Comments Add Comment

सरकारको ध्यान कृषिमा, बैंकको ध्यान घडेरी र गाडीमा

कृषिमा १० प्रतिशत लगानी गर्न वाणिज्य बैंकहरु डराए

११ साउन, काठमाडौं । कृषि व्यवसाय ओली सरकारको प्राथमिकताभित्र परेको क्षेत्र हो । यही कारण घरजग्गाको कारोबारमा भन्दा कृषिमा कर्जा बढाउन सरकारले वाणिज्य बैंकहरुलाई भनिरहेको छ ।

तर, सरकारको प्राथमिकता कृषितिर हुँदाहुँदै वाणिज्य बैंकहरुले भने घरजग्गा र सवारी कर्जामा लगानी गर्नेतिर जोड दिएका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कृषि क्षेत्रमा न्यूनतम १० प्रतिशत लगानी गर्नुपर्ने मापदण्ड तोकेको छ । सरकारले उर्जा तथा पर्यटन क्षेत्रमा न्यूनतम १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ ।

गत आर्थिक वर्षको मौद्रिक नीतिमा वाणिज्य बैंकहरुले कृषि, पर्यटन र उर्जा लगायतका प्राथमिकता प्राप्त क्षेत्रमा आˆनो कुल कर्जाको न्यूनतम २५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

यसअघिको व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले यसवर्ष कृषिमा मात्रै १० प्रतिशत लगानी गर्नुपर्ने भनेको छ । बाँकी उर्जा तथा पर्यटनमा कम्तिमा पनि १५ प्रतिशत लगानी गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ ।

उर्जा तथा पर्यटन क्षेत्रमा १५ प्रतिशत लगानी गर्न गाह्रो नभए पनि कृषि क्षेत्रमा तोकिएको १० प्रतिशत लगानी गर्न गाह्रो हुने बैंकरहरुको तर्क छ ।

वाणिज्य बैंकहरुलाई नेपाल राष्ट्र बैंकले तोकेअनुसार कृषि क्षेत्रमा लगानी गर्न सकस हुने देखिएको बैंकरहरु बताउँछन् ।
व्यवसायिक क्षेत्रमा गरेको लगानी चाँडो उड्ने र जोखिम पनि कम हुने भन्दै बैंकहरुले घरजग्गा कारोबार, सवारी तथा विभिन्न व्यवसायमा लगानी गर्ने गरेका छन् । तर, कृषिमा लगानी गर्न उनीहरुले अरुची देखाउँदै आएका छन् ।

अनुत्पादनशील क्षेत्रमा लगानी बढ्दा तरलताको समस्या उत्पन्न हुने गरेको राष्ट्र बैंकको ठहर छ । यसकारण पनि राष्ट्र बैंकले अनुत्पादनशील क्षेत्रको कर्जामा कडाई र उत्पादनशील क्षेत्रको कर्जा लगानी गर्न बैंकहरुलाई प्रोत्साहन गर्दै आएको छ ।

तर, बैंकहरुले भने अनुत्पादक क्षेत्रमा नै बढी लगानी गर्ने गरेका छन् ।

कृषि कर्जामा आकर्षण छैन : शेरचन

कृषि कर्जा बैंकहरुले दिन चाहे पनि लिने मान्छेको अभाव हुने गरेको बैंकहरुले बताउँदै आएका छन् । बैंकहरुले लगानी गर्न चाहे पनि कृषि क्षेत्रमा लगानी तोकिए बमोजिमको हुन नसक्ने प्रभु बैंका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन बताउँछन् ।

नेपाल बैंकर एशोसिएसनका कार्य समिति सदस्यसमेत रहेका बैंकर शेरचन भन्छन, ‘बैंकहरुले लगानी गर्न नचाहने भन्ने हुँदैन, लगानी गर्न चाहे पनि ऋण लिने मान्छे नभएपछि कहाँ लगानी गर्ने ?’

नेपालमा कृषिसम्बन्धी ठूला-ठूला परियोजनाहरु कम भएका कारण यस क्षेत्रमा कम लगानी हुने गरेको बैंकर शेरचनको भनाइ छ ।

कृषिलाई जोखिमपूर्ण क्षेत्रका रुपमा लिइयो : शाह

कृषि क्षेत्रमा तोकिएअनुसारको लगानी हुन नसक्नुमा वाणिज्य बैंकहरुकै कमजोरी रहेको नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह बताउँछन् ।

गत आर्थिक वर्षमा कूल कर्जाको १० प्रतिशत कृषि क्षेत्रमा लगानी भए पनि अधिकांश वाणिज्य बैंकहरुले तोकिए अनुसारको लगानी गर्न नसकेको बैंकर शाहले बताए ।

वाणिज्य बैंकहरले कृषि क्षेत्रलाई जोखिमयुक्त क्षेत्रका रुपमा लिएर कम प्राथमिकतामा राखेको उनले स्वीकार गरे । कमर्सियल क्षेत्रमा लगानी गर्ने बानी परेका कारण बैंकहरुले कृषि क्षेत्रमा लगानी गर्न नसकेको उनको अनुभव छ ।

‘नेपालको कृषि मौसममा आधारित छ, जसका कारण अलि बढी जोखिम छ’ उनले भने, ‘व्यवसायिक कर्जा भन्दा सानो किसिमको हुने हुँदा पनि कृषि क्षेत्रमा लगानी कम भएको हो ।’

शाहले गत आर्थिक वर्षमा नेपाल बैंक लिमिटेडले समेत कृषि क्षेत्रका लागि तोकिएअनुसारको लगानी पुर्‍याउन नसकेको बताए । यद्यपि, नेपाल बैंकले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उनले जानकारी दिए ।

कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न यसपालिदेखि नेपाल बैंक लिमिटेडले छुट्टै शाखा नै खोलेको जानकारी दिँदै चालु आर्थिक वर्षमा लक्ष्य पुग्ने किसिमले काम गर्ने बताए ।

कृषि कर्जाले लागत बढाएको छ : खालिङ

कृषि क्षेत्रमा सानो आकारको कर्जा बढी लगानी गर्नुपर्ने कारण तोकिए अनुसारको लगानी पुर्‍याउन समस्या हुने गरेको नेपाल बैंकर एशोसिएसनका कार्यकारी सदस्य एवं लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बताउँछन् ।

बैंकर खालिङ भन्छन्, ‘वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा लगानी गर्न नचाहेका होइनन् चाहेका छन् त सानो आकारको कर्जा हुने र यसले लागतसमेत बढाउने हुँदा केही समस्या देखिएको छ ।’

यस्तो कर्जा विशेष गरेर लघुवित्त वित्तीय संस्थाहरुले लगानी गर्दै आएका छन् र उनीहरुले नै गर्नुपर्ने खालिङको भनाइ छ । यद्यपि, अब वाणिज्य बैंकहरु कृषि क्षेत्रमा लगानी बढाउन प्रयासरत रहेको उनले बताए ।

गाउँपालिकाहरुमा धमाधम शाखा विस्तार गरिरहेको र नयाँ शाखाहरुबाट कृषि क्षेत्रमा राम्रो लगानी हुने खालिङको भनाइ छ ।

घरजग्गा कर्जामा आकर्षण

पछिल्लो तथ्यांकले बैंकिङ क्षेत्रको लगानी धेरै घरजग्गा क्षेत्रमा रहेको देखाएको छ । राष्ट्र बैंकले अनुत्पादक क्षेत्रको रुपमा राखेर घर जग्गा क्षेत्रको लगानीमा कडाइ गर्दै आएको भए पनि यस क्षेमा बैंकिङ क्षेत्रको लगानी बढ्दै गएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१ प्रतिशत बढी कर्जा घर जग्गाको धितोमा रहेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकले बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा १२.८ प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा १३.३ प्रतिशतले बढेको देखाएको छ ।

वर्षेनी रुपमा हुने लगानी योग्य पूँजीको अभाव हटाउन भन्दै राष्ट्र बैंकले अनुत्पादनशील क्षेत्रको लगानीमा कडाइ गर्दै आएको छ ।

उत्पादनशील क्षेत्रमा तोकिएको २५ प्रतिशत पनि पुर्‍याउन नसकेका बैंकहरुले गत आर्थिक वर्षमा रियलस्टेट कर्जामात्रै करिब १५ ले बढाएको राष्ट्र बैंक स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment