Comments Add Comment

खुला सीमानाका कारण नेपालमा आतंककारी चलखेल हुनसक्छ : अमेरिकी राजदूत

उपप्रधानमन्त्री पोखरेलसँग विदाइ भेट

१० साउन, काठमाडौं । नेपालस्थित अमेरिकी राजदूत महामहिम अलाइना बी टेप्लिट्जले नेपालमा खुला सीमा रहेकाले आतंककारीको चलखेल हुने सम्भावना रहेको बताएकी छन् ।

बिहीबार उपपधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँगको भेटमा उनले खुला सीमानाका कारण आतंककारी चलखेल र घुसपैठ गर्ने बढी सम्भावना रहेको भन्दै सुरकारलाई चनाखो हुन सुझाव दिएकी हुन् ।

भेटबारे रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘ महामहिम राजदूतले खुल्ला सीमा भएकोले आतंककारीहरुको चलखेल गर्ने, घुसपैठ गर्ने बढी सम्भावना तर्फ चनाखो रहनुपर्ने सुझाव भेटका क्रममा दिनुभयो ।’

राजदूत टेप्लिट्जले आतंककारी क्रियाकलापको नियन्त्रणका लागि नेपाललाई आवश्यक सहयोग अमेरिकी सरकारले गर्ने पनि विश्वास दिलाएकी छन् ।

नेपालको संक्रमणकालीन अवस्थालाई नेपाली जनता र राजनीतिक नेतृत्वले वुद्धिमतापूर्ण तवरले व्यवस्थापन गरेको भन्दै अमेरिकी राजदूत टेप्लिट्जले प्रशंसा पनि गरिन् । संविधान निर्माण र कार्यान्वयनको क्रममा स्थानीय, प्रदेश र संघीय तहको निर्वाचन जस्ता केही महत्वपूर्ण कार्यलाई आफूले नजिकबाट हेर्ने मौका पाएको र त्यसबाट आफु सन्तुष्ट रहेको उनको भनाइ थियो ।

भेटमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले नेपाल सार्वभौमसत्तासम्पन्न मुलुक भएकोले देशको आन्तरिक समस्या आफैले समाधान गर्ने बताए । उनले छिमेकी तथा विभिन्न मित्र राष्ट्रको सहयोग र सदभावको आवश्यकता रहेको भन्दै आन्तरिक समस्याको समाधान भने देशभित्रै खोज्ने बताएका हुन् ।

रक्षामन्त्री ईश्वर पोखरेलले संघीयताको व्यवस्थापनको सिलसिलामा विभिन्न कानुन तर्जुमालगायतका अन्य यावत काम गर्नुपर्ने भएकाले सरकारमाथि कामको केही दवाव भएपनि यस्ता कार्यहरु समयमै पूरा हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment