Comments Add Comment

२६ सय रुपैयाँबाट शुरु भएको सहकारीः प्रदेशकै ठूलो, नाफा पौने ४ करोड !

६ साउन, बुटवल । आपसी एकता र इमान्दारिता भयो भने सफलता चुम्न कसैले रोक्न सक्दैन भन्ने उदाहरण बनेको छ, रुपन्देहीको तिलोत्तमा नगरपालिका–३स्थित सामूहिक विकास वचत तथा ऋण सहकारी संस्था ।

विसं. ०५० सालमा २६ जना मिलेर शंकरनगरमा २ हजार ६ सय शेयर पु‘जी जम्मा गरेर सहकारी संस्था शुरु गरेका थिए । वचत तथा ऋणको कारोबार गर्ने गरी दर्ता भएको यो नै रुपन्देहीको पहिलो सहकारी थियो । मासिक दुई सय रुपैयां बचत संकलनबाट शुरु भएको यो सहकारी अहिले शेयर पुंजी र कारोबारका हिसाबले प्रदेश ५ कै सबैभन्दा ठूलो शेयर पुंजी र कारोबार हुने सहकारी बन्न पुगेको छ ।

यो सहकारीको शेयर पुँजी १६ करोड ८३ लाख २७ हजार रहेको छ । सहकारीमा ६ हजार ३ सय ५५ जना शेयर सदस्य पुगेका छन् । जसमा ३ हजार ५ सय ८५ जना महिला र २ हजार ७ सय ७० जना पुरुष छन् ।

शंकरनगरमा आफ्नै सुविधासम्पन्न तीनतले भवनसहित करिब २ अर्ब रुपैयांको सम्पत्ति पनि छ । सहकारीले हरेक वर्ष आफ्नो कारोबार र नाफा बढाउँदै लगेको छ । गएको वर्ष पौने ४ करोड संचालन मुनाफा आर्जन गरेको छ । सहकारीले आर्थिक वर्ष २०७४/७५को असार मसान्तसम्म एक अर्ब ४० करोड ४४ लाख वचत संकलन र एक अर्ब ४७ करोड ६२ लाख ऋण लगानी गरी तीन करोड ८५ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको अध्यक्ष चुरामणि खरेल बताउँछन् ।

सहकारीबाट २१ सय जनाले ऋण लगेर विभिन्न व्यवसाय र उद्योग चलाएका छन् । ऋण लगेका कसैको पनि धितो लिलामी गर्नु परेको छैन । ‘हामीले ऋण लगानी गर्न निश्चित मापदण्ड र विधि बनाएका छौं, त्यसअनुसार काम गर्दा कसैको पनि घरजग्गा र सम्पत्ति लिलाम गर्नुपरेको छैन’–अध्यक्ष चुरामणि खरेलले भने–‘ऋणको सही सदुपयोग भए/नभएको अनुगमन,समयमै ऋण चुक्ता असल ऋणीलाई हरेक वर्ष सम्मान गर्ने परम्पराले सहकारीले प्रगति गर्न सफल भएको हो ।’

रुपन्देही जिल्लाभरि कार्यक्षेत्र रहेको यो सहकारीले अधिकांश ऋण लगानी व्यवसाय र उद्योग क्षेत्रमा लगानी गर्ने गरेको अध्यक्ष खरेल बताउंछन् । यसपछि सामाजिक कार्य र शैक्षिक क्षेत्रमा बढी कर्जा लगानी हुने गरेको छ ।

सहकारीको जगेडा कोष १० करोड ७ लाख २७ हजार र अन्य कोष ८ करोड ८ लाख ६५ हजार रहेको छ । यो सहकारीले राष्ट्रिय सहकारी बैंकमा नेपाल सरकारको भन्दा दोब्बर बढी शेयर लगानी गरेको छ ।

राष्ट्रिय सहकारी बैंकमा सहकारीको २ करोड ५१ लाख शेयर लगानी छ भने सरकारको १ करोड लगानी छ । सहकारी संस्था मध्ये प्रदेश ५ मै पहिलोपटक एटीएम सेवा पनि शुरु गर्ने सहकारी पनि यही नै हो ।

डिभिजन सहकारी कार्यालय रुपन्देहीबाट ०६३ सालमा उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भएको यो सहकारीले राष्ट्रिय सहकारी महासंघबाट २०७० सालमा उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार पाएको छ । त्यसैगरी ०७३ सालमा सहकारी बैंक लि.बाट ५ नं. प्रदेशमा उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भएको वरिष्ठ व्यवस्थापक ईश्वरी मरासिनीले जानकारी दिए ।

पाँचसय रुपैयाँमै खाता खोल्न सकिने र दुई सयदेखि १० हजार रुपैयाँसम्म मासिक जम्मा गर्न सकिने सुविधा भएकाले निम्न, मध्यम र उच्च सबै वर्गका शेयर सदस्यहरु सहकारीमा रहेका वरिष्ठ प्रबन्धक मरासिनी बताउँछन् ।

सहकारीले स्थापनाको २५ वर्ष प्रवेश गरेको अवसरमा साउनदेखि माघसम्म विभिन्न रचनात्मक कार्यक्रमहरु गरी रजत महोत्सव मनाउन लागेको सहकारीका सञ्चालक विष्णुप्रसाद पौड्याल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment