Comments Add Comment

बीपीले कम्युनिस्टसँग मिल्नु हुँदैन भनेको अहिले बुझ्दैछुः देउवा

सरकार दमन गरेर सत्ता चलाउन चाहन्छः पौडेल

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाले ‘कम्युनिस्टहरुसँग मिल्नु हुँदैन’ भनेको कुरा अहिले बुझेको बताएका छन् ।

बीपी स्मृति दिवसको अवसरमा आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, ‘बीपीले कम्युनिस्टहरुलाई पहिल्यै चिन्नुभएको रहेछ । तर, हामीले अहिले मात्रै चिन्यौं । उनीहरु जनताका लागि हुँदै होइनन् ।’

काठमाडौंका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेकोमा विरोध जनाएका उनले कम्युनिस्ट सरकारले जनताको अधिकारलाई कुण्ठित गर्ने काम गरेको बताए । ‘एकलौटी निर्णय गरेर जनताको शान्तिपूर्ण बिरोध गर्ने अधिकारलाई रोक्न सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ’, देउवाले भने, ‘यो अप्रजातान्त्रिक हो । उनीहरु जनताको लागि होइनन् भन्ने यसबाट पुष्टि हुन्छ ।’

‘उनीहरुले एकदलीय तानाशाही, सर्वसत्तावादी शासन स्थापना गर्न खोजका छन् । उनीहरुले बोल्न दिँदैनन् । लेख्न दिँदैनन् । त्यसैले उनीहरु जनताका लागि होइनन् ।’

डा. गोविन्द केसीको माग जायज भएको उनले बताए । ‘उनको मागमा हाम्रो समर्थन छु, देउवाले भने, ‘उहाँलाई बचाउन हामी एकजुट हुनुपर्छ ।’

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले हतियार प्रयोग गरेर सत्ता चलाउने कुरा धेरै नटिक्ने बताएका छन् । उनले भने, ‘डा. गोविन्द केसीले जुन माग उठाउनु भएको छ, त्यसको पछाडि एउटै कुरा छ- गुणस्तरीय शिक्षा दूरदराजको गाउँमा पुगोस् । तर, सरकारले उनको मागलाई विल्कुलै उपेक्षा गरेको छ ।’

‘सरकार जनहितको मागलाई विल्कुलै उपेक्षा गरेर दमन गरेर सत्ता चलाउन चाहन्छ । तर, दमनकारी हतियारले सत्ता चलाउने कुरा धेरै टिक्दैन ।’

उनले पैसाको राजनीति नेपाली कांग्रेसले अन्त्य गर्नु पर्ने बताए । ‘पैसाको राजनीति हाम्रो पार्टीले निरुत्साहित गर्नुपर्छ । त्यसो भयो भने हामी बीपीप्रति सच्चा अनुयायी हुनेछौं’, पौडेलले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment