Comments Add Comment

न्यौपानेको पुस्तक ‘स्कुल बेच्ने बालक’ सार्वजनिक

पूर्वबाल्यवस्ताका बालबालिकाको ‘प्यारेटिङ’ का लागि उपयोगी

५ साउन, काठमाडौं । पत्रकार दामोदर न्यौपानेद्वारा लिखित ‘स्कुल बेच्ने बालक’ नामक आख्यान एक समारोहका बीच सार्वजनिक गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा शनिबार आयोजित कार्यक्रममा पूर्वबाल्यवस्थाका बालबालिकाको मनोविज्ञानमा केन्द्रीय न्यौपानेको पुस्तक विमोचन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा. सुरेशराज शर्मा, विशिष्ट अतिथि बालसाहित्यकार एवं सञ्चारविज्ञ विनय कसजु, अक्षरा स्कुलकी प्रिन्सिपल अन्जु भट्टराई, बालअधिकार अभियन्ता एवं पत्रकार गौरव पोखरेल र पुस्तकका मुख्य पात्र हार्दिक न्यौपानेले संयुक्त रुपमा पुस्तकको विमोचन गरे ।

बालमैत्री व्यवहार गर्न जोड दिएको यो पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले लेखकले पुस्तकमा अरुले साना भनिएका विषयहरुलाई मिहिन ढंगले उठान गरेको बताए ।

‘पुस्तक तयार पार्न लेखकले पात्रमाथि गहिरो अनुसन्धान गरेको देखिन्छ’, उनले भने ।

बालसाहित्यकार कसजुले पुस्तकमा लालनपालत (प्यारेन्टिङ)का सूक्ष्म, मनोविश्षणात्मक तथा व्यवहारिक विषयहरु विस्तृत रुपमा उल्लेख गरिएको बताए ।

‘हामीले एउटा बगैंचा हेर्दा अन्तिम अवस्थाको सुन्दर रुप मात्रै देख्छौं । तर, त्यो सुन्दर हुने परिस्थिति बेर्ना अवस्थाबाट सिर्जना भएको हुन्छ । हो, त्यही अवस्था बाल्यकाल हो’, कसजुले भने, ‘भविष्य कस्तो हुन्छ भन्ने कुराको निर्धारण बेर्नाको अवस्थाले चित्रित गर्ने हुँदा यो विशेष अवस्था हो । र, यही अवस्थामाथि लेखिएको राम्रो पुस्तक हो यो ।’

उनले बालबालिका सम्भावनाको खानी भएको भन्दै ती सम्भावनालाई बाहिर ल्याउने दायित्व अभिभावक र समाजको भएको टिप्पणी गरे ।

आफ्नो बालकमाथि गहिरो अध्ययन गरेर पुस्तक तयार पारिएको देखिएको शिक्षाविद् अन्जु भट्टराईले बताइन् ।

‘बालबालिकालाई सुन्ने, बुझ्ने र अनुभव गर्ने प्रयास कमै मात्र अभिभावकले गर्छन्’, भट्टराईले भनिन्, ‘यो पुस्तकमा लेखकले आफ्नो बालकको हरेक गतिविधिलाई मनन् गरेर सोही अनुरुप व्यवहार गरेको देखिन्छ । र, सोही आधारमा बालकको अवस्थाको चित्रण गरिएको देखिन्छ ।’

‘हामी मध्ये कतिपयलाई कुनै साथीभाइले पैसा मागे भने पछि तिर्दैन कि जस्तो लाग्छ’, उनले थपिन्, ‘कतिपय भने फ्याट्ट दिइहाल्छौं । त्यो उसले बाल्यकालमा कस्तो शिक्षा पाएको छ । त्यसमा भर पर्ने कुरा हो ।’

पुस्तकका मुख्य पात्र हार्दिकको प्रिन्सिपल समेत रहेकी उनले विद्यालयमा बालकले भिन्न किसिमको व्यवहार र क्रियाकलाप देखाउने गरेको टिप्पणी गरिन् ।

बालअधिकार अभियन्ता पोखरेलले पुस्तक पढेपछि आम अभिभावकले आफ्नो सन्तानको व्यवहारप्रति एक पटक सोच्न बाध्य हुने बताए ।

‘पुस्तक पढ्ने हरेक अभिभावक आफ्नो सन्तानसँग गरिरहेको व्यवहारमाथि एक पटक विश्लेषण गर्न बाध्य हुनेछन्’, पोखरेलले भने, ‘त्यसपछि उनीहरुको मनोविज्ञानलाई बुझेर सोही अनुरुप बालमैत्री व्यवहार गर्नेछन् ।’

कार्यक्रममा शिखा बुक्सका पुष्पराज पौडेलले स्वागत मन्तव्य राखेका थिए भने दुर्गा जोशीले सञ्चालन गरेकी थिइन् ।
डेढ दशकदेखि पत्रकारितामा समेत संलग्न लेखक न्यौपानेको यो ५ औं कृति हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment