Comments Add Comment

दाजुको हत्याको बदला लिन भाइ बने पेस्तोल व्यापारी !

उपत्यकामा कहाँबाट भित्रिन्छ साना हतियार ? कति पर्छ ?


५ साउन, काठमाडौं । प्रहरीले असार ३१ गते ललितपुरमा ‘बाइ एण्ड ब्रस्ट’ अप्रेशन चलाएर तीनजना हतियार कारोबारीलाई पक्राउ गर्‍याे । यो गिरफ्तारीसँगै प्रहरीले काठमाडौंमा भित्रिने साना हतियारबारे नयाँ तथ्य फेला पारेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्वमा गएको टोलीले ललितपुरको नख्खीपोटमा पक्राउ गरेका व्यक्तिहरुको साथबाट एउटा लोडेड पेस्तोल र दुईवटा म्यागजिन बरामद गरेको थियो ।

घटनास्थल ललितपुरमा भएकाले काठमाडौं प्रहरीले पक्राउ परेका हेमराज पौडेल, कृष्णबहादुर जोगी र अँशुराम मुक्तानलाई ललितपुर प्रहरीकै जिम्मा लगाइयो । र, थप अनुसन्धानमा महानगरीय अपराध अनुसन्धान महाशाखा र प्रहरी परिसर, ललितपुर जुट्यो ।

स्रोतका अनुसार त्यसअघि उपत्यका प्रहरीका दुई निकाय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसर दुवैले ती हतियार कारोबारीमाथि निगरानी बढाएका थिए । अन्ततः परिसरको टोली उनीहरुलाई हतियारसहित पक्राउ गर्न सफल भयो ।

दोस्रो लेयरमा थिए मुख्य कारोबारी

पक्राउ परेका ३ जनाको वयान लिएर अपराध महाशाखा र ललितपुर प्रहरीले हतियार कारोबारीको माथिल्लो लेयरको केस्राकेस्रा केलाउन थाले । त्यसक्रममा ललितपुरमा समातिएकाहरु हतियार कारोबारमा विक्रेता र खरिदकर्ताबीचका मतियार मात्रै भएको खुल्यो ।

हाल काठमाडौंमा कटुवा पेस्तोल १५ देखि २० हजार रुपैयाँ, सिक्सर ५० देखि ६० हजार रुपैयाँ र अन्य आधुनिक पेस्तोल एक लाख रुपैयाँसम्मको रेटमा कारोबार हुन्छ

‘उनीहरु हतियार कारोबार गर्ने समूहको नाइके र खरिदकर्ताबीच मध्यस्थकर्ताको रुपमा मात्रै रहेको अनुसन्धानको क्रममा खुल्यो’, ललितपुर प्रहरी स्रोत भन्छ, ‘उनीहरुले दुई पक्षबीच डिलिङ गरेर कमिशन लिने गरेका रहेछन् ।’

उनीहरुबाट प्रारम्भिक अनुसन्धानपछि एउटा साझा नाम निस्कियो–रोशन लिम्बु । उनी ललितपुर–१५, खुमलटारमा बस्दै आएका थिए ।

यद्यपि, रोशनले हतियार कारोबार गर्नका लागि वडा नं. १४ स्थित तीखेदेवलमा कोठा भाडामा लिएको खुल्यो ।

भोलिपल्ट ३२ असारमा प्रहरीले तिखेदेवलस्थित लिम्बुको डेरामा सर्च अप्रेशन चलायो । त्यसक्रममा ४५ वर्षीय लिम्बुसहित नुवाकोटको दाङसिङ घर भई हाल ललितपुरको मंगलबजार बस्दै आएका ३८ वर्षीय रामचन्द्र अधिकारीसमेत पक्राउ परे ।

प्रहरीले बरामद गरेको हतियार ।

उनीहरुका साथबाट ठूलो परिणाममा हतियार पनि बरामद भयो । ललितपुर प्रहरी प्रमुख एसएसपी गणेश ऐरका अनुसार उनीहरुका साथबाट दुईवटा पेस्तोल, त्यसमा लाग्ने तीनवटा म्यागजिन, ५६ राउण्ड गोली, दुईवटा तरवार, २ खुकुरी र ६ वटा चक्कु बरामद भयो ।

अनुसन्धानका क्रममा लिम्बु मुख्य हतियार कारोबारी भएको खुलेको ऐरको भनाइ छ ।

दाजुको हत्याको बदला लिन हतियार कारोबारी

प्रहरीका अनुसार तीखेदेवलस्थित डेरामा साना हतियारको ‘डिलर’ नै खोलेका थिए, लिम्बुले । उनले विभिन्न व्यक्तिहरुलाई भाडामा समेत हतियार दिने गरेका थिए ।

‘विश्वासिलो मान्छेलाई उनले ५० हजार रुपैयाँसम्म लिएर निश्चित समयका लागि हतियार भाडा दिने गरेका थिए’, प्रहरी स्रोत भन्छ ।

राजु गोर्खाली

प्रहरीको स्ट्रिङ अप्रेशनमा पक्राउ परेका कारोबारीमध्येका नाइके लिम्बु अपराध दुनियाँमा चिनिएका नाम थिएनन् । तर, गुन्डा नाइके राजेन्द्रबहादुर गोर्खालीउर्फ राजु गोर्खाली जोडिएको एउटा घटनाबाट उनको जीवनमा आपराधिक मोड आएको देखिएको छ ।

प्रहरी स्रोतका अनुसार रोशन ०५८ सालमा सुन्धारास्थित बेबी लोन डिस्कोमा मारिएका राजेश लिम्बुका भाइ हुन् । त्यसबेला राजु गोर्खालीले तरवार प्रहार गरेर राजेशको हत्या गरेका थिए ।

त्यस प्रकरणमा गोर्खालीले १० वर्ष कैद भुक्तान गरिसकेका छन् । तर, रोशनले भने दाजुको हत्याको बदला लिन खोज्ने क्रममा हतियार कारोबारी बनेको स्रोतको दाबी छ ।

‘उनी दाजुको हत्या गर्ने गोर्खालीसँग बदला लिन चाहन्थे’, स्रोत भन्छ, ‘त्यसैले उनले भारतको सिलगुडीमा गएर ५ वटा पेस्तोल खरिद गरेका थिए ।’ त्यसपछि उनी गोर्खालीसँग बदला लिने समयको प्रतीक्षा गरिरहेका थिए ।

आर्थिक वर्ष ०७४/०७५ मा काठमाडौं प्रहरी परिसरले १८ वटा हातहतियार तथा खरखजना मुद्दा चलाएको प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल बताउँछन्

रोशनले ल्याएका ५ वटा हतियारमध्ये दुईवटा वीरेन्द्र महर्जनलाई बेचेका थिए । जुन हतियार ०७१ सालमा प्रहरीले बरामद गरेको थियो ।

‘पहिलोपटक हतियार बिक्री गरेसँगै त्यसबाट हुने फाइदाका बारेमा राम्रो जानकारी पाएपछि उनले हतियार कारोबार गर्न थालेको देखिन्छ’, प्रहरी स्रोत भन्छ– ‘हतियार कारोबारसँगै अहिले पनि गोर्खालीसँग बदला लिने उपयुक्त समयको प्रतिक्षामै थिए, रोशन ।’

स्रोतका अनुसार उनले ललितपुर प्रहरीका अधिकारीसमक्ष गोर्खालीसँग बदला लिन हतियार खरिद गरेको स्वीकार गरिसकेका छन् ।

कहाँबाट आउँछ हतियार ?

पूर्वको सिलगढीका साथै सुनौली र वीरगञ्जको मोतिहारी नाकाबाट पनि नेपालमा हतियार भित्र्याउने गरेको देखिन्छ

प्रहरीका अनुसार रोशनले पूर्वी नाका काँकभिट्टा पारि भारतीय बजार सिलगुडीबाट नेपालमा हतियार ल्याउने गरेका थिए ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार नेपालमा हतियार आउने मुख्य पोइन्ट भारत नै हो ।

‘पूर्वको सिलगढीका साथै सुनौली र वीरगञ्जको मोतिहारी नाकाबाट पनि नेपालमा हतियार भित्र्याउने गरेको देखिन्छ’, सिंहले अनलाइनखबरसँग भने, ‘तर, पछिल्लो समय नेपालमा पहिल्यैदेखि स्टक रहेका साना हतियारको खेलोफड्को भइरहेको देखिन्छ ।’

सिंहका अनुसार केही वर्षअघि भित्र्याइएका हतियार र द्वन्द्वकालमा माओवादीले लुटेका हतियार अझै पनि उपत्यकामा छन् । ती हतियारको खोजीलाई तीब्र बनाइएको उनको भनाइ छ ।

‘साना हतियारको एकदमै बिगबिगी भन्ने होइन’, उनले भने, ‘तर, पहिल्यैदेखि ल्याएर लुकाइएका हतियार एक्सप्लोर गर्ने हाम्रो अभियान हो ।’

गुण्डागर्दी नियन्त्रण गर्न चलाइएको अभियानको प्रतिफलस्वरुप आर्थिक वर्ष ०७४/०७५ मा काठमाडौं प्रहरी परिसरले १८ वटा हातहतियार तथा खरखजना मुद्दा चलाएको प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल बताउँछन् ।

हतियारको मूल्य कति ?

प्रहरीले समय–समय बरामद गर्ने पेस्तोलमा ‘मेड इन जर्मन’, ‘मेड इन यूएस’… लगायत लेखिएको भेटिने गरे पनि ती पेस्तोल भारतमा नै बन्ने गरेको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेती बताउँछन् ।

‘कतिपय अवस्थामा भारततर्फका नागरिकसँगको प्रत्यक्ष डिलिङ त कतिपय अवस्थामा सीमामा बस्ने नेपालीको मिलेमतोमा हतियार नेपालका अपराधीको हातसम्म पुग्ने गरेको अनुसन्धानले देखाउँछ’, उप्रेतीले अनलाइनखबरसँग भने, ‘त्यसरी नेपाल सप्लाई गरिने हतियारहरुमा पेस्तोल, रिभल्वरलगायत छन् ।’

हाल काठमाडौंमा कटुवा पेस्तोल १५ देखि २० हजार रुपैयाँ, सिक्सर ५० देखि ६० हजार रुपैयाँ र अन्य आधुनिक पेस्तोल एक लाख रुपैयाँसम्मको रेटमा कारोबार हुन्छ

प्रहरी स्रोतका अनुसार पछिल्लो अप्रेशनमा पक्राउ परेका रोशनले १५ हजार भारुदेखि २० हजारसम्म तिरेर नेपालमा पेस्तोल ल्याउने गरेका थिए ।

प्रहरी विज्ञ एवं लामो समय अपराध अनुसन्धानमा खटिएका नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीका अनुसार भारतको मुगर, बिहार लगायतका ठाउँमा उत्पादन हुने हतियार नेपालसम्म आउने गरेको देखिन्छ ।

‘पेस्तोल, कट्टा, १२ बोर, ९ एमएम पेस्तोल, पोइन्ट ३८ लगायत भारतबाटै सप्लाइ हुने गरेको देखिन्छ’, ठकुरीले अनलाइनखबरसँग भने, ‘यसको नियन्त्रणका लागि सर्वप्रथम सीमानाकामा हुने चेकजाँचमा कडाइ गरिनुपर्छ ।’

प्रहरीको रेकर्ड अनुसार काठमाडौंमा साना हतियारको सबैभन्दा बढी कारोबार हुने ठाउँ ठमेल हो ।

स्रोतका अनुसार हाल काठमाडौंमा कटुवा पेस्तोल १५ देखि २० हजार रुपैयाँ, सिक्सर ५० देखि ६० हजार रुपैयाँ र अन्य आधुनिक पेस्तोल एक लाख रुपैयाँसम्मको रेटमा कारोबार हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment