Comments Add Comment

गोविन्द केसीका समर्थकः कोही दलीय, कोही ‘निर्दलीय’

एउटै सडकमा एकैचोटि दुईवटा जुलुस किन ?

५ साउन, काठमाडौं । अनसनरत डा. गोविन्द केसी कसका अभियन्ता हुन् ? कांग्रेसका ? विवेकशील साझा पार्टीका ? वा, स्वतन्त्र, आम नागरिकका ? केसीको सत्याग्रहसँगसँगै यस्ता प्रश्नहरु उठिरहेकै बेला शनिबार दिउँसो नयाँ बानेश्वरमा डा. केसीको समर्थनमा एकै समयमा दुईवटा बेग्लाबेग्लै जुलुस निस्किए ।

खासगरी डा. केसीलाई कांग्रेस र विवेकशील पार्टीले ‘क्यास’ गर्न खोजिरहेको चर्चा चलिरहेको छ । यहीबेला केसीमाथिको प्रतिस्पर्धात्मक समर्थन बानेश्वरको सडकमा शनिबार प्रष्टसँग देखियो ।

लगभग एकै ठाउँमा आयोजित कार्यक्रमका आयोजक दुईखाले थिए । एउटै सडकमा लगभग एकैचोटि दुई छुट्टाछुट्टै जुलुस निस्किए । एउटा जुलुसको आयोजक नेपाली कांग्रेसको भातृ संगठन तरुण दल थियो भने अर्काेमा नागरिक अगुवा, नयाँशक्ति र विवेकशील साझा पार्टीका नेताहरु छ्यासमिस थिए ।

कांग्रेस नेता गगन थापा पनि तरुण दलको जुलुसमा नागरिक अगुवाको कार्यक्रममा देखिए । तर, उनले भाषणचाहिँ गरेनन् ।

नयाँशक्ति, विवेकशील र नेपाली कांग्रेसले डा. केसीलाई समर्थन गर्दै आएका छन् । तर, केसीको समर्थनमा उनीहरुले एउटै जुलुस प्रदर्शन गर्न सकेनन् । यसको एउटै कारण हो, केसीलाई ‘क्यास’ गर्ने विवेकशील र कांग्रेसवीचको हानाथाप

नागरिक अगुवासँगै नयाँ पार्टी !

डा. केसीको सत्याग्रहको समर्थनमा माइतीघरबाट ‘निर्दलीय’ ब्यानरमा र्‍याली निकाल्ने पूर्वघोषित कार्यक्रम थियो । मध्यान्न १२ बजे सुरु हुने भनिएको ‘सोलिडारिटी फर डा. केसी अलायन्स’को र्‍याली केही ढिला गरी सुरु भयो ।

नागरिक अगुवाहरुको ब्यानरमा निस्किएको जुलुसमा डा. बाबुराम भट्टराई, रविन्द्र मिश्रदेखि मनिषा कोइरालासम्म सहभागी भए । करिश्मा मानान्धर पनि जुलुसमा देखिइन् ।

पूर्वप्रध्यानन्यायाधीश सुशीला कार्की, नागरिक अगुवाहरु श्याम श्रेष्ठ, केदारभक्त माथेमा, कृष्ण पहाडीका साथमा नयाँशक्तिकी नेतृ हिसिला यमी, नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडा, विवेकशील साझाका उज्वल थापालगायतको उपस्थिति थियो । चलचित्र निर्देशक यादव खरेल, चिकित्सक संघका डा. केदारनरसिंह केसी, अधिवक्ता ओमप्रकाश अर्याललगायत जुलुसमा थिए । नागरिक अगुवासँग नर्सिङ तथा चिकित्साशात्रका विद्यार्थीहरु पनि थिए ।

नागरिक अगुवाको र्‍याली वानेश्वर पुगेर कोणसभामा परिणत भयो ।

डा. केसीको समर्थनमा निस्किएको तरुण दलको र्‍याली पनि बबरमहलबाट नयाँ बानेश्वरतिर लम्किइरहेको थियो । तरुण दलको ब्यानरमा निस्केको जुलुसमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड, राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्ऽराज पाण्डे लगायत सहभागी थिए । तरुण दलको र्‍याली बिजुलीबजार पुलबाट मुल सडकमा प्रवेश गर्‍यो ।

एकातिर कोणसभा, अर्कातिर झडप

बानेश्वरमा नागरिक अगुवाको कोणसभा सुरु भयो । प्रदर्शनकारीहरु सडकमा थचक्क बसेर भाषण सुन्न थाले । कांग्रेसले भने कोणसभा गरेन, प्रहरीसँगको भिडन्तसँगै उनीहरुको कार्यक्रम सकियो ।

नागरिक अगुवा कृष्ण पहाडीले मन्तव्य सुरु गरे । तालीको फोहोरा फुट्यो । नजिकै नेविसंघका कार्यकर्ता पनि समूहमा थिए । तरुण दलको र्‍याली नजिकै थियो ।

पहाडीले सरकारका कारण देशमा अशान्ति मच्चिँदै गएको बताए । भाषणको सिलिसिला मिलाउन जान्ने पहाडी भिडलाई विस्तारै तताउन खोज्दै थिए । ‘डा. गोविन्द केसीमात्र होइन, अब हामी सामुहिक रुपमा सत्याग्रहमा बस्छौंं, सरकार लोकतन्त्र विरोधी छ । सरकारले सासनको विधि उलंघन गरेको छ । सरकार सूचनाप्रविधिमैत्री हुन सकेन । सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्ने संवैधानिक प्रवधान मिचियो । इन्टरनेटमा शुल्क बढ्यो,’ पहाडीले माइकबाट यसो भनिरहँदा तरुण दल र प्रहरीवीच झडप हुन थालिसकेको थियो ।

एक्कासी पहाडीको बोली रोकियो । उनले होहल्ला भइरहेको ठाउँतिर मुन्टो बटारेर हेरे ।

‘हाम्रो आन्दोलन शान्तिपूर्ण, नडराउनुस । नडराउनुस । बस्नुस् बस्नुस् ।’ नागरिक अगुवाहरुको कोणसभामा माइकबाट यस्तै आइरहेको थियो ।

त्यतिकैमा प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो । नागरिक अगुवाको तर्फबाट डा. केसीको समर्थनमा उत्रेकाहरुलाई पनि अश्रुग्यास लाग्यो । मनिषा कोइराला भाषणै नगरी बाहिरिइन् ।

एकातिर डा. केसीका समर्थकहरुको कोणसभा चलिरहेको थियो भने अर्कोतिर कांग्रेसले निषेधाज्ञा तोड्न खोजेपछि परिस्थिति केहीबेर तनाब ग्रस्त भयो । केही सरकारी गाडीका सिसा फुटे । दुबैतर्फ केही घाइते भए

बानेश्वर चोकनेर प्रहरीले रोक्न खोजेपछि तरुण दलका कार्यकर्ताले ढुङ्गामुढा प्रहार गरे । लगत्तै प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो । एकातिर डा. केसीका समर्थकहरुको कोणसभा चलिरहेको थियो भने अर्कोतिर कांग्रेसले निषेधाज्ञा तोड्न खोजेपछि परिस्थिति केहीबेर तनाब ग्रस्त भयो । केही सरकारी गाडीका सिसा फुटे । दुबैतर्फ केही घाइते भए ।

प्रहरीले अश्रुग्यासका साथै लाठी प्रहार गरेर प्रदर्शनकारीलाई बबरमहलसम्म लेखेटेपछि स्थिति केही सामान्य भयो । त्यतिञ्जेलसम्म सडक वरपरका केही घरहरुका सिसा फुटेका थिए ।

उता डा.केसीको समर्थनमा जारी नागरिक अगुवाहरुको सभा केहीबेर रोकिएर फेरि सुरु भयो । कृष्ण पहाडी मञ्चबाट ओर्लिइसकेका थिए । उद्घोषकले अभिनेतृ मनिषा कोइरालालाई मन्तव्यका लागि बोलाउँदै थिए । उनी आइनन् । ‘उहाँ कता हुनुहुन्छ भन्ने बुझ्ने कोसिस गरौं’ भन्दै थिए उदघोषकले ।

मनिषालाई नदेखेपछि उदघोषकले खगेन्द्र संगौलालाई मञ्चमा बोलाए । उनले पनि सरकारविरुद्ध चर्को चर्को भाषण गरे । (पढ्नुहोस् संग्रौलाको भाषण)

खगेन्द्र संग्रौलाको भाषण सकिएपछि पूर्वप्रधानन्यायाधीश शुशीला कार्की मञ्चमा चढिन् । सुशीलालाई देख्नासाथ सहभागीहरुबाट तालीको फोहोरा छुट्यो । कार्कीले माइक समाइन् र बोल्न सुरु गरिन् । तर, आवाज सुनिएन । सुरुमै उनको उनको गला बस्यो । सुनिएन !
विगतमा देउवा सरकारविरुद्ध कडारुपमा प्रस्तुत हुँदै आएकी सुशीलाले आफ्नो भाषणमा ओली सरकारको चर्को आलोचना गरिन् । (पढ्नुहोस् सुशीला कार्कीको भाषण)

केसीलाई ‘क्यास’ गर्ने होडबाजी


नागरिक समाजका अगुवाहरु, नयाँशक्ति, विवेकशील र नेपाली कांग्रेसले डा. गोविन्द केसीको मागलाई समर्थन गर्दै आएका छन् । तर, सबैको नारामा समानता भए पनि केसीको समर्थनमा उनीहरुले एउटै जुलुस प्रदर्शन गर्न सकेनन् । यसको एउटै कारण हो, गोविन्द केसीलाई ‘क्यास’ गर्ने विवेकशील साझा पार्टी र नेपाली कांग्रेसवीचको हानाथाप ।

नागरिक अगुवा सम्मिलित कार्यक्रममा मन्तव्य दिनेक्रममा सुशीला कार्की र खगेन्द्र संग्रौला दुबैले डा. केसी कुनै दलविशेषको नभएर सम्पूर्ण नेपाली जनताको प्रतिनिधि भएको बताएका थिए ।

उनीहरुले यसो भन्नुका पछाडि डा. केसी न कांग्रेस हुन्, न त विवेकशील साझा पार्टीका नै हुन् भन्न खोजिएको प्रतीत हुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment