Comments Add Comment

ब्रम्हाण्डमा कति तारा छन् ? पत्ता लागिसक्यो

काठमाडौं । जब तपार्इँ हामी रातमा आकाशमा झिलमिल तारा देख्छौँ, तब हाम्रो मनमा एउटा जिज्ञासा सधै उठिरहन्छ : आखिर ब्रम्हाण्डमा कति तारा होलान् ? हुनत गीत तथा साहित्यमा नौलाख तारा भन्ने गरिएको छ । तर ब्रम्हाण्डमा त्यो भन्दा कैयन् गुणा धेरै तारा भएको वैज्ञानिकहरुले बताउँदै आएका छन् ।

वैज्ञानिकहरुका अनुसार पृथ्वीमा जति समुद्री तट छन् र त्यसमा बालुवाका कण छन्, त्यति नै संख्यामा ब्रम्हाण्डमा तारा छन् ।

अमेरिकी खगोलविद् कार्ल सगनले पछिल्लोपटक यस्तो दाबी गरेका छन् । एक टेलिभिजन शोमा उनले यस्तो दाबी गरेका हुन् ।

तर के उनको दाबी सही हो त ? के ब्रम्हाण्डमा रहेका ताराको गणना सम्भव छ त ?

क्याम्बि्रज विश्वविद्यालयका खगोलविद प्राध्यापक गेरी गिरमोरले आकाशगंगामा रहेका ताराहरुको गणना गरिरहेका छन् । आकाशगंगामै हाम्रो सौर्यमण्डल रहेको छ । उनले एउटा परियोजनाको अगुवाई गरिरहेका छन् जसले युरोपेली अन्तरीक्ष यानका माध्यमबाट आकाशगंगामा रहेका ताराको गणना गर्दैछ ।

आकाशगंगामा २० हजार करोड ताराहरु

प्राध्यापक गेरीले बीबीसीसँग भनेका छन्, ‘दूरीको हिसाबले हाम्रो टोलीले यसअघि पहिलोपटक करीब २ अर्ब ताराको तथ्यांक पहिलोपटक सार्वजनिक गरेको थियो । तर यो संख्या आकाशगंगामा रहेका कूल ताराहरुको एक प्रतिशत मात्र हो ।’

गणनाको यस मोडेल अनुसार आकाशगंगामा करीब २० हजार करोड तारा हुनसक्छन् ।

तर यो केवल एउटा आकाशगंगाको मात्र तथ्यांक हो ।

पूरै ब्रम्हाण्डमा कति तारा होलान् त त्यसोभए ?

प्राध्यापक गेरी गिरमोरका अनुसार अन्य आकाशगंगामा पनि हाम्रै आकाशगंगामा जति नै तारा हुनसक्छन् । यदि ब्रम्हाण्डमा कति आकाशगंगा छन् भन्ने कुरा पत्ता लगाउन सकियो भने कूल ताराको संख्या अनुमान गर्न सकिन्छ ।

१० हजार करोड आकाशगंगा

ब्रम्हाण्डमा आकाशगंगाको संख्या पत्ता लगाउनुअघि यो पत्ता लगाउनुपर्छ कि त्यो कति चम्किलो छ ? के अरु सबै आकाशगंगा हाम्रै आकाशगंगा सरह छन् वा फरक छन् ?

गिरमोरका अनुसार त्यो पत्ता लगाउनका लागि आकाशगंगाको दूरी तथा आकार पत्ता लगाउनुपर्ने हुन्छ । यसबाट हामी यो समझदारी बनाउन सक्दछौँ कि ब्रम्हाण्डको विस्तार भैरहेको छ । यसलाई हबलको सिद्धान्त भनिन्छ ।

हबलको सिद्धान्त अनुसार गिरमोरले आकाशगंगाको चमक र पृथ्वीबाट दूरीको बारेमा पत्ता लगाउने कोसिस गर्दैछन् । वैज्ञानिकहरुको एउटा दाबी अनुसार ब्रम्हाण्डमा १० हजार करोड आकाशगंगा छन् र हरेक आकाशगंगामा औसतमा करीब २० हजार करोड तारा छन् ।

यस हिसाबले ब्रम्हाण्डमा रहेका कूल ताराको गणना गर्न सकिन्छ ।

यदि त्यस्तो गणना गर्ने हो भने ब्रम्हाण्डमा रहेका ताराको संख्या दुई पछाडि २२ वटा शून्ना बराबरको संख्यामा अर्थात् २ सय अर्ब खर्ब हुनेछ ।

बालुवाका कण कति ?

पृथ्वीमा रहेका समुद्री तटमा रहेका बालुवाका कण बराबर ब्रम्हाण्डमा तारा रहेको दाबी गर्नेहो भने बालुवाका कण कति छन त ?

यो पत्ता लगाउनका लागि समुद्री तटको संख्या र घनत्व कति छ ? त्यो पत्ता लगाउनुपर्ने हुन्छ । तटको लम्बाइ, चौडाइ तथा गहिराइको मापन गर्नुपर्ने हुन्छ ।

ओपन स्टि्रट म्याप यस्तो परियोजना हो जसमा विश्वका करीब २० लाख मानिसले डाटा शेयर गर्दछन् । अमेरिका, बेलायत, क्यानडाका सरकारले समेत यसमा आफ्ना डाटा शेयर गर्ने गरेका छन् ।

पानी तथा यसको व्यवस्थापन गर्ने संस्था डेल्टर्सका शोधकर्ता जेनेडी डोनचेट्सका अनुसार ओपन स्ट्रिट  म्यापको तथ्यांकको हिसाबले एउटा समुद्री तट औसतमा १.९ किलोमिटर लामो हुन्छ । पृथ्वीमा बालुवायुक्त समुद्री तटको लम्बाई करीब ३ लाख किलोमिटर छ ।

अब यसको घनत्व पत्ता लगाउनुपर्ने हुन्छ । औषतमा समुद्री तटको चौडाइ ५० मिटर तथा गहिराइ २५ मिटर छ । यसलाई गुणा आयतन निकाल्दा समुद्री तटको कूल आयात ३७ हजार ५ सय करोड घनमिटर हुन आउँदछ ।

एक हिसाब अनुसार एक घनमिटर बालुवामा एक हजार करोड कण हुन्छन् । यस प्रकारले ३७ हजार ५ सय करोडलाई १ हजार करोडले गुणा गर्ने हो भने पृथ्वीमा समुद्री तटमा रहेका बालुवाको कणको संख्या पत्ता लगाउन सकिन्छ । यसरी हिसाब गर्दा बालुवाको कणको संख्या ३.७५ को पछाडि २१ वटा शून्ना, अर्थात् ३७ अर्ब ५० करोड खर्ब हुन आउँदछ ।

अतः माथिको तथ्यांकबाट पनि के थाहा हुन्छ भने समुद्री तटमा रहेका पूरै बालुवाको कणभन्दा पनि धेरै संख्यामा ब्रम्हाण्डमा तारा रहेका छन् ।

-बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment