Comments Add Comment

वाम सरकारका बेला पत्रकारमाथि दुर्व्यवहार बढ्यो

सरकार गम्भीर छैन, पत्रकार जिम्मेवार भएनन्ः विष्ट


६ साउन, काठमाडौं । पछिल्लो तीन महिनामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका घटना बढेको अध्ययनले देखाएको छ ।

वैशाख, जेठ र असारमा पत्रकार र सञ्चारमाध्यममाथि आक्रमण, भौतिक कारबाहीको धम्की, समाचार संकलनमा अवरोधजस्ता २५ वटा घटना भएका नेपाल पत्रकार महासंघको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो तीन महिना अवधिमा पत्रकारमाथि दुर्यवहार र धम्कीका घटना बढिरहेको महासंघले जनाएको छ । समाचार लेखेकै कारण ८ जनाले धम्कीको सामना गर्नुपरेको छ भने, ६ जनामाथि दुव्र्यवहार भएको छ । समाचार संकलनमा अवरोधका दुई वटा घटना भएका छन् भने, चार जना आक्रमणमा परेका छन् । पाँच जना पक्राउ परेका छन् ।

अघिल्लो वर्षको तुलनामा पछिल्लो तीन महिनामा पत्रकारमाथि दुव्र्यवहार र धम्की लगायतका घटना केही बढेको महासंघले जनाएको छ ।

गत वर्ष प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका ६२ घटना भएका थिए भने १६ जना गिरफ्तारीमा परेका थिए । एकजना वेपत्ता छन् । १७ जनामाथि आक्रमण भएको थियो भने, १९ जनाले भौत्तिक कारबाहीको धम्कीको सामना गर्नुपरेको थियो । ६ जनालाई समाचार संकलनमा अवरोध गरिएको महासंघको तथ्याङ्कमा उल्लेख छ ।

सरकार गम्भीर छैन, पत्रकार जिम्मेवार भएनन्-विष्ट

मुलुकका विभिन्न भागमा राज्य र गैरराज्यपक्षबाट पत्रकार र सञ्चारमाध्यममाथि आक्रमण गर्ने, भौतिक कारबाहीको धम्की दिने, समाचार संकलनमा अवरोध पुर्‍याउने जस्ता घटना तीब्र हुँदै गए पनि सरकार गम्भीर नभएको पत्रकार महासंघका महासचिव रमेश विष्टको आरोप छ ।

‘स्थायी सरकार आएपछि प्रेसमाथिका घटना झन बढ्नु शुभ संकेत होइन’ महासचिव विष्ट भन्छन् ‘प्रेसमैत्री सरकारको अनुभूत भएको छैन ।’

महासचिव विष्टले महासंघले दिएको सुझाव सरकारले ग्रहण नगरेको र प्रेस तथा अभव्यक्ति स्वतन्त्रताका पक्षमा प्रयाप्त छलफल समेत नगरेको आरोप लगाए ।

उनले कारबाही नहुने र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धका घटनालाई हलुका ठान्ने प्रवृतिले पनि समस्या भएको बताए ।

‘पत्रकारमाथि आक्रमण भयो, धम्की आयो वा अन्य केही भयो भने महासंघले विज्ञप्ति निकाल्छ,’ महासचिव विष्टले भने, त्यसपछि त्यो घटना त्यसै सेलाउन पुग्छ । यसमा सम्वन्धित निकायको ध्यान गएको देखिन्न ।’

पत्रकार आचारसंहिताको पालना नर्गदासमेत केही पत्रकार राज्य र गैरराज्यपक्षबाट शिकार हुन पुगेको महासचिव विष्टको निश्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment