Comments Add Comment

उपप्रधानमन्त्री यादव थाइल्याण्डबाट स्वदेश फिर्ता

११ साउन, काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव थाइल्याण्ड भ्रमणबाट शुक्रबार स्वदेश फर्किएका छन् ।

यादवले बैंकक भ्रमणका क्रममा भएको उच्चस्तरीय वार्तामा स्वास्थ्य र शिक्षा क्षेत्रमा दुबै मुलुकले एकआपसमा सहयोग, सहकार्य गर्ने सहमति गरेको बताए ।

‘नेपालका मेडिकल कलेजहरूको स्तरोउन्नति, स्वास्थ्य सेवा प्रदान, उच्चस्तरीय नर्सिङ तालिम प्रदान गर्ने सहमति भएको छ’, उनले भने, ‘नेपालका अस्पतालहरूलाई आधुनिकीकरण गर्नेबारेमा पनि सहमति भएको छ ।’

थाइल्याण्ड सरकारले नेपालमा चिकित्सा विज्ञान क्षेत्रमा अध्ययनका लागि सहयोग गर्ने आश्वासन दिएको यादवले बताए । ‘युनिभर्सल हेल्थ कभरेजको लक्ष्य प्राप्त गर्न नेपाललाई सहयोगका साथै स्वास्थ्य तथा शिक्षा क्षेत्रमा मिलेर काम गर्ने सहमति भएको छ’ उनले भने ।

नेपाली विद्यार्थीलाई चिकित्सा विज्ञान, नर्सिङ लगायतका क्षेत्रहरूमा अध्ययन र तालिमको लागि सहयोग गर्ने सहमति भएको पनि मन्त्री यादवको भनाइ छ । ‘महिडोल विश्वविद्यालयले नेपाली विद्यार्थीलाई चिकित्सा क्षेत्रमा अध्ययन तथा छात्रबृत्ति लगायत अन्य सहयोग प्रदान गर्ने सहमति भएको छ । थाइल्याण्ड सरकार पनि सकारात्मक छ ।’

थाइल्याण्ड सरकारसँग भएको वार्ता र सहमतिले नेपालको चिकित्सा विज्ञान र शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने स्वास्थ्यमन्त्री यादवले विश्वास व्यक्त गरे ।

थाइल्याण्डको महिडोल विश्वविद्यालयमा आयोजित सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री यादव यादव गत मंगलबार त्यसतर्फ प्रस्थान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment