Comments Add Comment

सरकार र डा. केसी वार्ता : मुख्य मुद्दामा छलफल नै हुन सकेन


९ साउन, काठमाडौं । सत्तारुढ नेकपाका नेताहरुले सहमतिनजिक भने पनि सरकार र डा. गोविन्द केसीबीचको वार्ता मुख्य मुद्दामा प्रवेश नै नभएको पाइएको छ ।

सरकारी र डा. केसी पक्षको वार्ता टोलीबीच चिकित्सा शिक्षा विधेयकबारे छलफल नै हुन सकेको छैन ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको पहलमा औपचारिक वार्तासँगै अनौपचारिक सम्वाद चलिरहेको छ ।

बुधबार पनि नेम्वाङको पहलमा केदारभक्त माथेमालगायतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।
तर, चिकित्सा शिक्षा विधेयकमा केके संशोधन गर्ने भन्ने कुनै ठोस सहमति भएको छैन ।

नेम्वाङले संसदमा विचाराधीन विधेयक फिर्ता नलिने तर, आवश्यकताअनुसार संशोधन गर्न सकिने बताएपछि डा. केसीको टोलीले लिखित नै बुझाएको छ । त्यसमा अध्यादेशमा भएका १० वर्षे प्रतिबन्ध लगायतका विषयहरु नै छन् ।

मंगलबार साँझ भएको वार्तामा डा. केसीका अन्य मागहरुमा दुबै पक्ष सहमति नजिक पुगेका छन् ।

तर, विधेयकमा केके संशोधन गर्ने भन्ने छलफल हुन सकेन । बुधबार विहानै फेरि बस्ने भन्दै दुबै वार्ता टोली उठे । बुधबार विहान वार्ताको खबर आएन ।

नेम्वाङले माथेमा लगायतलाई प्रधानमन्त्रीसँग भेट गराए । त्यहाँ पनि केके संशोधन गर्ने छलफल नभएको, प्रधानमन्त्रीले चिकित्सा शिक्षाबारे आफ्ना धारणा राखेपछि डा. केसीलाई सम्झाइदिनुस्, बाँकी संसदमा हरौंला भनेको स्रोतले बताएको छ ।

छलफलपछि डा. केसीको टोली निराश भएको छ भने नेम्वाङले सहमति नजिक पुगेको दाबी गरे ।

लगतै सरकारी र डा. केसीको वार्ता टोलीबीच छलफल भयो । तर, सरकारी टोलीले विधेयकबारे छलफल गर्न नचाहेपछि एक घन्टाका लागि स्थगित भएको छ । ‘परामर्शका लागि समय मागेपछि वार्ता स्थगित भएको छ’ ओमप्रकाश अर्यालले अनलाइनखबरलाई भने ।

डा. केसीका तर्फबाट वार्तामा सहभागी एक सदस्यका अनुसार अहिलेसम्म विधेयकमा केके संशोधन गर्ने भन्ने कुनै सहमति भएको छैन ।

आफूहरुले लिखित धारणा नै राखेपछि सरकारी टोलीबाट कुनै जवाफ नआएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment