Comments Add Comment

नेपाली व्यवसायीद्वारा शैक्षिक परामर्शमा वैदेशिक लगानीको विरोध


१३ साउन, काठमाडौं । शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएका नेपाली व्यवसायीहरु संगठित पाँच संस्थाहरुले शैक्षिक परामर्शको क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीको विरोध गरेका छन् ।

अष्ट्रेलियन परामर्शदाता कम्पनी आईडीपीले प्रत्यक्ष रुपमा नेपाली विद्यार्थीहरुलाई परामर्श दिने उद्देश्यले कार्यालय स्थापनाको तयारी गरेपछि नेेपाली शैक्षिक परामर्शदाता व्यवसायीले विरोध गरेका हुन् ।

उनीहरुले शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रलाई संवेदनशील क्षेत्र घोषणा गरी यस्ता क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीमा रोक लगाउनुपर्ने माग गरेका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एजुकेशनल कन्सल्टेन्सी एसोसिएन अफ नेपाल (इक्यान), फ्री एजुकेशन कन्सल्टेन्सीज अर्गनाइजेसन नेपाल (फेकोन), इन्टरनेसनल एजुकेसन रिपि्रजेन्टेटिभ्स इनिसिएटिभ अफ नेपाल (आइरिन), नेप्लिज एसोसिएसन अफ अष्ट्रेलिया एजुकेसन रिप्रिजेन्टेटिभ्स (नाएर) र जाप्निज ल्याङ्वेज स्कूल एसोसिएसन अफ नेपाल (जाल्सान)ले नेपाली परामर्शदाता कम्पनी सक्षम र आत्मनिर्भर रहेकाले विदेशी लगानी ल्याउन नहुने धारणा राखेका हुन् ।

आईईएलटिएस परीक्षा सञ्चालन गर्दै आइरहेको आईडीपीले केही दिन अघि नेपालमा परामर्श दिने कार्यालय पनि स्थापना गर्ने घोषणा गरेपछि नेपाली व्यवसायीहरु एकाएक त्यसको विरोधमा उत्रिएका हुन् ।

पत्रकार सम्मेलनमा इक्यानका अध्यक्ष बिष्णुहरी पाण्डेले भने, ‘हामीले आईडीपीको मात्रै विरोध गरेका होइनौं, तर आईडीपी आउनासाथै अन्य धेरै विदेशी कम्पनीहरु नेपाल आउन तयार भएर बसेका छन् । त्यसले अस्वस्थ प्रतिस्पर्धा बढाउने र वर्षेनी अर्बौं रकम नेपालबाट बाहिरिन्छ ।’

नेपाली परामर्शदाता कम्पनीहरु सबै हिसाबले सक्षम र आत्मनिर्भर भएको दाबी गर्दै उनले भने, ‘विदेशी कम्पनी आउँदा नेपालीहरुले सञ्चालन गरिरहेका साना परामर्शदाता कम्पनी बन्द हुने अवस्थामा पुग्छ र धेरै नेपालीहरुको रोजगारी गुम्न सक्छ ।’

फेकोनका अध्यक्ष युवराज कटुवाल, आइरिनका अध्यक्ष कुमार कार्की, नायरका महासचिव विज्ञान श्रेष्ठ, जाल्सानका प्रथम उपाध्यक्ष झमकलाल श्रेष्ठ, इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे लगायतले शैक्षिक परामर्शको क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीको विरोध गरेका थिए ।

शिक्षा मन्त्रालयले आईडीपीलाई नेपालमा लगानी गर्न नदिनु भन्ने राय उद्योग मन्त्रालयलाई पठाउँदासमेत नेताहरुसँगको सम्बन्धको आधारमा आईडीपी नेपालमा प्रवेश गर्न लागेको व्यवसायीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment