Comments Add Comment

सप्तपरी सिड्नीमा: नेपाली कला र श्रृंगारको सशक्त संयोजन


अष्ट्रेलिया । सिड्नीमा मौसमी जाडोले बिदा लिनै लाग्दा विभिन्न गतिविधिहरुको सरगर्मी बढीरहेको छ । कहिले भड्किला मनोरन्जनात्मक कार्यक्रम त कहिले उच्चाट लाग्दा भाषण आयोजना हुने सिड्नीका सामाजिक कार्यक्रममा यो भने फरक छ । स्पष्ट दृष्टिकोण, कुशल ब्यवस्थापन र सफल नेतृत्व यो कार्यक्रमको विशेषता हो ।

नेपाली कला र श्रृंगारको संयोजन ‘सप्तापरी’ नाम राखिएको कार्यक्रमको मुख्य दृष्टिकोण समाजमा भएको उत्पीडन र असमानतालाई पराजित गरेका सफलताका जिबन्त कथा प्रस्तुत गर्ने हो र, मनोरन्जन, उत्प्रेरणा र सशक्तिकरणले उत्पीडन र असमानताको खाडल पुर्नु पनि हो ।

अस्ट्रेलियामा आयोजना हुँदै गरेको यो कार्यकमको समग्र परियोजनाको नेतृत्व गरेकी छिन्– उषाकिरण बारिया पोखरेलले । यहाँको नेपाली समाजमा कलाकार, कोरियोग्राफर र सामाजिक नेताका रुपमा स्थापित उषाको मुख्य ब्यवस्थापनमा सिड्नी शहरको केन्द्रमा रहेको विशाल हलमा हुँदै गरेको कार्यक्रम शनिबार साँझ ६ सुरु हुनेछ ।

उषा बारिया पोखरेल स्कुले जीवनदेखि कलाकारितामा रुचि राख्थिन् र प्रतिभा पनि थियो । अष्ट्रेलिया आएपछि उनले आफ्नो रुचि र प्रतिभालाई नेपाली अष्ट्रेलियन समुदायका कार्यक्रमहरु, यहाँका सरकारी काउन्सिलका कार्यक्रमहरु र भारतीय अष्ट्रेलियन समुदायका कार्यक्रमहरुमा पनि प्रस्तुत गर्न थालिन् । उनी अहिले गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदकी सबैभन्दा कम उमेरकी निर्वाचित सदस्य हुन् ।

यो कार्यक्रम एउटा परियोजनाको स्तरमा उठ्नुका केही विशेषता छन् । नेपालमा समकालीन युवा पुस्तामा असल नाम कमाएका सात जना सफल महिला पात्रहरुको मुख्य उपस्थिति र प्रस्तुति हुनु पहिलो बिशेषता हो भने सिड्नीमा बिभिन्न पेशामा सशक्तरुपमा स्थापित महिला नेतृत्वहरुको पनि विशेष प्रस्तुति हुनु अर्को विशेषता हो । नेपाली ढाकाको आधुनिक श्रृंगारसहितको पहिरन स्थापित गर्नु तेस्रो विशेषता हो । यो कार्यक्रमबाट आर्जन हुने रकम समाजसेवी काममा हस्तान्तरण गरिने घोषणा हुनु अर्को विशेषता हो ।

अष्ट्रेलियाको नेपाली समुदायमा स्थापित हुँदै गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय परिषदमा रहेर युवा संयोजकको सफल भूमिका निर्वाह गरेका विजय पोखरेल भन्छन्– अहिले राज्यहरुले महिला अधिकार र लैंगिक हिंसा सम्बन्धी थुप्रै कानूनहरु बनाएका छन् तर ब्यवहारमा लागु हुन सचेतता र सशक्तीकरण छैन । यो कार्यक्रम महिला सशक्तीकरणमा प्रेरणादायी हुनेछ ।

सप्तापरी कार्यक्रमको चर्चा र प्रचार अष्ट्रेलियाको नेपाली समुदायबीच ब्यापकरुपमा भएको छ । यहाँका सामाजिक नेताहरुले आफ्नो सामाजिक सन्जाल, सार्वजनिकस्थल तथा पारिवारिक समारोहहरुमा पनि यो कार्यक्रमको प्रचार गर्ने गरेका थिए । अष्ट्रेलियाको विशेष प्रशारण सेवा, यहाँ स्थापित अनलाइन तथा छापा माध्यमहरुले विशेष सामग्री बनाएर प्रकाशण तथा प्रशारण गरेका छन् ।

यो कार्यक्रमको आन्तरिक ब्यवस्थापनमा सिड्नीका सशक्त नेपाली महिलाहरु पनि लागेका छन् । नेपालबाट आएका पाहुना बाहेक अष्ट्रेलियामा फरक–फरक करिअरमा स्थापित महिलाहरु संयुक्त रुपमा स्टेजमा देखिने छन् । यस हिसाबले यो समग्र कार्यक्रम नेपाल र अष्ट्रेलियाका नारी प्रतिभाहरुको संयुक्त समारोह पनि बन्ने छ । कला तथा पहिरनको संयोजनमा सप्तपरी सफल बन्नेछ ।

यो कार्यक्रमको एक उद्देश्य सहभागी दर्शकलाई भरपुर मनोरन्जन दिने त छदैछ, त्यसबाहेक उत्प्रेरणादायी मन्तव्यहरु, नेपाली ढाकालाई आधुनिक पहिरनमा डिजाइन गरी श्रृंगारको रुपमा प्रस्तुत गर्नु पनि हो । नेपाली ढाकाका आधुनिक पहिरनकी डिजाइनर मुक्ता श्रेष्ठका अनुसार यो उनका लागि अनुपम अवसर हो । किनकी उनका डिजाइनहरुको माग सबैभन्दा बढी अष्ट्रेलियामै छ ।

नेपालबाट आएकी निकिता चन्दक अघिल्लो वर्षको सुश्रीसुन्दरी हुन् । सुन्दरी प्रतियोगिताको बारेमा विश्वभर विभाजित मत रहेता पनि सिड्नी आइपुगेकी नेपाल सुन्दरी निकिताले आफ्नो विनम्र भावमा भनिन्– हामी सबैका पछाडि संघर्षका आ–आफ्नै कथा छन् तर हामी यहाँको नेपाली समाजलाई सिकाउन होइन केही सिक्न आएका छौं ।

युवा अवस्थामा प्रवेश गर्दै गर्दा दृष्टि गुमाएकी सृष्टि केसी प्रेरणादायी ब्यक्तित्व र वक्ता दुवै हुन् । उनले आफ्नो जीवन संघर्ष र अनुभूति साट्नुका साथै केही ‘सरप्राइज’ प्रस्तुति पनि गर्ने छिन् । जिबन्त त्यो हेर्न भने सिड्नी समयको शनिबार राति आठ बजेपछिको समय कुर्नु पर्नेछ र आफै कार्यक्रम स्थलमा उपस्थित हुनुपर्नेछ ।

‘सप्तपरी’ परियोजनामा हस्ताक्षर गरेदेखि सिड्नी आइपुग्दासम्म परिचर्चा, यहाँको आतिथ्यता सत्कार र प्रेम देखेर नेपाली चलचित्रकी नायिका स्वस्तिमा खड्कालाई आफूहरु परी बनेर उडिरहेको गौरवमय अनुभूति भैरहेको छ । शनिबार साँझको व्यग्र प्रतिक्षामा उनी छिन् । भन्छिन् – किनकि मेरा धेरै दर्शक, फ्यान र फलोअर पनि अस्ट्रेलियामै छन् ।

अर्की नायिका वर्षा राउतको भनाइमा– मलाई भाषण गर्न भने आउँदैन तर मेरो प्रतिभा आँखा चिम्लेर प्रस्तुत गर्ने छु ।

कार्यक्रममा एलिशा राई र रेजिना रिमालको पनि फरक–फरक प्रस्तुति हुने छ । साथमा अष्ट्रेलियामा क्रियाशील कलाकारहरु पनि आ–आफ्नो प्रस्तुतिसहित टाउन हलमा सहभागी हुनेछन् ।

सिड्नीमा हरेक सबअर्ब र बस्तीमा टाउन हल छन् । तर अरु हजारौंले जस्तै प्रत्येक दिन नेपालीहरुले पनि मिलन र बिश्रामस्थल बनाउँदै आएको टाउन हल भने सिड्नीको मुख्य शहरभित्र छ । उन्नाइसौं शताब्दिको अन्ततिर बनेको यो टाउन हल सिड्नी शहरमुनि भूमिगत भएर जाने रेल मार्ग माथि उभिएको छ । ‘सिटी सर्कल’ नामले परिचित यो रेल मार्गले सिड्नीका चारै दिशालाई जोड्छ । आजको कार्यक्रममा सिड्नीका सबै स्थानहरुबाट रेल मार्गबाट आउन निकै सजिलो पनि छ ।

इन्जिनियर जोन ब्राडफिल्डको परिकल्पना र रेखांकनमा बनेको सिटी सर्कल रेलमार्ग माथिको टाउन हल भने १८८९ मा बनेको थियो र एक सय वर्षपछि यसको पुनर्निर्माण गरिएको थियो । इन्जिनियर जोन एच विल्सनले डिजाइन गरेको यहि आधुनिक हलमा आज नेपाली चेलीहरुले डिजाइन गरेको भब्य कार्यक्रम सम्पन्न हुँदैछ ।

नेपाली मजदुर, जिद्यार्थी, व्यवसायीहरुको सिड्नी शहरभित्रको मिलन थलो टाउन हलमा हुन लागेको ‘सप्तपरी’ कार्यक्रममा दुई हजारभन्दा बढी मानिस सहभागी हुन सक्ने छन् । यसअघि यो हलमा नेपालका चर्चित मह जोडी र नेपथ्य समूहले मात्र कार्यक्रम गरेका थिए ।

सिड्नीको ऐतिहासिक, आधुनिक तथा पुरातात्विक महत्वको स्थानमा आयोजना हुने उक्त कार्यक्रममा नेपालबाट सशक्तीकरणका बिभिन्न विधामा योगदान पु¥याएका श्रृस्टी केसी, निकिता चन्दक, वर्षा राउत, स्वस्तिमा खड्का, बेनिसा हमाल, एलिशा राई, रजनी रिमाल, रक्षासिंह राणा र मोक्ता श्रेष्ठ नेपालबाट सहभागि छन् ।

आयोजकहरुका अनुसार कार्यक्रमबाट संकलन हुने रकममध्ये केही नेपालमा भूकम्प पीडित बालबालिकाको लागि सेवारत संस्था ‘जीवन उत्थान’लाई हस्तान्तरण गरिने भएको छ ।

कार्यक्रममा सिड्नीका व्यवसायीहरुले पनि व्यवसायिक सहभागिता दर्शाएका छन् । एक्सपोर्ट एजुकेसन तथा भिसा सर्भिस उक्त कार्यक्रमको शीर्ष प्रायोजक छ । अरु दुई दर्जन नेपाली ब्यवसायीले पनि सहभागिता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment