Comments Add Comment

माथिल्लो तामाकोशीको शेयर काठमाडौँबाटै भर्न पाइने

फाइल फोटो

११ साउन, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन दिन थप सहज बनाइएको छ ।

गोरखा भूकम्पका कारण दोलखामा बसोबास गर्दै आएका नागरिक काठमाडौँ उपत्यकामा बसोबास गर्ने क्रम बढेका कारण उनीहरुका लागि आफू बसेको स्थानबाटै शेयरमा आवेदन गर्न पाउने व्यवस्था गरिएको हो ।

नेपालको आफ्नै लगानीमा निर्माण भइरहेको ४५६ मेगावाट क्षमताको सो आयोजनामा धेरैभन्दा धेरै नागरिकको सहभागिता गराउने लक्ष्यका साथ सरोकार भएका सबै पक्षसँग सहमतिसमेत जुटाएको छ ।

नेपाल धितोपत्र बोर्ड, आयोजना, आयोजना प्रभावित क्षेत्रका जनप्रतिनिधि र सरोकार भएका व्यक्तिको उपस्थितिमा बिहीबार भएको छलफलमा दोलखावासी सबैलाई न्यूनतम शेयर उपलब्ध गराइनेछ ।

बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार काठमाडौँ उपत्यकाभित्रैबाट पनि शेयर आवेदन दिन पाउने गरी व्यवस्था गरिएको छ । स्थानीयवासीले साधारण शेयर आवेदन दर्ता जिल्ला जानै पर्ने बाध्यताको समेत अन्त्य भएको छ ।

दोलखावासीले लामो समयदेखि राख्दै आएको मागको समाधान भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता आनन्द पोखरेलले जानकारी दिए । भूकम्प, बसाइँ सराइ गरेर आएकालाई समेत सहजरुपमा नै शेयर आवेदन गर्न दिइने विषयमा सहमति भएको र त्यसले लामो समयदेखि उठ्दै आएको मागको सम्बोधन भएको उनको भनाइ छ ।

आयोजनाले स्थानीय तह बन्नुभन्दा पहिल्यै गरिएको निर्णयका आधारमा शेयरमा आवेदन गर्दा अति प्रभावित, कम प्रभावित र प्रभावित गरी तीन श्रेणीमा विभाजन गरेको थियो ।

स्थानीयवासीले तह निर्धारण वैज्ञानिक नभएको भनी गुनासो गर्दै आएका थिए । सरोकार भएका निकायबीचको छलफलका आधारमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने अन्य आयोजनामा शेयरको विषयमा थप लचिलो बन्ने र कम शेयर पाउने नागरिकलाई सम्बोधन गरिने भएको छ ।

सहमतिअनुसार हितग्राही खाता नभएका दोलखावासीलाई शेयर आवेदन गर्न दिइनेछ । नेपाल स्टक एक्सचेञ्जमा शेयर सूचीकृत हुन केही समय लाग्ने भएकाले तत्काल हितग्राही खाता नभए पनि केही फरक नपर्ने देखिएको छ ।

शेयर आवेदकलाई सहजताका लागि स्वयंसेवक परिचालन गरी दोलखाका गाउँ गाउँमा परिचालन गरिनेछ । उनीहरुले स्थानीयवासीको घर घरमा नै गएर शेयर संकलन गर्ने, शेयर फाराम भराउने काम गर्नेछन् ।

हितग्राही खाता भएकाले त्यस्तो खाता संलग्न गराउने छन् भने नभएकाले पनि तत्काल भने शेयरमा आवेदन दिन पाउने गरी व्यवस्था गरिएको बोर्डका प्रवक्ता गिरीको भनाइ छ । दोलखामा रहेको बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ ।

बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले सहमति भएको विषयलाई बोर्ड सञ्चालक समितिको बैठकबाट निर्णय गरिने र सार्वजनिकरुपमा जानकारी गराउने वचन दिएका छन् ।

तामाकोशीको साधारण शेयर यही साउन १६ देखि भदौ १४ गतेसम्म बिक्री गरिनेछ । आयोजना प्रभावित दोलखाका स्थानीयवासी र सर्वसाधारणलाई गरी दुई अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको दुई करोड ६४ लाख ७५ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको छ । स्थानीयवासीलाई शेयर बाँडफाँड गरेपछिमात्रै आमनागरिकलाई शेयर बिक्री गर्ने तयारी गरिएको छ ।

आयोजनाको व्यवस्थाअनुसार स्थानीयवासीलाई रु एक अर्ब पाँच करोड ९० लाखबराबरको एक करोड ९० लाख कित्ता शेयर बिक्री गरिनेछ । यस्तै सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड ८५ लाखबराबरको एक करोड ५८ लाख ८५ कित्ता साधारण शेयर बिक्री गरिनेछ । आयोजना प्रभावितले प्रतिकित्ता न्यूनतम ३० देखि अधिकतम ३०० कित्ता शेयर आवेदन गर्न पाउने व्यवस्था गरिएको छ । यस्तै सर्वसाधारणले ५० देखि बढीमा एक हजार कित्तासम्म शेयर आवेदन गर्न पाउने व्यवस्था गरिएको छ ।

माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार हाल आयोजनाको ९६ प्रतिशत काम सम्पन्न भएको छ । आगामी पुस मसान्तसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको सुरुङ मर्मत सम्भारको काम प्रभावकारीरुपमा हुन नसक्दा आयोजना केही ढिलाइ हुन्छ कि भन्ने आशंका बढेको छ ।

भौतिक निर्माण र इलेक्ट्रोमेकानिकलतर्फको काममा उल्लेख्य प्रगति भए पनि सुरुङ मर्मतको काममा केही ढिलाइ भएको प्रवक्ता न्यौपानेले जानकारी दिए । कूल ४७ किलोमिटर लामो प्रसारण लाइनमध्ये हालसम्म २४ किमी प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ । यस्तै १०८ वटा टावर ठडिइसकेको छ भने १२३ वटा टावरको फाउण्डेशन तयार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment