Comments Add Comment

गर्मी बढ्यो, स्विमिङ पुल बढेनन् !


५ साउन, विराटनगर । साउन महिनामा पर्याप्त पानी नपरेका कारण पूर्वी तराईमा ४० डिग्री आसपास गर्मी बढेको छ । अधिक गर्मी बढेका कारण पूर्वीशहरका स्विमिङ पुलमा मानिसहरुको भीड लाग्न थालेको छ ।

गर्मीमा मोरङ र सुनसरीका केही सीमित स्विमिङ पुलहरुले राम्रो आय आर्जन गरिरहेको भएता पनि पर्याप्त पौडी पोखरीहरुको अभाव छ । भएका कतिपय पौडीस्थलहरु पनि स्वास्थ्यको दृष्टिकोणले विश्वस्त हुने खालका छैनन् ।

गर्मीमा पौडीको वयानै गर्न नसकिने मज्जा हुने भएकाले धेरै मानिसहरुको दिन कटाउने थलो स्विमिङ्ग पुललाई बनाउन थालेका छन् । कतिपय युवा साँझ परेपछि दुई घण्टासम्म स्विमिङ खेल्ने गरेको बताउँछन् ।

बढ्दो गर्मीका कारण पौडी पारखी बनेर तीन बर्षका बालकदेखि ६० बर्षीय जेष्ठ नागरिकसम्मलाई एउटै स्विमिङ्ग पुलमा भेट्न सकिन्छ । कतिपयले पौडी शौख र फेसनजस्तो बन्दै गएको अनुभूति सुनाउने गरेका छन् । कोही एकपटकका लागि भनेर पौडी खेल्न गएकाहरु पनि पौडीका अम्मली बनेका छन् ।

‘गर्मीमा एक दिन पौडी खेलिएन भने मलाई छटपटी हुन्छ, रातमा निद्रा नपरेजस्तो अनुभव हुने गरेको छ’ बिराटनगर शान्तिचौकका गोपाल कार्कीले आफूलाई लागेको लत सुनाए ।

त्यस्तै बिराटनगर महानगरपालिका ७ का रोशन आचार्यले केही दिनयता बढेको गर्मी छल्न स्विमिङ्गको साहारा लिँदै आएका छन् । उनी भन्छन् ‘यो उर्खरमलो गर्मीको सिजनमा पौडी जीवनको दैनिकी बनेको छ ।’ आर्चायले पौडी गर्मी छल्ने उपाय मात्रै नभएर शरीरलाई स्वस्थ्य राख्ने माध्यमसमेतका भएको बताए ।

बिराटनगरकै उत्तम श्रेष्ठले अत्यधिक गर्मी बढेसँगै केही दिनदेखि नियमितरुपमा साँझ परेपछि दुई घण्टा स्विमिङ्गमा मज्जा लिने गरेको बताए । घाम भएका बेला स्विमिङ्ग गर्‍याे भने छालालाई असर गर्ने भएकाले साँझतिर नियमितरुपमा स्विमिङ्गमा जाने गरेको उत्तम बताउँछन् ।

त्यसैगरी बिराटनगरकै बासिन्दा नविन्द्रा केसी र शर्मिला आचार्य पनि जलक्रिडाको आनन्द लिन फन एण्ड फट भिलेज रिसोटमा पुग्ने गरेका छन ।

युवायुवतीको जमात इटहरीमा रहेको ओसिन पार्कको स्विमिङ्गमा जम्ने गरेका छन् । इटहरीको गोकर्ण रिसोर्टका साथै बिराटनगरको फन एण्ड फुट भिलेज रिसोर्ट, होटल जनियल तथा सेन्ट जोसेफमा रहेको स्विमिङ्ग पुलमा भीड लाग्ने गरेको छ ।

कतिपय होटल र सुविधासम्पन्न रेस्टुरेन्टहरुमा पौडी पोखरी अनिवार्यजस्तै हुन थालेको छ । त्यहाँ ३ महिने, ५ महिने र एक बर्षे सदस्य शुल्क लिएर प्याकेजका आधारमा पौडी खेलाउने गरिएको छ । त्यहाँ बेला–बेलामा हुने पौडी प्रतियोगिताले पनि पौडीलाई लोकप्रिय बनाउन मद्दत गरिरहेको छ ।

बिराटनगरको हाटखोलामा रहेको फन एण्ड फट भिलेज रिसोर्टमा पौडीमा रमाउने ४ वर्ष बालबालिकादेखि ५० वर्षसम्मका भेटिन्छन् । फन एण्ड फुट भिलेज रिसोर्टको स्विमिङ्ग पुलमा एक महिनाका लागि ४५ सय रुपैँयाँ बुझाउनुपर्ने हुन्छ । यस्तै दैनिकीमा २० बर्षमाथि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लाग्छ । २० बर्षमुनिका लागि १५० रुपैयाँ लिने गरिएको रिसोर्टका निर्देशक भूपाल राई बताउँछन् । राईका अनुसार त्यहाँ ‘दैनिक १ सय देखि २ सयजना स्विमिङ्ग खेल्न आउँछन् ।

इटहरीमा रहेको ओसियन पार्क र गोकर्ण रिसोर्ट पनि बालबालिका देखि युवाको लागि राम्रो गन्तव्य बन्न पुगको छ । यी दुबै स्विमिङ्ग पुलमा पनि गर्मी बढेपछि जलक्रिडाको आनन्द लिनेको भिड बढेको छ । दुई बिघा क्षेत्रफलमा फैलिएको पार्कभित्र झरनाको अनुभव गराउने अग्लो स्थानबाट पानीसँगै चिप्लेटी खेल्न पाइने स्पाइसी पुलजस्ता रोमाञ्चक खेलहरू खेल्न सकिन्छ । त्यहाँ वाटर गेम उपलब्ध रहेको पार्कका निर्देशक डम्बर तामाङ बताउँछन् ।

स्वास्थ्यका लागि पौडी लाभदायी मानिन्छ । तर, यसका लागि पानी स्वच्छ हुन पनि त्यत्तिकै जरुरी छ । फोहोर पानीमा पौडी खेल्नु भनेको रोगलाई निम्त्याउनु पनि हो । पूर्वी नेपालका पौडी पोखरीहरुमा भिडभाड त छ, तर एकाध निजी पौडी पोखरीबाहेक अरुमा न गतिलो व्यवस्थापन देखिन्छ, न ती सुविधासम्पन्न नै मानिन्छन् ।

सबैका लागि सुलभताको हिसाबले पौडी पोखरी छैनन् । आर्थिक लाभ लिने गरी सञ्चालनमा रहेका पोखरीले सबैलाई समेट्न सक्ने कुरै भएन । पैसा तिरेर स्विमिङ पुलमा जान नसक्नेहरु प्राकृतिक पोखरी, नहर र स्थानीय खोलानालामा पौडी खेलेर गर्मीसँग जुधिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment