Comments Add Comment

‘विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था उपयुक्त, सीमा अनुपयुक्त’

वरिष्ठ उपाध्यक्ष भन्छन्- वाणिज्य बैंकको टार्गेटमा हामी पर्‍यौं


८ साउन, काठमाडौं । मुलुकमा सञ्चालित ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुले विदेशी मुद्रामा ऋण पाउने नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ को मौद्रिक  नीतिमार्फत राष्ट्र बैंकले आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशतसम्म विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेको हो ।

लघुवित्त वित्तीय संस्थाहरुलाई साधन परिचालन र साधनको लागत व्यवस्थापनमा यस व्यवस्थाले सहयोग पुग्ने राष्ट्र बैंकको विस्वास छ ।

तर, यसले खासै लघुवित्तहरुलाई सहयोग नपुग्ने लघुवित्तकर्मीहरुले बताएका छन् । व्यवस्था ठीक भए भए पनि ऋण लिन पाउने सीमा भने उपर्युक्त नभएको लघुवित्तकर्मीहरुको भनाइ छ ।

विदेशी मुद्ध्रामा ऋण लिनका लागि तोकिएको २५ प्रतिशतको सीमा अत्यन्तै कम भएको नेपाल माइक्रोफाइनान्स बैंकर एशोसिएसनका वरिष्ठ उपाध्यक्ष एवं लक्ष्मी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा बताउँछन् ।

मुलुकमा सञ्चालित धेरैजसो माइक्रोफाइनान्सको पूँजी १० देखि २० करोडको बिचमा रहेको भन्दै थोरै पूँजी भएका लघुवित्तहरुलाई २५ प्रतिशतको सीमा तोकिनु फलदायी नभएको उनले बताए ।

वरिष्ठ उपाध्यक्ष शर्माले २५ प्रतिशतको सीमा वाणिज्य बैंकहरुलाई टार्गेट गरेर ल्याइएको हुन सक्ने भन्दै वाणिज्य बैंकको टार्गेटमा आफूहरु परेको बताए ।

‘यस अघि सीमा तोकिएको थिएन, स्वीकृति लिएर ऋण ल्याउन पाइन्थ्यो’ अनलाइनखबरसँग उनले भने, ‘अहिले जुन सीमा तोकिएको छ, त्यो सीमा अनुसार कर्जा ल्याउदा लघुवित्तहरुलाई पोषाउँदैन ।’

यस विषयमा कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत मिन बोहराको पनि समान धारणा छ ।

विदेशी मुद्रामा कर्जा ल्याउन कम्तीमा पनि प्राथमिक पूँजीको १० गुणा बढी ल्याउन पाउनु पर्ने उनी बताउँछन् ।

विदेशी मुद्रामा भन्दा नेपाली रुपैयाँमा ल्याएको राम्रोः पन्त

मुलुकका ७७ जिल्लामै शाखा सञ्जाल भएको र पुरानो माइक्रोफानान्स निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्त भने पूँजीको अभाव भएको बेलामा विदेशी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पाउनु राम्रो हुने बताउँछन् ।

नेपालमा सञ्चालित अधिकांश माइक्रोफाइनान्सहरुसँग रिजर्भ धेरै नभएका कारण विदेशी मु्द्रामा ऋण लिदा हेजिङ गर्नु पर्ने हुन्छ र जसका कारण पछि समस्या उत्पन्न हुन सक्ने उनको भनाइ छ ।

‘विदेशी मुद्रामा भन्दा विदेशी बैंक तथा वित्तीय संस्थाबाट मिलेसम्म नेपाली रुपैयाँमा नै कर्जा लिएको राम्रो हो, यसले हेजिङ कष्ट बेहोर्नु पर्दैन’ अनलाइन खबरसँगको कुराकानीमा सीईओ पन्तले भने, ‘माइक्रोफाइनान्सहरुमा रिजर्भ धेरै छैन, भोली ठूलो फाइनानसियल सुनामी आयो भने नेपाली रुपैयाँमा कर्जा लिदा फरेन करेन्सी रिस्कबाट बन्च सकिन्छ ।’

श्रोतको समस्या समाधान हुन्छ त !

लघुवित्त वित्तीय संस्थाहरुलाई विशेष गरेर श्रोत व्यवस्थानको चुनौती रहेको छ ।

आर्थिक वर्ष २०७५/७६ को मौदि्रक नीतिमा समेत राष्ट्र बैंकले लघुवित्तको श्रोत व्यवस्थापनका लागि केहि नयाँ व्यवस्था नल्याएको भन्दै लघुवित्तकर्मीहरु गुनासो समेत गरेका छन् ।

मुलुकमा यतिबेला ६४ वटा लघुवित्त वित्तीय संस्थाहरु सञ्चालित छन् । ति सबैलाई श्रोत व्यवस्थापनको समस्या विकराल बनेको लघुवित्त सम्बन्धी जानकार व्यक्तिहरु बताउँछन् ।

राष्ट्र बैंकले साधन परिचालन र साधनको लागत व्यवस्थापनमा सहयोग पुग्ने विस्वासहित विदेशी मुद्रामा ऋण ल्याउन पाउने व्यवस्थालेसमेत श्रोत व्यवस्थापनको समस्या समाधान नहुने देखिएको छ ।

हालसम्म निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था लगायतका केही लघुवित्तहरुले मात्रै विदेशी बैंक तथा वित्तीय संस्थाबाट कर्जा ल्याउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment