Comments Add Comment

दुई बेथितिः गल्लीमा अस्पताल, फुडल्याण्डमा मन्त्री !

अस्पतालमा अश्रुग्यास, मन्त्रीको गाडीमा ढुंगा


५ साउन, काठमाडौं । कांग्रेस र कम्युनिष्ट दुबैले आफूलाई लोकतन्त्रका प्रखर हिमायती बताउँछन् । सरकारमा कम्युनिष्टहरु छन्, सडकमा कांग्रेस छ । यिनै कांगेस र कम्युनिष्टले शनिबार बानेश्वर चोकमा गरेको दोहोरो भीडन्तमा लोकतन्त्रको उपहास गराउने खालका दुईवटा दृश्य देखिए ।

निजी होटलमा मन्त्रीको बैठक, गाडीमा ढुंगा प्रहार

शनिबार सरकारी विदाको दिन थियो । नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्ड नजिकै मन्त्रीका तीनवटा झण्डावाल स्कर्पियो गाडीहरु रोकिएका थिए । शनिबारको दिन होटल/रेष्टुरेन्टका छेउमा रोकिएका सरकारी गाडीहरु तरुण दलको निशानामा परे । आन्दोलनकारीको ढुंगा प्रहारबाट झण्डावाल सरकारी गाडी र एउटा प्राइभेट गाडीको सिसा फुट्यो ।

ताेडफोड भएका झण्डावाल गाडीहरु प्रदेश नम्बर २, ३ र ४ का सामाजिक विकास मन्त्रीका थिए । तीमध्ये एउटा प्रदेश ३ का मन्त्री युवराज दुलालको रहेको छ

शनिबारका दिन निजी होटल अगाडि तीन-तीन वटा मन्त्रीका गाडी कसरी पुगे ? यसबारे बुझ्न खोज्दा ताेडफोड भएका गाडीहरु प्रदेश नम्बर २, ३ र ४ का सामाजिक विकास मन्त्रीहरुका भएको बुझियो । सरकारी गाडीमध्ये एउटा प्रदेश ३ का मन्त्री युवराज दुलालको रहेको बुझिएको छ । सिसा फुटेको प्राइभेट गाडी भने इन्द्रेणी होटलको रहेको छ ।

मन्त्रीहरु सरकारी काम लिएर शनिबारका दिन निजी होटलमा ‘बैठक’ बसिरहेकै बेला बाहिरबाट विपक्षी कार्यकर्ताले गाडी तोडफोड गरिदिएका हुन् । मन्त्रीहरुले सरकारी अड्डामा बस्ने ठाउँ नपाएरै होटल-होटल बैठक गर्दै हिँड्नुपरेको बाध्यता पनि हुन सक्छ । तर, मन्त्रीहरुले सिंहदरबारमै बैठक गरेको भए यसरी सरकारी स्रोत र साधनको क्षति हुने थिएन ।

गाडी तोडफेडको घटनापछि हामीले प्रदेश ३ का मन्त्री दुलाललाई फोन गरेर इन्द्रेणी फुडल्याण्डमा केको मिडिङ थियो भनेर सोध्दा उनले भने- ‘म अहिले मिटिङमा छु, पछि कुरा गर्नुहोस् ।’

सरकारी सवारी साधनमा तरुण दलका कार्यकर्ताले ढुंगा प्रहार गर्नु निश्चय नै लोकतान्त्रिक कार्य होइन । तर, शनिबारका दिन त्यसरी सरकारी गाडी होटल अगाडि खडा गरिनुले सरकारी पक्षको पनि कमजोरीलाई उजागर गरेको छ । अझ बानेश्वरमा प्रदर्शन हुँदैछ भन्ने सूचना सरक्षाकर्मीलाई पक्कै थियो । मन्त्रीहरुकै सवारी साधन निशानामा पर्नुले सरकारको सुरक्षा कमजोरीसमेत प्रकट भएको छ ।

तरुण दलले मन्त्रीको गाडीमाथि ढुंगा प्रहार गरेकै छेउमा गत वर्ष तत्कालीन एमाले अखिलका युवा कार्यकर्ताले एउटा सरकारी गाडी जलाएका थिए । एमाले कार्यकर्ताले शनिबारका दिन सरकारी गाडी चलाएको भन्दै दिनदहाडै गाडीमा आगजनी गरेका थिए ।

आन्दोलनका क्रममा सरकारी वा निजी कुनै पनि सवारी साधनमाथि तोडफोड हुनु दुःखद घटना हो । यसरी भौतिक सम्पत्ति क्षति हुन नदिन आन्दोलनकारी र सरकार दुबै संयमित हुन जरुरी देखिन्छ ।

तरुण दलका कार्यकर्ताको ढुंगा प्रहारबाट एकजना वेटर घाइते भएको र सिसा फुट्नाले करिब १० लाखको क्षति भएको इन्द्रेणी फुडल्याण्डका सञ्चालक विष्णु श्रेष्ठले अनलाइनखबरलाई बताए ।

गल्लीमा अस्पताल, अस्पतालमा अश्रुग्यास


तस्वीरमै स्पष्टसँग देख्न सकिन्छ, प्रहरी र तरुणदलवीच झडप भइरहेको छेवैमा एभरेष्ट अस्पतालको बोर्ड छ । अस्पतालकै अगाडि भएको झडपमा प्रहरीले अश्रुग्यास प्रहार गर्दा ग्यास अस्पतालभित्रै पसेको प्रत्यक्षदर्शीले बताए ।

सरकार र आन्दोलनकारी दुबैले झडपस्थलमै एभरेष्ट अस्पतालको ढोका छ भन्ने पत्तै पाएनन् र अस्पतालको गेटैमा दोहोरो झडप भयो । आन्दोलनकारीहरु भागेर अस्पतालमा पस्दा त्यहाँ भीडभाड र होहल्ला भयो ।

यसरी अस्पतालको ढोकामा झडप हुनुमा तरुण दल र सरकारको मात्रै दोष देखिँदैन, अस्पताल व्यवस्थापनको पनि कमजोरी देखिन्छ । किनभने, एभरेष्ट अस्पताल सार्वजनिक चोकमै सटर खोलेर दोकान चलाएजसरी चलाइएको छ । अस्पतालजस्तो संस्था सुरक्षित ठाउँमा हुनुपर्नेमा एभरेष्ट हस्पिटलको हालत थकाली भान्साघरको जस्तै बाटामा सटर जोडिएको स्थितिमा छ ।

सरकार र विपक्षीवीचको झडपको मुख्य विषय पनि देशको चिकित्सा नीतिसँगै जोडिएको छ । तर, देशको स्वास्थ्य नीति कस्तो हुनुपर्छ भन्ने विषयमा भएको सो झडपलाई एभरेष्ट हस्पिटलको बोर्डले गिज्याइरहेको थियो । त्यो बोर्डले सरकार, कांग्रेस र हस्पिटल व्यवस्थापन तीनै पक्षलाई व्यंग्य गरेको महसुस गर्न सकिन्छ । सडकमै अस्पताल चलाउने अनुमति सरकारले नदिएको भए शनिबार अस्पतालभित्र अश्रुग्यास पस्ने थिएन कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment