Comments Add Comment

जीवन हो घामछायाँ ! प्वाल परेको मादल र भ्यागा बोन्ड

जुन गीत श्यामसुङले जन्माए, अमृतले गाउँदा हिट भयो


५ साउन, पोखरा । अनुहारमा तन्नेरी रङ देखिए पनि ४७ वर्षे उमेरको लौरो टेकेका उनलाई एक्लो बाँच्नुपर्ला भन्ने कल्पनासम्म थिएन । तर सबथोक पाएर पनि एक्लो छन्, अहिले । जो कहिल्यै हरेस् खान हुँदैन भनिरहे । कामको जलपले नाम चम्काउँछ भन्दै लागिरहे । उनै अहिले उत्रिएका छन् डिप्रेसनका गोलीहरु निलेर ।

जीवनमा कस्ता समस्या आउँछन्, पैसाले निम्त्याउने दुर्भाग्य कस्तो हुन्छ ? आफ्नै केही स्वाभाव र बानीहरु आफ्नै लागि कसरी घातक हुन्छन् ? मान्छे कसरी डिप्रेसनको सिकार हुन्छ र कसरी फेरि लयको बाटोमा हिँडाउन सकिन्छ भन्ने उदाहरण हुन्, पोखराका संगीतकर्मी श्यामसुङ तामाङ ।

गीतसंगीतमय जीवनलाई श्यामसुङ गडगिफ्ट मान्छन् । पोखरा–१ बगरमा जन्मेका तामाङको घरमा पुरानो प्वाल परेको मादल रहेछ । ६/७ वर्षकै उमेरमा त्यही मादल ठोकेर बस्थे श्यामसुङ । संगीतका पारखी भेनाबाट प्रभावित श्यामसुङ गितार बजाउन पनि आफैं सिके । बारीको छेऊमा बसेर मादल बजाउने भेनाबाट सिको गर्दै उनी मादल ठोकेर हुर्के । जति उनले मादल ठोकेर गीतसंगीतमा लागे, नियतिले भने उनीमाथि हम्मर ठोकिरह्यो ।

प्वाल परेको मादल र भ्यागा बोन्ड

गितार बजाउँदा फुटाइदिने धम्की दिँदा रहेछन् बाले । तर, उनको उठबस नै संगीतमा रमाएकासँग भएपछि कसैको केही जोर चलेन । उनी र उनका साथीहरु अंग्रेजी चक्का किनेर सुन्थे । त्यसैबाट कसैले गितार बजाउँथे, कसैले ड्रम त कसैले गाउँथे । समयको गति रोकिने कुरा भएन, उनीहरु पनि रोकिएनन् । गणेश क्षेत्री, पप्पु, राज गुरुङ, रमेश गुरुङ, केशव गुरुङ र उनी मिलेर एउटा सांगीतिक ब्यान्डलाई जन्म दिए । जसको नाम राखे, भ्यागा बोन्ड । जुन पोखराकै दोस्रो ब्यान्डको रुपमा उदाएको दाबी उनको छ । त्योभन्दा अगाडि जन्मेको यङ टाइगर हो । जसको नेतृत्व पृथ्वीमान गुरुङले गर्थे ।

‘ब्यान्डको जन्म दिएर कार्यक्रम गर्न थाल्यौं । अरुका गीत गाउने, अभ्यास गर्ने गथ्र्याैं,’ श्यामसुङले भने, ‘आफ्नै गीत बनाउनुपर्छ भन्ने लागेर आफैं गीत लेखेर गाउन थाल्यौं ।’ त्यही समय थियो, जतिबेला पोखरामा भटाभट सांगीतिक ब्यान्ड जन्मिन थाले ।

फुर्सदको सांगीतिक कर्मले मात्रै जीवन सुरक्षित नहुने भए पछि ब्यान्डका साथी पलायन भए । ब्यान्ड बन्द भयो । तर, उनले सांगीतिक कर्म निरन्तर गरिरहे । अहिलेसम्म झन्डै १ सय ५० जति गीत लेखेका छन् । ३०/३५ वटा गीतमा संगीत र आवाज छ । केही उनका गीत रेकर्ड भएर पनि बजारमा आउन पाएनन् । केही गीत कापीमै थन्किएका छन् ।

यसरी जन्म्यो र हिट बन्यो जीवन हो घामछाँया

एकदिन घरको छतमा बसेर हिमाल हेर्दै श्यामसुङले मनमनै सोचे, ‘म यस्तो गीत लेख्छु जुन गीत सधैँ बाँचिरहोस् ।’ एउटा गीत फुर्‍याे–

जीवन हो घाम छायाँ, सुखदुख दुवै हुन्छ

जीवन हो बिना माया छटपटी तड्पन हुन्छ

समय चक्रमा घुमिरहने घडीको तार हो कि

नशामा झुमिरहने कुनै मुल हो कि

हाँसीहाँसी बाँचिदिन्छ, खुसीमा नाचिदिन्छ

यही हो कि यसको बानी

यो जिन्दगानी, यो जिन्दगानी

उनले आफैं गुनगुनाए । धुन पनि निकाले । ब्यान्डका साथीभाइलाई सुनाए । सबैले मन पराए । उनीहरुको भ्यागा बोन्ड ब्यान्डले पहिलो पटक लामाचौरको गण्डकी बोर्डिङ स्कुलमा कार्यक्रम गर्‍याे । धेरैले गीत मन पराए । फर्माइस गरे । गीत दोहोर्‍याएर गाउनुपर्‍याे । दोस्रो कार्यक्रम भयो सभागृहमा । सभागृहमा माथिल्लो हल गण्डकी बोर्डिङकै विद्यार्थीले भरियो । यो गीत धेरैले मन पराए । यो गीत धेरै मागे । त्यसमा एकजना थिए, नेपथ्यका अमृत गुरुङ ।

उनले सुरुमा कसैलाई गीत दिएनन् । यत्तिकैमा ४/५ वर्ष बित्यो । ‘फेरि पनि नेपथ्यका अमृतले मागेपछि अरुलाई दिनुभन्दा उनैलाई दिन्छु भनेर मैले गीत दिएँ,’ श्यामसुङले भने, ‘गीत पहिलेको भन्दा पनि हिट भयो ।’

जब नेपथ्यका अमृतले यो गीत गाए, गीत नेपथ्यकै बन्यो । मान्छेले उनलाई बिर्से, नेपथ्यलाई चिने । अमृत गुरुङ छाप नेपाली संगीत क्षेत्रमा अमिट छ । यो गीत सुन्नेबित्तिकै मान्छेले नेपथ्यको चित्र आइहाल्छ । आफ्नो नाम त्यति नआए पनि आफुले लेखेको गीत नै हिट हुँदा उनलाई उति सुर्ता भने छैन ।

सबै भएर पनि एक्लो

उनले २० वर्षकै उमेरमा प्रेम विवाह गरेका रहेछन् । न आम्दानीको राम्रो स्रोत थियो न सम्पन्न परिवार थियो, उनको । ३ भाइका कान्छा श्यामसुङ भाडाको घरमा बस्थे । कर्म संगीतकै गर्थे । सांगीतिक कार्यक्रमबाट प्रशस्त पैसा आउँदैनथ्यो । १ छोरा १ छोरी भइहाले । अभाव र असमझदारीले मायाप्रेम र सम्बन्धको मृत्यु गराउन थाल्यो ।

श्यामसुङ भन्छन्, ‘पहिलो विहे गर्दा उमेर कच्चै थियो । न व्यवहार बुझेको थिएँ न जीवन चलाउन सिरियस हुनुपर्छ भन्ने बुझ्न सकेको थिएँ ।’ केही आफ्नै स्वभावजन्य कमजोरी पनि थिए, उनका ।

त्यो खटपटले सम्बन्धलाई विहेको ७ वर्षभन्दा अगाडि धकेलिदिएन । डिभोर्स भयो । उनी रन्थनिए । त्यही बेला सोमरस पिउन पनि थाले । छोराछोरीको रेखदेख र जिम्मेवारीमा सघाउन भन्दै त्यसको १ वर्षपछि अर्को बिहे गरे । त्यसपछि अर्को एक छोरा जन्मियो । ‘बुबा बितिसक्नुभएको थियो । आमाले सघाउनुहुन्थ्यो तर दोस्रो परिवारिक सम्बन्धलाई पनि अभाव र समस्याले बिथोलिदियो,’ उनले खुइय काडे । एउटै कोठामा बसेर पनि उनीहरुको मन एक भएन । एउटै मनमुटु बनाएर बाँच्न् कसम खाएका उनीहरु एकै घरभित्रको छुट्टाछुट्टै दुई कोठामा बस्नु अवस्थामा पुगे । पर्दा मुटु चिरिएजस्तै हुँदो रहेछ उनलाई । अहिले ९ वर्षदेखि उनी एक्लै छन् । उनीबाट छुट्टिएका दुवैको अन्तै विहे भइसक्यो ।

दुई वटै सम्बन्ध कसरी बिग्रियो त पक्कै पनि तपाईँमा धेरै कमजोरी थियो होला ? ‘गल्ति मसँग पनि थिए । परिवारलाई धेरै समय दिन सक्थिन । कहिलेकाहीँ पिउँथे । दायाँबाँया अरु महिलालाई हेर्ने, पछि लाग्ने बानी त थिएन, खै के कुरा मिलाउन सकिएन सकिएन ।’ उनले भने ।

हरेक पुरुष वा महिनाको सफलता–असफलताका पछाडि दुबैकोे हात हुने उनी बताउँछन् । ‘बाहिरबाट एउटा स्टान्डर्स जीवन देखिनसक्छ तर यो भित्र के बाँचिरहेको छ, के भोगिरहेको छ भन्ने देखिँदैन,’ उनले सुनाए, ‘मेरो रिस चाहिँ अलि चाँडो उठ्थ्यो । आफुले भनेजस्तो नभएपछि झनक्क हुने बानी छ ।’ भावनाले मन जित्न सकिएला तर जीवन धान्न पैसा नै चाहिने उनको तर्क छ । भन्छन्, ‘यो एड्भान्स जमानामा मेरो आर्थिक अवस्था बलियो भइदिएको भए मेरो न सम्बन्ध बिग्रन्थ्यो, न म एक्लो हुन्थेँ ।’ कोठामा दर्जनौं सम्मान र मायाको चिनो त उनीसँग छ, तर मायाले सुमसुम्याइदिने औंलाहरु छैनन् ।

ब्युझिँएर हेर्दा जीवन

निरन्तर लागिरहन सक्यौं तर रेसमा भाग लिन्न भन्ने उनको अठोट रहेछ । थुप्रै अवसरहरु आए, गए । कार्यक्रमकै शिलशिलामा देशविदेश घुमे । ‘न सेलिब्रेटी बन्न कहिल्यै सकियो, न चहाना भयो न मोजमस्ती गरौं भन्ने चाहेँ,’ उनले भने । पैसा कमाएर पनि बचाउन नसकेपछि उनी अहिले पनि भाडाकै घरमा छन् । ‘दुवै पटक घरबार बिग्रियो, आमा हुनुहुन्थ्यो, बित्नुभयो । छोराछोरीले राम्रो वातावरण पाएनन्, उमेर घर्कँदै गयो तर समस्या र अभाव उकालैउकालो लागिरह्यो,’ उनले भने, ‘दुई वर्ष त म डिप्रेसनमै गुज्रेँ । औषधी नै खानुपर्‍याे ।

सबैले चिताएको पुग्यो भने त्यो जीवन के जीवन भन्ने उनको दिमागमा खेल्न थोलेपछि मनले त्यही समस्यालाई अवसर ठान्यो । ‘मन त बुझाउनैपर्छ । मैले जे भोगिरहेको छु त्यो एउटा जीवन बुझ्ने अवसर हो । जे छैन त्यही खोज्यो भने जीवन त झन दुर्घटनामा पर्छ भन्ने मेरो चेत खुल्यो,’ उनी भन्छन्, ‘यस्ता समस्या नआएको भए मैले कहाँ जीवनका यति धेरै आयामहरु सिक्न पाउँथे होला र ?’

फेरि बिहे गर्ने योजना छ कि ? ‘कहिलेकाहिँ त्यो कुरा पनि मनमा खेल्छ तर अहिलेको एक्लो जीवनमा रमाइरहेको मात्रै छैन केही योजना पनि बनाइरहेको छु । तत्काल गर्दिन केही समयपछि सोचौंला ।’ भत्री मनको आँखाले अहिले सत्कर्ममा हिँडाएको उनी बताउँछन् ।

पुख्र्यौली सम्पत्ति रथिएन । भएको पुख्र्यौली सम्पत्ति उनीहरुसम्म आइपुगेन । पढाइ बीचमै रोकिको । धेरै कलाकार विदेश पलायन हुने लहर नै चल्यो । उनलाई विदेशिने बाध्यता नआएको होइन तर मनै मानेन । बरु उनले यही सम्भावनाहरु खोज्दै गए । उनी ड्राइभिङ सिक्न काठमाडौं गए, इलेक्ट्रोनिक्स सिक्न बुटवल र फेरि पोखरा फर्केर मेकानिकल सिके । तर उनको गीतसंगीतमा बाहेक अरु कुनैमा मन रमाएन ।

उनले भने, ‘अहिले पनि मलाई गीतसंगीतकै साधनाले खानबस्न समस्या छैन ।’ उनले लामो समय विद्यालयमा संगीत शिक्षकको रुपमा काम गरेका छन् । विभिन्न सांगीतिक कार्यक्रममा निम्तो आउँछ । विभिन्न सांगीतिक प्रतियोगितामा निर्णायक बस्न बोलावट हुन्छ । पोखराका सुरुका ब्यान्ड चाखेका श्यामसुङले पछिल्लो नयाँ पुस्ताको खुबी पनि जाँचिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment