Comments Add Comment

कमाण्ड सम्हाल्न नपाएका ‘आईजीपी’ चन्दको वयान : ‘बाटैमा थाहा भयो पद खोसिएछ…

देउवालाई २५ करोड त के, २५ पैसा पनि दिएको छैन

४ साउन, काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी जयबहादुर चन्दलाई भेट्न अनलाइनखबरको टोली बुढानीलकण्ठस्थित निवासमा पुग्दा उनी पूजापाठमा व्यस्त थिए । केहीबेर हनुमान चालीसा पढिसकेपछि उनी कुराकानीका लागि तयार भए ।

प्रचण्ड नेतृत्वको सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेर पनि चन्दले फुली लगाउन पाएनन् । न त उनले प्रहरी संगठनको कमाण्ड नै सम्हाल्न पाए । यही कारण चन्दको पहिचान ‘पूर्वआइजी’ नभएर ‘पूर्वएआइजी’ मात्र भएको छ ।

सर्वोच्च अदालतको आदेशले खोसिएको आईजीपी नियुक्तिबारे कुराकानी गर्ने अनलाइनखबरको प्रस्तावमा उनी सहजै तयार भए । पूर्वएआइजी चन्दले सम्वादको सुरुवात यसरी गरेः

मान्छेले अहिले पनि सत्य के हो बुझेका छैनन् । जहाँ बढुवा समिति गठन हुन्छ, समितिले सम्पूर्ण प्राप्त नम्बरहरुलाई जोडेर आफ्नो नम्बर दिने काम गर्छ । बढुवा समितिका कुनै पदाधिकारीले अमूक मान्छेलाई ५ नम्बर दियो, अर्काले ४ नम्बर दियो, अर्कोले ३ नम्बर दियो । यो सबै जोडेर कुल निकाल्ने हो । रामबहादुरलाई ५ नम्बर किन दिइस्, श्यामबहादुरलाई किन दिइनस् भन्न पाइन्न ।

तर, प्रहरी महानिरीक्षकका लागि बढुवा समिति नै हुँदैन । आईजीपी हुन योग्यता पुगेकाहरुलाई बास्केटमा राखेर छान्ने विशेषाधिकार सरकारको हो । त्यो विशेषाधिकारबाट म प्रहरी महानिरीक्षकमा छानिएको हुँ । त्यहाँ एक नम्बर, दुई नम्बर, तीन नम्बर भन्ने नै हुँदैन ।

प्रहरी महानिरीक्षक नियुक्तिका लागि नियमावलीमा ६ वटा दफा छन्, जसको पहिलो नम्बरमा नै जेष्ठता छ । त्यसबेला नेपाल प्रहरीमा २२ जना डीआईजी थिए, जसमध्ये हामी चारजना करिव २२ महिनाले सिनियर थियौं । अरु डीआईजी भन्दा हाम्रो हकमा जेष्ठता कायम हुन्छ । तर, एकै दिनमा नियुक्त भएका चार जनामा जेष्ठता आकषिर्त हुँदैन ।

बाँकी ५ वटा दफामा नेतृत्व क्षमता, कार्यकौशल, आफू मातहतलाई सम्झाइबुझाइ गर्न सक्ने लगायतका दफा छ । त्यो सबै हेर्ने हो भने पनि नेपालको २८ ठाउँमा काम गरेको म क्षमतावान हुन्छु कि हेडक्वार्टरमा बसेको मान्छे ? १० वर्ष सशस्त्र द्वन्द्वकाल, जतिबेला नेपाली जनतालाई सर्वाधिक शान्ति सुरक्षा चाहिएको थियो, त्यसबेला बरु नोकरी छोड्छु, फिल्डमा जान्नँ भन्ने मान्छेहरु योग्य हुन्छन् कि फिल्डमा जाने जयबहादुर चन्द ? मैले पहिला पनि भनेको छु, ६७ नम्बरबाट ४ नम्बरमा आउँदा ६३ जनालाई क्रस गरंे । तर, केही भएन, अनि तीन एकमा जाँदा यत्रो हल्लाखल्ला किन ?

अहिले पनि दुई नम्बरका रमेश खरेलले आईजीपी दाबी गरेका थिए । पुस्कर कार्की पनि लागेकै हुन् । खरेलले आफू आईजीपी नहुँदा राजीनामा नै दिए । दुई नम्बरको पनि हुन पाउने भएकाले ‘म योग्य थिएँ’ भनेर उनले राजीनामा दिएको होला । बुझ्नै पर्ने यही हो ।

यो गलत भयो बाबा ! एक नम्बरको मान्छे आईजीपी हुन्छ भन्ने दिमागबाट हटाउनुस् । एक महिनामा, एक वर्षमा धेरै परिर्वतन भएको हुन्छ । एक नम्बरले भन्दा २ वा ३ नम्बरको मान्छेले धेरै राम्रो गरेको पनि त हुन सक्छ ।

‘डायरीमा लेखिराख्नुस्’

आइजीपीमा आफूलाई नियुक्त गर्ने सरकारी निर्णयको तर्काधार बताइसकेपछि पूर्वएआइजी चन्दले मिडियासित पनि केही गुनासो पोखे । त्यसपछि उनले आफूलाई फुली लगाउन नदिनका लागि केही ‘दलाल’ हरु लागिपरेको दाबी गरे । आफ्नो नियुक्ति गलत भएको भए देशै छाड्ने दाबीसमेत उनले गरे ।

मिडियासँग चन्दको गुनासो यस्तो रहेछः

मप्रति मिडिया पनि बायस भयो । नेपालमा विवेकहीनताले पराकाष्टा नाघेको छ, अरु केही होइन । कुनै पनि चेतनशील, विवेकशील मान्छेलाई सोध्नुस्, मेरो नियुक्ति गतल थियो भन्छ भने म देशै छाड्छु । यसकारण गैरकानुनी थियो, हुनुहुँदैनथ्यो भनेर मलाई कन्भिन्स गर्छ भने म यो मुलुकै छोड्छु ।

हाम्रै छिमेकी देश भारतलाई हेर्नुस्, सेनाको प्रमुख बनाउँदा दुई ब्याज जुनियरलाई ल्याइयो । त्यहाँ पनि कुरा उठ्यो । रक्षामन्त्रीले जवाफ दिए, हामी रोबर्ट हो र ? मान्छे हौं । मान्छेको नियुक्ति जसलाई ठीक देख्यौं, त्यसलाई गर्‍यौं ।

हामीकहाँ पनि प्रहरी नियमावलीले सरकारले जसलाई विश्वासयोग्य, उपयुक्त ठान्छ, त्यसलाई प्रहरी महानिरीक्षक बनाउने विशेषाधिकार मन्त्रिपरिषदलाई दिएको छ । तर, एउटा ठूलो जमात, अमूक ग्याङ, पार्टीहरु मविरुद्ध लागे । जयबहादुर चन्द प्रहरी महानिरीक्षक भएपछि आफूलाई हानी हुने भ्रम पाले र खुब खेती गरे । त्यसमा दलाल प्रवृत्तिका मानिसहरु पनि परिचालित भए, त्यति हो ।

तर, एक दिन समय आएपछि उनीहरु सबै परास्त हुन्छन् र ज-जसले गलत निर्णय गरेका छन्, उनीहरु पछुताउँछन् । पश्चातापको पीडाले कोही त डिप्रेसनमा पनि जालान् । तपाईले कसैलाई अन्याय गर्नुभयो भने त्यसको परिणाम अवश्य निस्कन्छ, यो मेरो विश्वास हो । अन्याय गर्नेहरु कि त डिप्रेसनमा जान्छन् कि जीवनको अन्त्यमा धेरै दुःखी हुनेछन् । यो डायरीमा लेखिराख्नुस् ।

पहिले आइजीपी बनाउने र पछि फुली नै लगाउन नदिई रोक्ने भित्री गेमहरु के कस्ता भएका थिए ? अनलाइनखबरको जिज्ञासामा चन्दले त्यसबेलाको राजनीतिक गुह्य यसरी कोट्याएः

बाटैमा थाहा भयो पद खोसिएछ

१ फागुन २०७३ को दिन म घरमै थिएँ । करिव २/३ घन्टा अगाडि प्रहरी महानिरीक्षक हुँदैछु भन्ने थाहा भइसकेको थियो । बनाउनहरुले पनि आफ्नो तयारी गर्नु भनेका थिए । केही खेल हुँदैछ भन्ने त्यसबेलाको सरकारले महसुस गरेर ४ बजेको क्याबिनेटलाई ९ बजे बोलाएपछि ९ बजे आईजीपी हुन्छु भन्ने कन्र्फम थियो ।

क्याबिनेटले नियुक्त गरेपछि घरमै बधाइ दिनेहरु आए । यो भीड केही कम हुनासाथ जुन ठाउँमा बसोबास गर्छु, त्यो ठाउँको देवीदेवताको दर्शन गर्छु भनेर खड्गभद्रकाली र बुढानीलकण्ठ जान हिँडे । खड्गभद्रकाली दर्शन गरेर बुढानीलकण्ठ नपुग्दै गृहसचिवले फोन गरेर ‘दर्शन पछि गर्नुहोला, तुरुन्तै आइइहाल्नुस्’ भन्नुभयो ।

नियुक्ति लिएपछि गृहसचिवले अब कहाँ जानुहुन्छ भन्नुभयो । मैले पहिला संगठन प्रमुखलाई भेट्छु भनेँ । उहाँले होइन होइन, तपाई गृहमन्त्रीलाई भेट्न जानुस् भन्नुभयो । मैले होइन सर, देउतामा खड्गभद्रकाली र बूढानीलकण्ठ भेट्छु, मान्छेमा संगठन प्रमुखलाई भेट्नुजान्छु । त्यसपछि तपाई कहाँ आउनुपर्ने हो, बोलाइहाल्नुभयो । अनि गृहमन्त्री कहाँ जाने हो भने । तर, उहाँले जिद्दी गरेर गृहमन्त्री कहाँ पठाउनुभयो । म गृहमन्त्री विमलेन्द्र निधिलाई भेट्न उहाँको निवासमा गएँ तर, उहाँले निकै मुस्किलले भेट दिनुभयो ।

गृहमन्त्रीले हामीलाई करिव १५ मिनेट कुराउनुभयो । पहिला उहाँको मिसेस आउनुभयो, कुराकानी भयो । झण्डै १५ मिनेट कुरेपछि भेट दिनुभएका गृहमन्त्रीले मसँग हार्दिकरुपमा प्रस्तुत हुनु भएन किनभने उहाँ मेरो नियुक्ति सफल हुँदैन भन्नेमा ढुक्क हुनुहुँदोरहेछ । त्यो डिजाइनमा उहाँ पनि हुनुहुन्थ्यो ।

आफ्नो नयाँ आईजीपी भेट्न आउँदा उहाँ हासीखुसी आउनुपर्ने हो तर, निराश हुनुहुन्थ्यो । उहाँ किंकर्तव्यविमूढ हुनुहुन्छ भन्ने प्रष्ट देखिन्छ । मुखले त केही भन्नुभएन । तर, नियुक्त भएको नयाँ आईजीपी आएको छ । यसलाई मैले रोकेको हुँ, अमूक मान्छेका लागि डिल पनि गरिरहेको छु । यो मान्छेलाई के मुखले बधाइ दिने भन्ने अन्योल हाउभाउले देखाउँथ्यो ।

त्यहाँबाट निस्किएर संगठन प्रमुखलाई भेट्न हिँडे तर, बाटोमै (नियुक्त कार्यान्वयन नगर्न) अन्तरिम आदेश जारी भएको खबर पाएँ । त्यसपछि सिधै घर आएँ ।

दुर्भाग्यपूर्ण परिणामको पूर्वसंकेत

हुन त २८ गते नै मुद्दा दर्ता हुनासाथ मैले छनक पाएको थिएँ । त्यो दुर्भाग्यपूर्ण परिणामका लागि मानसिक रुपमा तयार भएको थिएँ । अन्तरिम आदेशपछि आफ्नो बचाउका लागि वकिलहरु खोज्दा अझ प्रष्ट भयो, ग्राण्डडिजाइन राम्रै रहेछ ।

हामी चारजना डीआईजी हुँदा पनि मुद्दा परेको थियो । त्यसबेला वकिलको अनुभव गरेँ । राम्रा वकिल को, नराम्रा वकिल को भन्ने मेरो एक खालको रिडिङ थियो । यो पटक आफ्नो प्रतिरक्षाका लागि ३/४ फागुनमा मैले राम्रा मानेका वकिलहरु कहाँ गएँ, एक महिनाअघि नै बुक भइसकेको रहेछ ।

शम्भु थापालाई सोध्नुस्, भीमार्जुन आचार्यलाई सोध्नुस् । उहाँहरुले सरी ! एक महिना अगाडि नै बुक भएका छौं भन्नुभयो । मेरो नियुक्ति हुनु एक महिना अगाडि नै वकिल बुक भएको छ भने यो देशमा के हुँदोरहेछ कल्पना गर्नुस् । मेरो आईजीपी नियुक्ति प्रकरण के हो ? त्यसमा के गेम प्लान थियो अनुमान गर्नुस् । सरकारले नियुक्त नगर्दै मुद्दा हालिएको छ, त्यो पनि सर्वोच्चमै दर्ता भयो ।

नियामक निकायले निर्णय गर्दै कुनै विषयमा निर्णय हुँदैछ भनेर ब्रम्हाण्डमा त्यहाँ पनि मुद्दा दर्ता हुँदैन । तर, यहाँ गर्भभित्रै रहेको भूडोको विषयमा मुद्दा दर्ता भयो ।

सर्वोच्चबाट फलानोलाई नै आईजीपी बनाउनू भनेर आदेश नै आउँछ कि भन्ने लागेको थियो । नाम त तोकिएन तर, नम्बर बढी हुनेलाई नियुक्त गर्नु भनियो किनभने अमुख व्यक्तिकै नम्बर छ भनेर उनीहरुलाई बि्रफिङ गरिएको रहेछ ।

अमुख मान्छेले कति झुट बोल्छ भन्ने त संगत गरेकारुलाई मात्र थाहा थियो । विचरा कोही कोही मान्छेहरुले यो मान्छे सही हो, उनले बोलेको देवकोण नै हो भन्ने ठाने र नम्बर बढी भएकोलाई आईजीपी बनाउनु भन्ने आदेश दिए । तर, नम्बर बढी अर्कैको थियो । सर्वोच्चको वृहत फुलबेञ्चमा किर्ते नम्बरहरु पेश भएका छन्, अनुसन्धान गर्नु भनेर आदेश दिनुले पनि यो प्रष्ट भइसक्यो ।

समय आएपछि अनुसन्धान होला ।

‘प्रभावको शिकार भएँ’

मन्त्रिपरिषदले आइजीपीमा नियुक्त गरिसकेपछि पनि किन फुली लगाउन दिइएन र क्याबिनेटको निर्णय उट्याइयो भन्ने प्रश्नमा चन्दको बुझाइ रहेछ- ‘म प्रभावको शिकार भएँ ।’

कस्तो प्रभाव ? चन्दले यसरी वर्णन गरे-

अहिले पनि हाम्रो राज्यका कुनै पनि लाइन एजेन्सीहरुले पर्फ]{ट काम गरिरहेका छन् भन्ने मलाई विश्वास छैन । सबै प्रभावमा चलेका छन्, कहीँ शक्तिको प्रभाव होला, कहीँ पैसाको होला, कहीँ नातागोताको प्रभाव होला । त्यही प्रभावको शिकार म भएको हुँ । म आईजीपी हुने देखेपछि केही दलालहरुले धेरै कोकोहोला मच्चाए, जुन ठूलो लगानीमा तयार भएको र व्यवस्थित थियो ।

महत्वपूर्ण नेताहरुलाई के ब्रिफिङ गरियो भने मैले शेरबहादुरलाई २५ करोड रुपैयाँ दिएँ र चुनाव जिताउने ग्यारेन्टी पनि लिएको छु । मेरो जीवनकालमा आजपर्यन्त २५ करोड होइन, २५ पैसा शेरबहादुरलाई दिएको छैन । म धनगढीले डीआईजी हुँदा एक दिन खाना खुवाएको छु । छोरीको बिहेमा आउनु भएको थियो । यसबाहेक उहाँलाई मात्र होइन, नातागोतालाई पनि पैसा दिएको छैन ।

कस्तो गज्जब, आफैं साक्षी बसेर गनेको जस्तो । न मैले दिएको कसैले देखेको हो, न कसैले गनेको हो । तर, त्यही कथालाई आफ्नो फर्मामा ढालेर प्रचार गरे, पत्याउनेहरुले पत्याए । तर, यो देशमा अलिकति पनि पशुपतिको अस्तित्व छ भने सत्य एक दिन बाहिर आउँछ । म यसमा ढुक्क छु ।

दोस्रो कुरा, आईजीपी, सेनामा नियुक्तिका लागि कमसेकम शेरबहादुरले पैसा खाँदैन । यस्ता घीनलाग्दा अरु नेता होलान् तर, शेरबहादुर देउवा होइन भन्ने मेरो विश्वास छ । यो नितान्त झुट, कपोलकल्पित र गठहरुले लगाएको आरोप हो ।

शेरबहादुर देउवाको प्रसंग आएपछि हामीले चन्दसँग केही प्रश्नोत्तर गर्‍यौं ।

त्यो झुटो आरोप मात्रै थियो भने तपाई मात्र होइन, देउवाले समेत किन चिर्न सकेनन् त ?

एउटा विशाल जमात तयार गरियो, जो पैसाले परिचालित थिए । उनीहरुले अहिले सत्तासीनहरुले यसरी कन्भिस गरे कि जयबहादुर चन्द प्रहरी महानिरीक्षक भयो भने कांग्रेसले देशब्यापी चुनाव स्वीप गर्छ, तिमीहरुलाई सिध्याउँछ । २५ करोड पनि दिएको छ, अब लुटतन्त्र मच्याउँछ भनेर यति राम्रोसँग म्यानुपुलेट गरियो कि यसरी देश बनाउने सोचेको भए हामीले तरक्की गरिसक्थ्यौं ।

तर, कसैले भनेका भरमा मात्रै नेताहरुले सजिलै पत्याएका होलान् र ?

पत्याउँछन् त । तपाईले कसलाई भयंकर विवेकशील नेताहरु देख्नुभएको छ ? सालाले के भन्यो, सालीले के भन्यो, स्वास्नीले के भन्यो, पीएले के भन्यो, नमस्ते गर्नेले के भन्यो, त्यही पत्याउने नेताहरु छन् । आफ्नो विवेक प्रयोग गर्ने, चिन्तनमनन गर्ने कुन नेता छ मलाई बताउनुस् त ? त्यस्तो नेता हुन्थ्यो भने तपाई हाम्रो दिन यो हुन्थ्यो र ? त्यस्तो नेता नहुनु नै दुर्भाग्य हो ।

तपाईलाई देउवासँगै चाहिँ किन जोडे होलान् ?

शेरबहादुर देउवाले जयबहादुर हुनुपर्छ भन्नुभयो । जयबहादुर हुनुपर्छ भनेपछि उहाँ ब्याक हुनुभएन । त्यो उहाँको डिसाइसिभनेश हो । नेता एक चोटी बोलेपछि बोल्यो ।

देउवाले पनि जयबहादुर नै हुनुपर्छ किन भन्नुपर्‍यो ?

उहाँ सत्तारुढ पार्टीको सभापति हो । रुलिङ पार्टीको सभापति सरकारमा आईजीपी नियुक्तिमा उदासिन हुनसक्नुहुन्छ र ? उहाँले चासो राख्नु स्वाभाविक हो ।

प्रहरीमा अति नै धेरै राजनीतिकरण गरियो, त्यही कारण यो नियति भोग्नुपर्‍यो भन्ने लाग्दैन ?

अनावश्यक राजनीतिकरण होइन, मिडियाबाजी चाहीँ धेरै भयो । शायद यति कहिल्यै नहोला, यो पक्का हो । मेरो सपोर्ट र विरोधमा पनि त्यतिकै भयो, नवराजजीको सपोर्ट र विरोधमा पनि त्यतिकै भयो । त्यसैले मिडिया र अस्वभाविक रुपमा मुद्दाको प्रक्रियाले तरंग आएको हो ।

हामी डीआईजी हुँदा मुद्दा परेको थियो । कल्याण श्रेष्ठ र सुशीला कार्की आफैंले नै फैसला गर्नुभएको छ, जेष्ठता मात्र बढुवाको आधार हुन सक्दैन । दस्तावेज जिन्दा छ अझै । तर, त्यही मुद्दालाई लिएर उहाँ अगाडि बढ्नुभयो । तपाई रिमार्टले चल्नुहुन्छ भने कतिबेला चल्नुहुन्छ, कतिबेला बन्द हुन्छ के ठेगान भयो र ?

अनि अदालतको आदेशले आईजीपी बनाउन नपाएपछि तत्कालीन प्रधानमन्त्री प्रचण्डले चाहिँ तपाईलाई के भन्नुभयो ?

सबै अचम्ममा पर्नुभयो । त्यसताका बहुलठि्ठपनको सीमा नाघेको अवस्था थियो । उहाँहरुविरुद्ध पनि मुद्दा थियो । के ठेगान, एक वर्ष राजनीतिमा प्रतिवन्ध पो लाइदिने हो कि ? एक रुपैयाँ जरिवाना पो गर्ने हो कि भनेर (प्रधानमन्त्री प्रचण्ड) आफैं त्रसित हुनुभयो ।

यति कुराकानीपछि गरिसकेपछि हामीसँग चन्दले केही खुद्रा मसिना कुराहरुको पनि सविस्तार चर्चा गरे । उनले अब आफू चुपलागेर नबस्ने भन्दै राजनीतिमा आउने संकेतसमेत गरे-

मिलाउँछौं आएका थिए, मैले इन्कार गरेँ

मसँग सम्वन्ध भएका मानिसहरु पनि आर्थिक स्रोत खोजिरहेका थिए । म दिन सक्ने हैसियतको मान्छे होइन । साथीभाइसँग उठबस हुन्छ, सूचना आदान-प्रदान हुनसक्छ तर, त मसँग लुटेको राखेको धन त छैन । कसैले त्यो स्वार्थ देखेनन् । कसलाई तीन नम्बरको यो हुँदैन भन्ने लागेर मप्रति विकर्षण भयो ।

हामी मिलाउँछौं भन्दै एक जना आएका पनि निए । कनेक्सन भएको मान्छे जस्तो लाग्छ ।

तर, मैले पैसा खर्च गरेर मुद्दा जित्नु र आईजीपी हुनुछैन भनेर मैले इन्कार गरेँ । म योजनावद्ध दलालहरु परिचालन गरेर आईजीपी हुनुभन्दा नहुनु जाति मान्छु किनभने आईजीपी भएपछि उनीहरुको भारी थेप्न सकिँदैन । सरुवा वढुवा उनीहरुको घरघरमा हुन्छ । सरुवा वढुवा र ठेक्कापट्टाको दोकान खोल्थे ।

सिलवालदेखि अर्यालसम्म

नवराज सिलवालविरुद्ध परेको उजुरबाजुरका विषयमा यसबेलाका आईजीपी उपेन्द्रकान्त अर्याललाई भन्दा छानविन हुन्छ, तपाईहरु चुप लाग्नुस् भन्नु भएको थियो । हाम्रो एउटै भनाइ थियो, नेपाली जनताको आईजीपी हुने व्यक्ति चारित्रिक रुपमा शुद्ध हुनुपर्छ, निश्कलंक हुनुपर्छ ।

मैले अर्याललाई उहाँकै भनेको थिएँ, आईजीपीको प्रर्तिपर्धी भएर भनेको होइन । सीतालाई आरोप लागेपछि रामले अग्नि परीक्षा दिए । हाम्रो प्रहरी महानिरीक्षकलाई आरोप लागेपछि त्यसको अग्नि परीक्षा गरिनुपर्छ । शुद्ध अशुद्ध प्रमाणित हुनुपर्छ ।

तपाईको टेबलमा यस्ता यस्ता गम्भीर आरोपका उजुरीहरु छन्, यसको छानविन अगाडि बढाउनु भएन भने यसको पाप तपाईलाई पनि लाग्छ भनेर मैले उपेन्द्रकान्त अर्याललाई भनेको थिएँ । अहिले पनि उहाँ हुनुहुन्छ, सोध्नु भए हुन्छ ।

एकपटक दीपक थापाको नेतृत्वमा छानविन समिति पनि बन्यो । त्यसले दोषी ठहर गरायो तर, उपेन्द्रकान्त अर्यालले कारबाही अगाडि बढाउनु भएन । पछि रिटायर भएपछि तपाईले अनुसन्धान नगरेकाले नेपालले यो नियति भोग्नुपर्‍यो भनेँ । उहाँले लोकमान रोकाएको हो, मैले के गर्ने चन्दजी भन्नुभयो ।

लोकमानले भनेको हो होइन थाहा भएन तर, रोकाएको हो भने उपेन्द्रले सकेन, ठीकै हो ।

पुरानो साथी, पुरानै ‘दुश्मनी’

नवराज सिलवालसँग मेरो सामान्य साथीहरु भन्दा धेरै निकटको सम्बन्ध हो । एसपी हुँदासम्म ठीकै थियो । तर, जब हनुमान ढोकामा जान लडाइँ भयो, त्यही बेलादेखि उसले मलाई दह्रो प्रतिस्पर्धी ठान्न थाल्यो र मेराविरुद्ध लागे ।

हनुमानढोकामा जान म प्रवल दावेदार थिएँ । जान चाहिँ उ गयो । त्यही बेलादेखि उनले मेरो प्रतिस्पर्धी उही हो भनेर उनले साथीहरुलाई भनेको म कहाँ आएको थियो । आईजीपी प्रकरणपछि हाम्रो भेट भएको छैन । अँ, उनी सांसद भएपछि मैले फोनबाट बधाइ दिएँ ।

अन्याय भयो, श्राप दिन्छु

मलाई भयंकर ठूलो अन्याय भएको छ । यो चिरकालसम्म कुनै व्यक्तिलाई अन्यायको दृष्टान्तको रुपमा रहन्छ ।

मैले नेपाली जनताको सेवा गरेको छु, दुःख कष्टमा साथ दिएको छु । भगवान पशुपतिनाथले थोरै पनि यो मान्छे ठीक हो भन्ने ठान्दछ भने म श्राप दिन्छु । अन्यायीहरुको अन्त्य दुःखदायी हुन्छ । म आफ्नो आँखाले देख्छु, यो मेरो विश्वास हो ।
दुनियाँलाई थाहा छ, मविरुद्ध गेम प्लानअनुसार एक्सन भएको थियो । त्यसैले आईजीपी प्रकरणबाट सिक्नु पर्ने केही छैन । सिक्नु पर्ने एउटै छ, यस्तो पनि हुँदोरहेछ यो देशमा । निर्णय नहुँदै मुद्दा दर्ता हुने मुलुक नेपाल हो भन्ने थाहा भयो, मान्छेहरुले अचम्म माने, जिब्रो टोके । विवेकहीन मान्छेहरु निर्णय लिने ठाउँमा भएपछि कसको के लाग्छ रहेछ र Û

मेरो पनि बाटो खुला छ

इज्जत सबैभन्दा ठूलो कुरा हो । राजीतिकर्मी, मन्त्री, सांसदहरुलाई जनताले कति इज्जत दिएका छन् ? एकदमै लोभलाग्दो केही छैन ।

नेपाली जनताको दुःख, पीडा जहाँको त्यही छ, जसले पीडा निवारण गर्नु पर्ने हो, तिनीहरुको भूमिका नकारात्मक छ । जब त्यो पदको सम्मान हुँदैन, मलाई इश्र्या हुनुपर्ने के छ र ? फेरि त्यो पद भोलिका दिनमा मेरो पनि सुरक्षित छ ।

जनताले चाहेका दिन, बोलाएको दिन त्यो बाटो लिनुपर्‍यो भने अधर्मको राजनीति म गर्दिनँ ।

चुप लागेर बस्दिनँ

अवकाश पाउनासाथ चुप लाग्ने त प्रश्न आउँदैन । भर्खर सचेतना नेपाल नामक संस्था दर्ता गरेको छौं । यसमा रहेर एक डेढ वर्ष सामाजिक कामहरु गर्छु । त्यसपछि राजनीतिमा आउँछु । म जत्तिको मान्छेलाई राजनीतिक पार्टीले नलिने भन्ने पनि हुन्छ र ! कांग्रेस, एमालेकै नेताहरु पनि आएका थिए ।

विप्लवका नेताहरु पनि आए, राप्रपाका नेताहरुले पनि आउनु भएका छन् । तर, कुन पार्टीमा जाने भन्ने मेरो मनमा छ, व्यक्त गर्दिनँ । जुन पार्टीमा गएपछि नेपाली जनताको मुहार हसाउने गरी काम गर्छु । गुटबन्दी गर्दिनँ, आफू र आफ्नो कोटरीको हितका लागि काम गर्ने छैन, यो चाहिँ पक्का हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment