Comments Add Comment

जुन प्रश्नको जवाफ प्रस्तावित प्रधानन्यायाधीशले दिएनन्

'नेपाली समाज मुनामदन कालको जस्तै छ'

१० साउन, काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई बिहीबार सांसदहरूले सिंहदरबारमा करिब दुई घण्टा प्रश्न सोधे । संसदीय सुनुवाई समितिका १२ सांसदले एक घण्टा ५० मिनेट लगाएर सोधेको प्रश्नको जवाफ जोशीले १२ मिनेटमै दिएर सके ।

समितिका सभापति लक्ष्मणलाल कर्णले सुनुवाईको शुरुमा जोशीलाई मन्तव्य राख्ने अवसर दिएका थिए । जोशीले १४ पृष्ठ लामो लिखित धारणा २५ मिनेटमा राखी सकेपछि प्रश्न-उत्तर शुरु भयो ।

सांसदहरूले जोशीविरुद्ध परेका पाँच उजुरी, शैक्षिक योग्यताको प्रमाणपत्र विवाद, न्यायालयको सुधार, सरकारी सम्पत्ति संरक्षणमा न्यायालयको भूमिका लगायतमा केन्दि्रत रहेर प्रश्न गरेका थिए । तर, त्यसमध्ये कतिपय प्रश्नको जोशीले जवाफै दिएनन् ।

प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई सांसद योगेश भट्टराईले अदालतमा किन छ्याप-छ्याप्ती विचौलिया जान्छन् भन्ने प्रश्न गरे । भट्टराईले ‘दाहाल थरका एक विचौलियासँग यहाँको सम्बन्ध के हो ?’ भन्ने सोधे । तर, कामु प्रधानन्यायाधीश जोशीले दुबै प्रश्नको जवाफ दिएनन् ।

भट्टराईले नै सोधेको अदालतमा विदेशी लगानी रोकिन्छ कि रोकिँदैन ?, श्रीमान बस्ने कुर्सीमा रहेको अन्तराष्ट्रिय गैरसरकारी संस्थाको स्टिकर हट्छ कि हट्दैन ? भन्ने प्रश्नहरुको पनि जोशीबाट जवाफ आएन ।

सांसद पुष्पा भुसालको ‘पुनरावेदन अदालतको मुख्य न्यायाधीश भएका बेला जघन्य अपराधका अभियुक्तलाई छाड्ने आदेश किन दिनुभयो ?’ भन्ने प्रश्नको पनि जोशीले जवाफ दिएनन् ।

जोशीले पुनरावेदन अदालत, दिपायलको मुख्य न्यायाधीश रहेका बेला बालिका बलात्कार र हत्याका अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिएका थिए । त्यस्तै इलामको पुनरावेदन अदालतमा न्यायाधीश हुँदा झापा जिल्ला अदालतको गाँजासम्बन्धी मुद्दा पनि जोशीले उल्टाएका थिए ।

अर्की सांसद पूर्णकुमारी सुवेदीले न्याय सम्पादनमा ढिलाइ किन भइरहेको छ ? भन्ने प्रश्न गरेकी थिइन् । यो प्रश्नलाई पनि जोशीले बेवास्ता गरे ।

कायममुकायम प्रधानन्यायाधीश जोशीले आफ्ना छोराछोरीको विवाह र इङ्गेजमेन्टमा सामाजिक सुधार ऐन विपरीत भडि्कलो कार्यक्रम आयोजना गरेको विषयमा सांसद निरुदेवी पालले प्रश्न गरिन् । यो प्रश्नको पनि जवाफ आएन ।

सांसदलाई साथी !

सुनुवाईमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रस्तावित प्रधानन्यायाधीश जोशीले सांसदहरूलाई पटक-पटक साथी भनेर सम्बोधन गरेका थिए । सांसद पार्वत गुरुङले औपचारिक कार्यक्रममा सांसदहरूलाई साथी भन्न नमिल्ने भन्दै आपत्ति जनाए ।

गुरुङले विरोध जनाएपछि समितिका सभापति कर्णले साथी भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन संसद सचिवालयका कर्मचारीहरूलाई निर्देशन दिए ।

पूरक प्रश्नको जवाफ दिने क्रममा उठेका प्रश्नको जवाफ दिँदै जोशीले आफू पनि माननीय भएकाले सांसदहरूलाई साथी भनेको प्रष्टीकरण दिएका थिए । जोशीले भने, ‘सम्मानित नभए पनि माननीय भएकाले सांसदज्युहरूलाई साथी भनेको हुँ । अरु कारणले होइन । म माननीय नभएको भए साथी भन्ने हिम्मतै गर्ने थिइनँ । केही गरी मेरो भनाइले यहाँहरूलाई अप्ठ्यारो परेको छ भने म माफी चाहन्छु ।’

तयारीविनाका सांसद

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइमा गएका अधिकांश सांसदहरू बिनातयारी गएका देखिए । केही सांसदहरू तीन घण्टा लामो सुनुवाइमा एक शब्द पनि नबोली फर्के । ४/५ जना बाहेकले कि अघिल्लै वक्ताको भनाइ दोहोर्‍याए, कि भूमिकैमा आफ्ना भनाइ समाप्त गरे ।

सबैभन्दा रोचक के देखियो भने जोशीले जवाफ दिन थालेपछि तथ्यमा आधारित रहेर प्रतिप्रश्न गर्ने तयारीमा कुनै सांसदहरु देखिएनन् । जस्तो- काठमाडौं महानगरपालिकाका नाममा रहेको ३६ रोपनी जग्गा जोशी र ओमप्रकश मिश्रको संयुक्त इजलासले ०७२ सालमा व्यक्तिको नाममा गर्ने फैसला गरेका थिए । त्यस्तै जोशीको एकल इजलासले ०७४ पुसमा बेल्लिज नेपाल प्रालिलाई मल्ल होटलमा क्यासिनो सञ्चालनको अनुमति दिएका थिए । तर, यस्ता तथ्यहरूबारे सांसदहरू जानकार रहेको देखिएन ।

नेपाली समाजको चरित्रको चर्चा

आफ्नो छोटो जवाफमा जोशीले नेपाली समाजको चरित्रका बारेमा व्याख्या गरे । उनले विचाराधीन मुद्दाको विषयमा संसदमा पनि कुरा गर्न नमिल्ने बताउँदै भने- ‘सबै विषयमा कुरा गरौं तर, विचाराधीन मुद्दाको विषयमा कुरा नगरौं ।’

नेपाली समाज अहिले पनि बसाइँ उपन्यास र मुनामदनमा चित्रण गरिएको भन्दा फरक नरहेको उनले विश्लेषण सुनाए ।

आफूले एउटा अंशसम्बन्धी मुद्दाबाहेक अरुमा अन्तिम फैसला नगरेको भन्दै जोशीले अन्तिम फैसला नगरेको विषयमा टिप्पणी गर्न नमिल्ने जवाफ दिए । एनसेलको मुद्दामा आफूले फैसला नगरेको बताउँदै जोशीले मिडियामा आएका समाचार झूठा भएको बताए ।

जोशीको जवाफ पढ्नुहोस्

जुन प्रश्नको जवाफ प्रस्तावित प्रधानन्यायाधीशले दिएनन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment