Comments Add Comment

चिकित्सकको चेतावनीः डा. केसी जुनसुकै बेला पनि कोमामा जान सक्छन्

फाइल तस्वीर

९ साउन, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर २६ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर बनेको छ ।

केसीको शरीरमा सेतो रक्तकोशिकाको संख्या अहिलेसम्मकै न्यून भएको छ ।  रगतमा चिनीको मात्रा अत्यन्त कम भएकाले जुनसुकै बेला अचेतहुनसक्ने उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

रगतमा पोटासियम अति नै कम भइसकेको र मुटुको चाल पनि कम भइरहेकाले कुनै पनि बेला धड्कनमा समस्या आइ मुटु नै बन्द हुनसक्ने अवस्था आउनसक्ने चिकित्सकहरुको भनाइ छ ।

केसीको रक्तचाप पनि अत्यन्त कम रहेकाले मुटुको चाल, धड्कन र रक्तचापको समन्वय नमिलेर कुनै पनि बेला गम्भीर समस्या आउन सक्ने बुधबार केसीको उपचारमा संलग्न चिकित्सकले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा बोल्दै डा. लक्ष्मण भुषालले डा.केसीले होस गुमाउदै जान थालेको बताए । ‘हिजो भर्खर मैले आफै बसेर सरको रगत जाँचको लागि पठाएको थिएँ, आज त्यही कुरा उहाँले बिर्सिसक्नु भएको रहेछ,’ उनले भने । केहीदिन यही अवस्था रहे दिमागमा गम्भीर असर पर्न गइ अचेत हुने, छारे आउने र कोमामा जाने अवस्था पनि आउन सक्ने उनले बताए ।

चिकित्सकहरुका अनुसार, यो अवस्थाको बिरामीलाई आर्इसीयूमा राखेर उपचार गर्नुपर्ने हुन्छ । तर, डा. केसीले यसअघि नै आफू होसमा रहुन्जेल आर्इसीयूमा नजाने बताएकाले आईसीयूमा लगिएको छैन ।

उपचारमा आवासीय चिकित्सक र शुभेच्छुकमात्रै

सरकारले केसीको जीवन रक्षाका लागि भन्दै जुम्लाबाट काठमाडौं ल्याए पनि उनको उपचारका लागि त्रिवि शिक्षण अस्तालमा मेडिकल टिम नै नबनेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अहिले आवासीय चिकित्सक र केही शुभेच्छुक चिकित्सकहरुले स्वास्थ्य अवस्थाबारे जानकारी लिदै आइरहेका छन् । रातमा त झन् केसीको साथमा कोही पनि नहुने केसीकै साथमा रहेका अावासीय चिकित्सक लक्ष्मण भुसालले जानकारी दिए ।

आवासीय चिकित्सकहरुले आफूहरुले ड्युटीको समय मिलाउँदै उपचारमा संलग्न भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment