Comments Add Comment

बुटवल-पाल्पा सडकः सांघुरो र घुम्ती सडकमा छेकबार नहुँदा दुर्घटना

दुर्घटनास्थल ।

६ साउन, बुटवल । नेपालका अधिकांश सडकहरुको अवस्था जोखिमपूर्ण रहेको जगजाहेर नै छ । त्यस्तै मध्येको एक सडक हो, सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा खण्ड । बुटवल-पाल्पा सडकको सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको ३ किलोमिटर सडक झनै जोखिमयुक्त मानिन्छ ।

यसै सडक खण्डको हेडबक्स नजिकै आइतबार असुरक्षित सडककै कारण दुई जना बाबु र छोराको अकालमै ज्यान गयो । पाल्पाको तानसेन नगरपालिका ७ तिन्टीआँपबाट छोरालाई कलेज भर्ना गर्न बुटवल आउँदै गर्दा सडकबाट चट्टाने भीरमा खसेर बुबा माधव कुमाल र छोरा उमेश कुमालको ज्यान गयो ।

दुर्घटनास्थलको सडक सांघुरो र घुम्ती छ । लु २१ प. ९६८० नंं. को मोटरसाइकलमा आउँदै गर्दा सांघुरो घुम्ती सडकको किनारमा मोटरसाइकल पल्टियो ।

पल्टेको बाइक सडकको किनारमै अडियो तर बाबुछोरा सडकमा छेकबार नहुँदा चट्टाने भीरमा गुल्टिंदै पहरामा पछारिन पुगे र अकालमै प्राण त्यागे ।

बाबुछोराको ज्यान जानुअघि आमा भने आइतबारै बसमा बुटवल आइसकेकी थिइन् । सडकको छेउमा बार भएको भए आइतबारको दुर्घटनामा दुईजनाकै ज्यान जोगिने जो कोहीले सहजै ठोकुवा गर्छन् ।

दुर्घटना स्थलमा सिसिटिभी पनि नभएको र प्रत्यक्षदर्शी समेत कोही नभएको अवस्थामा दुर्घटना कसरी भयो भन्ने ठ्याक्कै यकिन भन्न नसकिएपनि सम्भवतः अर्को सवारी साधनलाई ओभरट्याक गर्दा विपरीत दिशाबाट अर्को सवारी साधन आउँदा मोटरसाइकल चालक अत्तालिएर नियन्त्रण गुमाउँदा बाइक पल्टिएको हुन सक्ने अनुमान गरिएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले बताए । ‘दुर्घटनास्थलमा सडक छेउमा पर्खाल वा फलामे बार कुनै एक भएको भए आजको दुर्घटनामा दुबै जनाको ज्यान नजाने प्रहरी उपरीक्षक चन्दको विश्लेषण छ ।

दुर्घटनास्थल पुगेका बुद्धिजिवी एवं पाल्पाका पूर्व जिल्ला विकास समितिका सभापति झपेन्द्र जीसी सांघुरा सडकको घुम्ती मोडहरुमा छेउतिर बलिया छेकबार लगाइनुपर्ने सुझाउँछन् । ‘सामान्य कमजोरी र बेवास्ताले नेपालका यस्तै घुम्ती सडकमा धेरैजनाले अकालमा ज्यान गुमाइरहेका छन्’ जीसीले भने-‘सडकलाई सुरक्षित बनाउन प्रदेश र संघ सरकार दुबैको ध्यान जान जरुरी छ ।’

करिब साढे ११ बजेतिर दुर्घटना भएको थाहा पाएर घटनास्थल पुगेका मृतकका आफन्त बुटवल लक्ष्मीनगरका गोविन्द थापाले जोखिमयुक्त सडक खण्डमा राजयका सम्बन्धित निकायले सुरक्षा उपाय अपनाएको भए यसरी मानवीय क्षति नहुने बताए । ‘सडकै असुरक्षित र सांघुरो भएकाले दुर्घटना भएको हो, यसमा दुई मत छैन,’ थापाले भने, ‘दुर्घटनापछि उद्दारमा समेत ढिलाइ भयो,सरकारी निकायसँग तत्काल उद्दार गर्ने सीपयुक्त दक्ष जनशक्ति, प्रविधि र उपकरण नहुँदा बचाउन सकिने अवस्थाका मान्छेको पनि ज्यान गयो ।’

दुर्घटनाको करिब दुई घण्टापछि मात्रै शबलाई भीरबाट बाहिर निकाल्न सकिएको थियो । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा लगिएको छ ।

मोटरसाइकललाई ट्रकले ठक्कर दिएको भन्ने हल्ला चलेपनि अनुसन्धान चलिरहेकाले पुष्टि नभइ भन्न नमिल्ने पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक चन्दले बताए ।

बुटवलको सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्मको ३ किलोमिटर सडक खण्ड पहिरोको दृष्टिले ज्यादै जोखिमयुक्त मानिन्छ ।

यो खण्डमा वर्षायाममा मात्र होइन, हिउँदमा पनि ढुंगे पहिरो खसेर थुप्रैले अकालमा ज्यान गुमाइरहेका छन् ।

यो खण्डमा मात्रै ११३ वटा सानाठूला पहिरो खसेका छन् । यो सडक खण्डमा १० वर्षको अवधिमा १८ वटा बस, ७ वटा ट्रक, कार जीप ९ वटा र १९ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । ‘मृत्यु मार्ग’ उपनामले चिनिएको यो सडक खण्डको विकल्पमा झुम्सा चरंगे वैकल्पिक मार्गको ट्रयाक खुलिसकेको भएपनि नियमित सवारी साधन चलेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment