ने र अरुले बाल विवाह गर्न वा दाइजो लिन लागेको खण्डमा विरोध गर्ने निश्कर्षमा पुगेकी छन् ।

सानै उमेरमा विवाह हुँदा शारीरिक र मानसिक रुपमा विकास नहुने हुँदा विभिन्न समस्या आउने बुझेकी उनी भन्छिन्, ‘दाइजोप्रथा हटाउन म पनि प्रयास गर्छु, २० वर्ष भन्दा कम उमेरमा विवाह गर्न हुन्न त्यसले कस्तो असर पार्छ भनेर समाजमा सचेतना जगाउँछु ।’

लिखित रुपमै बालविवाह र दाइजो प्रथा विरुद्ध प्रतिबद्धता जनाएकी सलोनी पटेलले खेल्ने कुद्ने उमेरमा विवाह गराउनु अपराध भएको र यसलाई हटाउनुपर्नेमा जोड दिईन् । ‘ केटा केटिहरुको शारीरिक र मानसिक विकास नभई विवाह गर्ने गरिन्छ ।’ उनले भनिन, ‘यसले समाजमा विभिन्न किसिमको समस्या निम्त्याउँछ । दाइजो लिनु पनि गलत हो, यसलाई हटाउनुपर्छ बरु यसको साटो शिक्षामा लगानी गर्नुपर्छ ।’

तराई मधेसका जिल्लामा सानै उमेरमा विवाह गरिदिने र मागेरै दाइजो लिने दिने चलन छ । तर, वीरगञ्ज महानगरपालिकाका वडा नं १५ लक्ष्मणवाका ३५ जना किशोर किशोरी, उनीहरुका अभिावक तथा जनप्रतिनीधिहरु बालविवाह र दाइजो प्रथाविरुद्ध प्रतिबद्ध देखिएका छन् । उनीहरुले बाल विवाह नगर्ने/गर्न नदिने तथा दाईजो नलिने/नदिने लिखित प्रतिबद्धता जनाएका हुन् ।

सुशान्त पटेलले पनि सार्वजनिक रुपमै २० वर्ष पुरा भएपछि मात्रै विवाह गर्ने तथा दाईजो नलिने र नदिने प्रतिबद्धता जनाए ।

अभिभावक, किशोरी तथा जनप्रतिनीधिहरुका लागि बाल विवाह तथा दाईजो प्रथा विरुद्धको अभिमुखीकरण एवं प्रतिबद्धता कार्यक्रममा वडा अध्यक्ष गजेन्द्र प्रसाद पटेल, वडा सदस्य छोटेलाल साह, जय प्रकास सिंह राजपुत, मनोजा चौधरी थारु लगायतले बालविवाह र दाईजो प्रथा विरुद्ध कडा भएर लाग्ने प्रतिबद्धता जनाए ।

वडा अध्यक्ष गजेन्द्र पटेलले दाइजो लिएर विवाह गर्ने वा बाल विवाह सबै मिलेर रोक्नुपर्ने, छोरीलाई दाईजोका साटो शिक्षा दिनुपर्ने र २० वर्ष पुरा गरेपछि मात्रै विवाह गर्नुपर्नेमा जोड दिए ।

‘सबैभन्दा पहिले बालबालिकाको शिक्षामा जोड दिनुपर्छ, शिक्षा नै सबैभन्दा ठूलो सम्पत्ती हो । विद्या छैन भने जति धन सम्पत्ति जग्गा जमिन भएपनि काम लाग्दैन ।’ उनले भने, ‘दाइजो माग्नेलाई सिँधै भन्नुस मेरो छोरीलाई पठाएको छु त्यही हो सम्पत्ति हो भन्नुस, आफूले नलिएपछि अरुलाई पनि दिनुपर्दैन, साथै हड्बढाएर चाँडै विवाह गर्ने होइन, छोरा हुन वा छोरी २० वर्ष पुगेपछि मात्रै विवाह गर्नुस । ‘

चाँडै विवाह नगरिदिए गलत बाटोमा जान खोज्छन भन्ने होला त्यस्तो हुन नदिन सम्झाइ बुझाइ गर्नुपर्ने उनको सुझाव छ ।

सँगै उनले बाल विवाह र दाईजो लिएर विवाह हुन लागेको खण्डमा प्रहरीमा उजुरी दिन आग्रह गरे । ‘बालविवाह गर्दैछन वा दाईजो लिएर विवाह गर्दैछन भने मलाई जानकारी दिनुस वा प्रहरी कार्यालयमा उजुरी दिनुस,’ उनले भने, ‘अब समाजमा विद्यमान बालविवाह र दाईजो जस्ता कुरीतिको अन्त्य गर्नुपर्छ ।’ वडा अध्यक्ष पटेलले भने ।

उनीहरुले बाल विवाह र यसको नकारात्मक असरका बारेमा जानकारी दिनुका साथै सामुदायमा उमेर नपुगी विवाह नगर्न नगराउन भन्नेछु, बाल विवाह र यसले पार्ने नकारात्मक असरका बारेमा निरन्तर छलफल गर्नेछु, आफ्नो घर टोल समाजमा बालविवाह हुन लागेको छु वा छैन भन्ने विषयमा चासो राख्ने र हुन लागेको जानकारी पाएको खण्डमा नजिकैको प्रहरी वा सामाजिक संघ संस्था वा भरपर्दो निकायमा खबर गरेर बाल विवाह रोक्न मद्धत गर्नेछु, म दाईजो लिन्न र दिन्न, दाइजो प्रथा विरुद्ध सचेतना जगाउँछु, २० वर्ष नपुगी विवाह गर्ने छैन लगायतका १० वटा बुँदा लेखिएको प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

‘कुराकानी गरौं बिहेको जब हुन्छ उमेर २० वर्ष पुगेको’ बिहेवारी, २० वर्ष पारी भन्ने नाराका साथ युनिसेफको सहयोगमा वीरगञ्ज महानगरपालिकासँग समन्वय गरेर युवालय र बाल अधिकार सम्बर्द्धन अभियान समिति पर्साले कार्यक्रमको गरेको थियो ।

कार्यक्रममा सहभागी १२ देखि १९ वर्ष उमेर समूहका किशोरीहरु, उनीहरुका अभिभावक र वडा अध्यक्ष लगायतका जनप्रतिनीधिहरुले बाल विवाह तथा दाइजो प्रथाविरुद्ध प्रतिबद्धता जनाएको युवालयका सदस्य एवं कार्यक्रमका प्रशिक्षक जया साहले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका क्षेत्रमा समेत बाल विवाह र दाइजो जस्ता कुप्रथा विद्यमान रहेकोले किशोर, किशोरी, उनीहरुको अभिभावक र अन्य सरोकारवालाहरुलाई सचेत बनाउँदै बाल विवाह र दाइजो प्रथा निर्मुल पार्न कार्यक्रम सञ्चालन बालअधिकार सम्बर्द्धन अभियान समितिका अध्यक्ष राहुल साहले बताए ।

वीरगञ्ज महानगरका १५ वटा वडामा प्रति वडा ३५ जनाका दरले किशोर किशोरी र उनीहरुका अभिभावकलाई सचेत बनाउने, ५ वटा वडामा घरदैलो तथा प्रतिबद्धता लिने काम गराउने लक्ष्य संस्थाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment