Comments Add Comment

एकदिवसीय मान्यतासम्मको यादगार र रोमाञ्चक यात्रा

१४ साउन, काठमाडौं । नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल बुधबार नेदरल्यान्ड्ससँग खेल्दैछ । नेपाली क्रिकेटका लागि एउटा गौरवपूर्ण र ऐतिहासिक परिघटना हो ।

आठ वर्ष अगाडि डिभिजन ५ खेलिरहेको नेपाललाई एकदिवसीय खेलका लागि योग्य बनाउने क्रममा धेरै खेलाडीहरु जोडिए । जसमध्ये कप्तान पारस खड्काको भूमिका सबैभन्दा महत्वपूर्ण रह्यो । ब्याटिङ, बलिङ, फिल्डिङ र कप्तानी चारै पक्षमा उनले योगदान दिएका छन् ।

उनै कप्तान खड्काले आइसीसीसँग नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटसम्मको यात्राका बारेमा आफ्नो अनुभूति यसरी सुनाए :

यो नेपाली क्रिकेटका लागि लामो र रोमाञ्चक यात्रा रहृयो । तर, नेदरल्यान्डसविरुद्ध पहिलो वान डे इन्टरनेसनल खेल्नु भनेको नयाँ सुरुवात मात्रै हो ।

हामीले सँधै यो विन्दुमा आउन चाहेका थियौं । र, अब यसबाट अगाडि बढ्नुपर्ने चुनौती छ ।

आठ वर्ष अगाडि हामी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ५ खेलिरहेका थियौं । अहिले हामी विश्वका १६ राष्ट्रभित्र छौं र आगामी चार वर्षका लागि ओडीआई स्ट्याटस (एक दिवसीय मान्यता) सुरक्षित छ ।

मलाई आशा छ कि हामी निरन्तर अगाडि बढ्ने छौं र आफूलाई परिस्कृत गर्दै लैजाने छौं । हाम्रो अबको लक्ष्य भनेको टेस्ट राष्ट्र बन्ने नै हो । नेदरल्यान्ड्सविरुद्धको दुई म्याचको श्रृङ्खलाले हामीलाई आफ्नो क्षमता उजागर गर्ने थप एउटा मौका दिएको छ । आशा छ, यो श्रृङ्खलामा हामी राम्रो प्रदर्शन गर्न सफल हुनेछौं ।

पछाडि फर्केर हेर्दा अलिकति आश्चर्यजनक पनि लाग्छ । मेरो आफ्नो कुरा गर्दा मैले काठमाडौंमा स्कुल पढ्दै गर्दा बाल्यकालमै क्रिकेट खेल्न सिकेँ । म पानी पर्ने सिजनमा फुटबल खेल्थेँ भने बाँकी समय क्रिकेट खेल्थेँ । त्यतिबेला मैले पनि कुनै दिन राष्ट्रको प्रतिनिधित्व गर्दै क्रिकेट खेल्नेछु भन्ने कल्पनै गरेको थिइनँ । तर, भावीको आफ्नै योजना हुँदो रहेछ ।

अन्डर १५ लेभलमा छनोट भएपछि मेरो क्रिकेट करिअरले नयाँ मोड लियो । त्यसपछि कहिल्यै पछाडि फर्किनु परेन ।
त्यसपछि हामीले आईसीसी अन्डर १९ विश्वकप खेल्यौं । म सहभागी भएको अन्डर १९ टिमले साउद अफ्रिकालाई दुईपटक हरायो भने न्यूजिल्यान्ड र जिम्बाबेलाई पनि स्तब्ध बनायो । अन्डर-१९ बाट हामीले विश्वकै उत्कृष्ट टिम र खेलाडीहरुसँग खेल्ने मौका पायौं ।

सबैभन्दा खुशीको क्षण सम्झिनु पर्दा म २७ नोभेम्बर २०१३ लाई सम्भिmन्छ, जब हामीले अन्तिम बलमा हङकङलाई पराजित गर्दै बंगलादेशमा हुने आईसीसी वल्र्ड टि-२० मा पहिलोपटक छनोट भयौं । त्यो खेलमा म अति नर्भस थिएँ ।

आईसीसी टी-२० मा हामीले हङकङ, बंगलादेश र अफगानिस्तानविरुद्ध सन्तोषजनक प्रदर्शन गर्‍यौं । आफूलाई यो स्थानका लागि योग्य सावित गर्‍यौं ।

अनि, यो वर्ष नामिबियामा आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन-२ बाट छनोट भएर हामीले जिम्बाब्वेमा आईसीसी वल्र्ड कप क्वालिफायर खेल्यौं । यो पनि हाम्रो लागि उत्तिकै अविस्मरणीय छ । यो वर्ष हाम्रो पुस्ताका क्रिकेटरहरुका लागि निकै फलिफापपूर्ण सावित भएको छ ।

हाम्रो टिम स्पिरिट गजबको छ । जुन हाम्रो लागि ठूलो प्लस हो । हामी प्रत्येक रन र प्रत्येक विकेटका लागि संघर्ष गछौंं । टिममा रहेका सबैजना इमान्दार र मेहेनती छौं ।

नेपालमा क्रिकेट फ्यान फलोइङ पनि एकदम गजबको छ । नेपालीहरु रोजगारी तथा अध्ययनका लागि विश्वका विभिन्न देशमा छरिएका छन् । त्यसैले हामी जहाँ गएर खेल्दा पनि नेपाली समर्थकहरुको बाक्लो उपस्थिति हुन्छ, जुन हाम्रो निम्ति उर्जाको स्रोत हो ।

पहिलोचोटि लर्ड्समा २०१६ मा खेलेको क्षणलाई भुलेका छैनौं । भोलिपल्ट बिहान ब्यूँझेपछि मैले आफैंलाई सोधेको थिएँ, ‘के हामीले साँच्चै लड्र्समा खेलेका हौं त ?’ त्यति अपत्यारिलो थियो हाम्रो लागि ।

विश्वका महान खेलाडीहरु रहने डे्रसिङ रुमको हिस्सा हुन पाउँदा गौरव अनुभूति हुने गर्छ ।

हामी अब विश्वकप क्रिकेट २०२३ को छनौट चरणहरुको प्रतिक्षामा छौं । यो एउटा ठूलो अवसर हो । नेपालको सरकारले हामीलाई सहयोग गरिरहेको छ र आशा गछौं कि चाँडै क्रिकेट बोर्ड पनि पूर्ण सक्रिय हुनेछ । यदि हामीसँग पूर्वाधारहरु पर्याप्त भएको खन्डमा नेपालको क्रिकेटलाई निकै माथिसम्म लैजाने क्षमता छ ।

मैले १५ वर्षदेखि नेपालका लागि क्रिकेट खेलिरहेको छु । यति लामो यात्रा होला भन्ने सोचेको थिइनँ । तर, एक दिन त यसबाट विश्राम लिनु नै पर्छ । त्यो ६ महिनाभित्रै पनि हुन सक्छ वा ६ वर्षपछि पनि । अहिले चाहिँ म टिमका लागि बढी भन्दा बढी योगदान गर्न चाहन्छु ।

एउटा कप्तानका रुपमा मेरो यात्रा अत्यन्त यादगार छ र अझै यसले निरन्तरता पाउने आशा लिएको छु । सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ पर्फमेन्स नै हो र टिमलाई बलियो बनाउन सघाउनु नै हो ।

आईसीसी-क्रिकेटबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment