Comments Add Comment

१० महिनामा तेस्रोपटक अमेरिका लागे रामकृष्ण, न्यूयोर्कमा ‘ढकाल सुमधुर साँझ’

वरिष्ठ गायक रामकृष्ण ढकाललाई अमेरिका पानी पँधेरो झैं बनेको छ । पछिल्लो १० महिनाभित्र तेस्रोपटक बुधबार उनी अमेरिका प्रस्थान गर्दैछन् ।

यसपटक आफ्नो यात्राका मुख्य दुई प्रयोजन रहेको ढकालले बताए । पहिलो, आगामी शनिबार न्यूयोर्कमा ‘ढकाल सुमधुर साँझ’ आयोजना हुँदैछ । उनले यसअघि नेपाल बाहिर एकल कन्सर्टहरु धेरै गरे पनि लाइभ ब्यान्डका साथ प्रस्तुति दिएका थिएनन्, जुन यसपटक हुँदैछ ।

करिब अढाई घन्टा लामो हुने यस कन्सर्टमा ढकालले आफ्ना लोकपि्रय दुई दर्जन जति गीत गाउनेछन् । युगल गीतहरुमा उनलाई अमेरिकामै रहेका नेपाली गायिकाले साथ दिने छन् । कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीको पनि सहभागिता रहने जानकारी ढकालले दिए ।

ढकालले पहिलोपटक २०४५ मा राष्ट्रिय सभागृहमा ‘ढकाल सुमधुर साँझ’ को नाममा एकल प्रस्तुति दिएका थिए । त्यसको १० वर्षपछि २०५५ सालमा दोस्रोपटक एकेडेमीमा आयोजना भयो, जुन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको थियो । यसैगरी तेस्रोपटक २०७० सालमा उनले २५ भन्दा बढि म्युजिसियनहरुका साथ गाएका थिए ।

‘अमेरिकामा पहिलोपटक हुन लागेको ढकाल सुमधुर साँझलाई लिएर म अत्यन्त उत्साहित छु,’ प्रस्थान गर्नुअघि ढकालले अनलाइनखबरलाई भने ।

रामकृष्णका अनुसार उनको कन्सटृमा संगीतकार सुशील विश्वकर्मा, बाँसुरीवादक प्रमोद उपाध्याय, मादलमा न्हुच्छे ढंगोल, विष्णु सुनुवार, टेकदुत राज, शिशिर श्रेष्ठलगायतको टोलीले साथ दिनेछ ।

हिमालयन इभेन्ट्सले आयोजना गरेको कार्यक्रम न्यूयोर्कको क्वीन्स उडसाइड भन्ने ठाउँमा सम्पन्न हुने छ । कार्यक्रममा हजारौं दर्शकको साथ रहने ढकालको अपेक्षा छ ।

यसैगरी अमेरिकामा ढकालको दोस्रो महत्वपूर्ण कार्यक्रम आगामी अगष्ट ४ मा हुनेछ । अमेरिकामा रहेका नेपालीहरुमाझ पहिलोपटक आयोजना भएको गायन रियालिटी शो ‘मेरो भ्वाइस कप’ को फाइनलमा उनी सहभागी हुनेछन् । अमेरिकामा बस्ने नेपालीहरुले भाग लिएको यस रियालिटी शोमा उनी एक निणर्ायक हुन् ।

१० महिना अगाढि  यस शोको उद्घाटन समारोहका लागि ढकाल अमेरिका गएका थिए । त्यसपछि टप १२ को सुट गर्न उनी केही साता अगाडि मात्रै  गएर फर्किए । ओहायो राज्यको एक्रोन भन्ने शहरमा फाइनल आयोजना हुँदैछ, जसका लागि ६ हजारभन्दा बढि दर्शक क्षमताको अडिटोरियम बुक गरिएको छ ।  अन्तिम चारमा पुगेका प्रतिस्पर्धिहरुले फाइनलमा प्रतिस्पर्धा गर्दैछन् । विजेताले १० हजार डलर पुरस्कार र ट्रफी पाउनेछन् ।

अमेरिकापछि क्यानाडा पनि जाने ढकालको योजना छ । यद्यपि, नेपाल फर्केर जाने वा सिधै उतैबाट जाने तय नभइसकेको उनले बताए । क्यानाडामा भने उनी पहिलोपटक जान लागेका हुन् ।

‘क्यानाडामा पनि मेरो धेरै नेपाली फ्यानहरु हुनुहुन्छ । उहाँहरुले पहिल्यैदेखि बोलाइरहनु भएको थियो, यसपाली मौका जुरेको छ,’ ढकालले भने । सेप्टेम्बरको १ तारिकमा क्यानाडाको टोरन्टोमा ५-६ हिमालयन फेस्टिबल आयोजना हुँदैछ । हरेक वर्षको १ सेप्टेम्बरमा आयोजना हुने फेस्टिबलको यो १२ औं संस्करण हो । ५-६ हजार नेपालीहरुको सहभागीता रहने फेस्टिबलमा नेपाली कला, संस्कृति, भेषभुषा, खाना र सांगीतिक प्रस्तुतिहरु रहनेछन् । यसमा ढकालले आफ्नो प्रस्तुति दिनेछन् । त्यसपछि उनले ओटोवामा पनि प्रस्तुति दिने कार्यक्रम छ ।

विविध कारणले विदेशमा बसिरहेका नेपालीहरुमा नेपाली गीत-संगीतप्रति ठूलो लगाव रहेको ढकालको अनुभव छ । उनीहरु विशेषतः राष्ट्रियताले ओतप्रोत गीत सुन्न रुचाउने गरेको उनले बताए ।

‘विदेशमा म आफ्नो हरेक प्रस्तुति राष्ट्रिय भावना बोकेका गीतबाट सुरु गर्छु,’ उनले भने ।

ढकालले गाएको ‘बिहान उठ्ने वित्तिकै हिमाल देख्न पाइयोस’ गीत विदेशमा रहेको नेपाली डायस्पोरामा अत्यधिक रुचाइन्छ ।

नेपालबाट अमेरिकामा गएर बसिरहेका भुटानी समुदायले पनि नेपाली गीत-संगीतलाई अत्यधिक माया गर्ने ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment