Comments Add Comment

‘ओलीसँग सम्बन्ध बिग्रिएको छैन, सुध्रिएको पनि छैन’

'आफ्नो मुद्दामा म जहाँ थिएँ त्यहीँ छु, ओलीजी फेरिनुपर्‍यो'


१४ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली ‘मधेस आन्दोलनका बेलाको केपी ओली’ जस्तो बन्न नहुने बताएका छन् ।

अनलाइनखबरसँगको अन्तरवार्तामा सांसद महतोले भने- ‘त्योबेला केपी ओलीको अभिव्यक्ति पनि त्यस्तै हुन्थ्यो, जसलाई मधेसी जनताले मन पराएका थिएनन् । मधेसको नेता र आन्दोलनकारीको हैसियतले मैले प्रतिकार गर्नुपर्ने, जवाफ दिनुपर्ने अवस्था थियो । त्यो मेरो धर्म थियो र त्यही गरेँ ।’

महतोले अगाडि भने- ‘मधेस आन्दोलनताकाको केपी ओली भएर बस्ने हो भने सरकार असफल हुन्छ । अहिले त ओली देशको प्रधानमन्त्री हो । अहिले न खोक्रो राष्ट्रवादको नारा दिन मिल्छ, न जनतालाई गुमराहमा राख्न मिल्छ ।’

राजपा नेता महतोले आफ्नो पार्टी सरकारमा जाने अध्याय समाप्त भइसकेको बताए । ओली सरकारबारे आफूहरुले ‘पर्ख र हेर’ को नीति लिएको उनले स्पष्ट पारे ।

समसामयिक राजनीतिक सन्दर्भ र राजपाको भावी नीतिबारे अनलाइनखबरले महतोसँग गरेको कुराकानीः

कुनैबेला मधेसका नेता राजेन्द्र महतो र पहाडका नेता केपी ओली भनेजस्तो गरिन्थ्यो । अहिले त त्यस्तो सुनिँदैन नि ?

हामीबीचको सम्वन्ध न बिग्रिएको थियो, न सुध्रिएको छ । आफ्नो मुद्दामा म त्यतिबेला पनि थिएँ र अहिले पनि छु ।

त्यतिबेला आन्दोलन थियो । आन्दोलनमा गरम कुरा हुन्छ । चर्को कुरा हुन्छ । नारा त्यहीअनुसार हुने नै भो । किनभने गोली चलाइरहेको हुन्छ, मान्छे मरिरहेका हुन्छन् । राज्य पक्ष दमन गरिरहेको हुन्छ । अनि राज्यपक्षलाई चुनौती दिने, भत्सर्ना गर्ने र प्रतिकार गर्ने काम हुन्छ । सोही अनुसारको अभिव्यक्ति पनि आउँछ ।

त्योबेला केपी ओलीको अभिव्यक्ति पनि त्यस्तै हुन्थ्यो, जसलाई मधेसी जनताले मन पराएका थिएनन् । अनि मधेसको नेता र आन्दोलनकारीको हैसियतले मैले प्रतिकार गर्नुपर्ने, जवाफ दिनुपर्ने अवस्था थियो । त्यो मेरो धर्म थियो ।

त्योबेला केपी ओलीको अभिव्यक्ति पनि त्यस्तै हुन्थ्यो, जसलाई मधेसी जनताले मन पराएका थिएनन् । अनि मधेसको नेता र आन्दोलनकारीको हैसियतले मैले प्रतिकार गर्नुपर्ने, जवाफ दिनुपर्ने अवस्था थियो । त्यो मेरो धर्म थियो र त्यही गरेँ । अहिले आन्दोलन छैन । त्यो अनुसारको अभिव्यक्ति पनि छैन । त्यो नभएर सम्बन्ध सुध्रियो कि भनेर जिज्ञासा आएको होला ।

सम्बन्ध सुध्रिन पनि सक्छ । र, त्यसका लागि मैले पटक-पटक आग्रह पनि गरिरहेको छु । तपाई देशको प्रधानमन्त्री हुनुहुन्छ, दुई तिहाइको नेता हुनुहुन्छ । संविधान संशोधन गर्ने हैसियत छ । यत्ति गर्नुभयो भने हामी धन्यवाद दिन्छौं । अन्यथा जनताले पहिलेकै केपी ओली भनेर चित्रण गर्ने अवस्था आउँछ । जनताले त्यही बुझ्छन् ।

केही दिनअघि मात्रै प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउनुभएको थियो, प्रधानमन्त्रीले के भन्नुभयो ?

हामीले प्रधानमन्त्रीलाई स्मरण मात्र गराएका हौँ । हामीले भन्यौं कि केही आशा र उमंग लिएर तपाईलाई समर्थन गरेका हौं । तपाईले भन्नुभएको थियो र अहिले पनि भनिराख्नुभएको छ । तर, संविधान संशोधनका लागि औचित्य र आवश्यकता कहिले आउने हो ? मेरै गोरुको बाह्रै टक्का भनेर त हुँदैन ।

औचित्य र आवश्यकताबारे आफ्नै मनले विश्लेषण कहिलेसम्म गरिराख्ने हो ? हामीले यिनै सवालहरु समेटेर प्रधानमन्त्रीलाई ७ बुँदे ज्ञापनपत्र दिएका छौं । त्यसमा उहाँले सकारात्मक जवाफ दिनुभएको छ । यी काम हामी गछौर्ं भन्नुभएको छ ।

तपाईहरु सरकारसित विश्वस्त हुनुहुन्छ ?

सरकारले गर्छ त भन्नुहुन्छ । तर, कुरा मात्रले त हुँदैन । हाम्रो आन्दोलनका घाइतेहरु, अपाङ्गहरुले केही पाएका छैनन् । आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता भएका छैनन् । हाम्रा सांसदको सपथ भएको छैन । यी काम कहिले हुने हो ? हामीलाई निकास दिनुपर्‍यो भनेका छौं । हामीले अहिले पनि आशा गरेका छौं भनेर भन्यौं ।

र, अहिलेसम्म त हामी सकारात्मक रुपमै प्रस्तुत भएका छौं । अहिले हामी पर्ख र हेरको अवस्थामा छौं । राम्रो गर्‍यो भने धन्यवाद । गर्न सकेन भने हामी पार्टीको बैठक बसेर आवश्यक निर्णय गर्छाैं ।

अहिलेका केपी ओली र चुनावका बेलाका केपी ओलीबीच तपाईले फरक देख्न थाल्नुभएको हो ?

चुनावका बेलामा विभिन्न हथकण्डा अपनाइन्छ, केही छैन । विभिन्न प्रकारका नाराहरु, विभिन्न प्रकारका गतिविधिहरु गरेर चुनाव जितिन्छ । त्यसो भन्दैम्ाा मधेस आन्दोलनको कुरा बिर्सन त भएन । त्यो आन्दोलनको एजेण्डा जनताको एजेण्डा थियो । राजेन्द्र महतोको एजेण्डा त थिएन । त्यसलाई वर्तमान सरकारले आत्मसाथ गरेर जानुपर्छ ।

तर, त्यसतर्फ ठोस संकेत देखापरेको छैन । कार्पेटमुनि फोहोर लुकाएर कोठा सफा भयो भन्न त मिल्दैन नि । समस्या यथावत छ । यी कुराहरु यथावत राखेर देशमा शान्ति, अमनचयन, स्थिरता आइसक्यो भन्नु बेकार छ ।

केपी ओली नेतृत्वको सरकारबारे राजपा मौन बसेको छ, किन ? सरकारबारे तपाईहरुको खास लाइन के हो ?

एक हिसाबको यो शक्तिशाली सरकारको हो । दुई तिहाई जनताको समर्थनबाट बनेको सरकार हो । नेपालको इतिहासमा यस्तो शक्तिशाली सरकार बहुत कमै बन्ने गरेको इतिहास छ । यो गर्न सक्ने हैसियत बोकेको सरकार हो ।

यो सरकारले त्यो शक्तिको प्रयोग देश र जनताको हितमा गर्नुपर्छ । देशभित्रका बुद्धिजीवीहरुले समेत यो सरकारले केही गर्ला कि भनेर आशा पनि गरेको थिए । तर, ठ्याक्कै जनताको आकांक्षाअनुसार काम भइरहेको छैन ।

सरकारले संविधान संशोधनका सवालहरुमा कुनै काम गरेको देखिएन । औचित्य र आवश्यकताका आधारमा गर्छु भनेर भन्ने तर त्यो औचित्य कहिले आउने हो ? आवश्यकता कहिले महसुस हुने हो ?

ठीक ट्रयाकमा, जुन गतिमा जनताको समस्या समाधान गर्दै देशलाई विकासको गतिमा लैजानुपर्ने हो, सरकार त्यसतर्फ गएको देखिँदैन । कताकता अलमलिएको, अहंकारमा रहेको जस्तो जनताले आभास गर्न थालेका छन् । अहिलेसम्म यो सरकारले ठीक संकेत दिइरहेको छैन । ठीक बाटोमा अग्रसर हुनुपर्नेमा त्यतातिर अलमलिए जस्तो देखिएको छ । यो सबैले भनेकै छन् ।

तपाईले यो सरकार अलमलमा परेजस्तो देखिएको छ भन्नुभयो, कसरी अलमलमा पर्‍यो सरकार ?

यो सरकारले धेरै ठूला ठूला कुरा गरेको थियो । कति पूरा हुने खालका थिए, कति पूरा गर्न गाह्रो हुने खालका थिए । देश प्रगतिको बाटोमा जान्छ, जनताका समस्या समाधान हुन्छन् भन्द्यै यससँग जोडेर धेरै ठूलाठूला कुरा गरिएको थियो । तर, कुरा गरेर मात्रै नहुँदो रहेछ । कथनी र करनीमा फरक देखिएको छ ।

कस्तो फरक ?

जस्तै- संविधान संशोधनका सवालहरु थिए । सारा देश र जनतालाई थाहा छ कि अहिलेको संविधान अधुरो र अपुरो छ ।

संविधानमा आवश्यक संशोधन र परिमार्जन आवश्यक छ । र, यसका लागि जनता लडेका छन् । मरेका छन् । लामो आन्दोलन भएको छ । र, त्यसका लागि यो सरकारसँग क्षमता पनि छ । संसदमा दुई तिहाई शक्ति भएको सरकार हो । तर, सरकार गठन भएको ५/६ महिना भइसक्यो, जो सरकारले २४ घण्टाभित्र गर्न सक्थ्यो । गरेको छैन ।

यो सरकार सबैको सरकार बनोस् भन्ने नै आमजनताको अपेक्षा हो । हिमाल/पहाड/मधेसी जनता सबै वर्ग, क्षेत्र र समुदाय जनजाति, मुस्लिम थारु, सबैको सरकार बनोस् । र, सबैका लागि काम गरेको देखियोस् ।

तर, यसका लागि सरकारले संविधान संशोधनका सवालहरुमा कुनै काम गरेको देखिएन । औचित्य र आवश्यकताका आधारमा गर्छु भनेर भन्ने तर त्यो औचित्य कहिले आउने हो ? आवश्यकता कहिले महसुस हुने हो ? यो अनिश्चितताको र अन्योलको वातावरणमा त काम हुँदैन ।

त्यसैले मधेस आन्दोलनताकाको केपी ओली भएर बस्ने हो भने सरकार असफल हुन्छ । आन्दोलनताका खोक्रो राष्ट्रवादको नारा पनि दिएको हो । तर, अहिले त केपी ओली देशको प्रधानमन्त्री हो । अहिले न खोक्रो राष्ट्रवादको नारा दिन मिल्छ, न जनतालाई गुमराहमा राख्ने काम गर्न मिल्छ । अहिले त बहुत जिम्मेवारीका साथ अगाडि आउनुपर्छ र वास्तविकतालाई स्वीकार गर्नुपर्छ ।

वर्तमान सरकार तपाईहरुकै समर्थनमा बनेको हो । तर, संसदमा अझै प्रतिपक्षको बेञ्चमा बस्नुहुन्छ । सरकारमा जाने कि प्रतिपक्षमै बस्ने ?

हामीले गुण र दोषका आधारमा सरकारको समर्थन र विरोध गर्दै आएका हौं । हामी मन्त्रिपरिषदमा सामेल नभएकाले सत्तापक्ष होइनौं, प्रतिपक्षी नै हौं । सत्तापक्ष भनेपछि त उसका सबै गतिविधिको समर्थन गर्नुपर्‍यो । हामीले त्यो गरेका छैनौं ।

सरकार निमार्ण हुँदा सर्मथन गरेका हौं । तर, त्यसैलाई आधार मानेर सत्तापक्ष भन्न मिल्दैन । राम्रो प्रस्ताव आएको खण्डमा संसदमा राजपाले समर्थन गर्छाैं । अन्यथा गर्दैनौं ।

राजपा सरकारमा जाने सोचाइमा भए पनि मन्त्रालयमा कुरा नमिलेको हो कि ?

सरकार गठनका बेला नै सरकारमा जाने सन्दर्भमा हामीले प्रष्ट आफ्ना कुरा राखेकै थियौं कि यी यी मुद्दाहरु सम्वोधन भए सरकारमा सहभागी हुन सकिन्छ भनेर । तर, त्यो भएन । त्यसकारण अहिले राजपा सरकारमा जाने कुनै सम्भावना छैन ।

अहिलेको परिस्थितिमा राजपाले सरकारमा जाने कल्पना गरेको छैन । सुरुमै हामीले राखेको शर्त पूरा नभएकाले सरकारमा जाने अध्याय सकियो । अब सरकारमा जाने कुरा गर्दै नगर्ने अवस्थामा हामी पुगेका छौं ।

संविधान संशोधनको मुद्दा, रेशम चौधरीको विषय, आन्दोलनका क्रममा लगाएका मुद्दा फिर्ताको कुरा जो छ, यो सरकारले अब पनि पूरा गरेन भने हामी अल्टिमेटम दिन बाध्य हुन्छौं । तर, अझै पनि हामी पर्ख र हेरकै नीतिमा छौं । केही समय अझै पर्खिन्छौं ।

कति समय पर्खिने ? ६ महिना, एक वर्ष…..

हैन, हैन । पार्टीले परिस्थितिको मूल्याङ्कन गर्दैछ । पण्डितले जस्तो समय तोक्न त भएन नि ।

संविधान संशोधनसँगै नागरिकताको विषय पनि मधेस आन्दोलनको माग थियो । केही दिनअघि मात्रै दुई नम्बर प्रदेशले संघीय सरकारका गृहमन्त्रीलाई पत्र नै लेखेको छ । दुई नम्बर प्रदेश सरकार र संघीय सरकारका बीचमा दरार देखिएको हो ?

नागरिकताको समस्या देशकै समस्या हो । खास गरेर मधेसमा अलि बढी समस्या भइरहेको छ । राज्य कुण्ठाले भरिएको छ । शासन कुण्ठाले भरिएको छ । यही भएर समस्या कायमै रहेको हो । नत्र संविधानमा जुन कुरा प्रष्ट उल्लेख भएको छ, त्यसको कार्यान्वयन किन भएन ?

संविधानमै नेपाली नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउने भन्ने छ । त्यो किन नदिएको होला ? यो विषयमा अदालतले समेत पटक-पटक यो संवैधानिक प्रावधान हो भनेर नागरिकता दिन आदेश दिन्छ । तर, जो मुद्दा लड्न जान्छ, उसलाई दिन्छ, अरुलाई दिँदैन । जब कि त्यो नजिर भइहाल्छ । यो राज्यका नालायकीपन भन्दा अरु केही होइन ।

यही रवैया रहृयो भने के हुन्छ ? प्रान्त र संघका बीचमा टकराव हुन्छ । मधेसमा यसखालको समस्या देखिएको छ । नेपाली भाषी दुनियाँको जुन भागबाट आए पनि रातारात बंशजका आधारमा नागरिकता पाउन योग्य हुन्छ । यो विकृत मानसिकता हो । यो गलत मानसिकता परिवर्तन हुनुपर्छ ।

राजपाको धार किन स्पष्ट नभएको ? फोरमसँगको एकताको कुरा पनि सेलायो । अहिले फेरि कांग्रेससँग जोड्न थालिएको छ, यस्तो दोधार किन ?

फोरमसँग राजपाको एकता हुन सक्दैन । फोरम सरकारमा छ, राजपा प्रतिपक्षमा छ । कसरी हुन्छ ?

एमाले र माओवादी मिलेजस्तै फ्याट्टै मिल्न के बेर ?

अब ऊ (फोरम) त कम्युनिस्ट पार्टीसँग मिलेर काम गरिरहेको छ, कसरी हुन्छ ? त्यो सम्भावना अहिले छैन । अहिलेको परिस्थितिमा फोरमसँगको एकताको सम्भावना छैन ।

कांग्रेससँग नि ?

कांग्रेससँगको सहकार्यको जुन सवाल हो, कांग्रेसको सबै ईस्युमा हाम्रो समर्थन रहन गाह्रो छ । हाम्रा सबै ईस्युमा कांग्रेसले समर्थन गरेको छैन । त्यसैले प्रतिपक्षको नाताले जुन-जुन कुरामा हाम्रो बिचार मिल्छ, हामी सँगै हुन्छौं ।

सरकारी पक्षले हाम्रो पक्षमा कुरा ल्यायो भने हामी त्यसलाई पनि समर्थन गर्छौं । त्यस्तै, कांग्रेसले ल्याएको प्रस्तावको पक्षमा पनि जायज लागेको खण्डमा उसैको पक्षमा उभिन्छौं । त्यसैले अहिले हामी संसदमा ईस्यु अनुसार उभिन्छौं ।

सरकारमा नजाने भनिसकेपछि अब राजपाको ध्यान केमा केन्द्रित भइरहेको छ ?

हाम्रा आफ्नै सांसद रेशम चौधरीको सपथ भएको छैन । कैयन कार्यकर्ता जेलमा छन् । मुद्दा मामिलाप्रति हामी चिन्तित छौं । संविधान संशोधनका विषयमा चिन्तित छौं । यी सबै सवाललाई लिएर पर्ख र हेरको नीतिमा छौं । संसदको यो विषयका सन्दर्भमा कार्यकर्तालाई जानकारी गराउनुपर्ने हुन्छ ।

हाम्रा आफ्नै सांसद रेशम चौधरीको सपथ भएको छैन । कैयन कार्यकर्ता जेलमा छन् । यी सबै सवाललाई लिएर पर्ख र हेरको नीतिमा छौं ।

हामीले पार्टीको संगठनसम्वन्धी गृहकार्य अगाडि बढाइरहेका छौं । राजपा नेपाल ६ वटा पार्टी मिलेर बनेको हो । यसको संगठन सुदृढीकरणका लागि महाधिवेशनमा जाने भनेर पार्टीले निर्णय गरिसकेको छ ।

आगामी बैशाख ७, ८, ९ गते पार्टीले महाधिवेशन गर्ने तय गरिसकेको छ । त्यसका लागि आवश्यक विधान र कार्यक्रमहरु बनाउँदैछौं । चाँडै पार्टीको विधान र कार्यक्रम, कहिले गाउँ अधिवेशन, कहिले जिल्ला अधिवेशन तय हुन्छ । पार्टीका वर्गीय संगठनहरु, भातृ संगठनहरुलाई चुस्त दुरुस्त गर्नेलगायतका सबै काम हामी योबीचमा सँगसँगै गर्छाैं ।

राजपा क्षेत्रीय दल हो भन्ने धेरैको बुझाइ छ । महाधिवेशनले त्यो ट्याग मेटाउँछ ?

मधेसकेन्द्रित संगठन रहेकाले त्यस्तो भनेका होलान् । तर, हामीले राष्ट्रिय सवाल नै उठाएका हांैं । जुन देश र जनताको हितमा छ, त्यो सवाल उठाइरहेका छौं । संगठनको मामिलामा पनि आगामी महाधिवेशनमा पुग्दा मधेस, पहाड, हिमाल सबैतिर संगठन विस्तार हुने अवस्था म देखिरहेको छु ।

७७ वटै जिल्लामा संगठन निर्माण गर्ने प्रयत्न जारी नै छ । तर, मधेसमा हाम्रो बलियो संगठन छ र मधेसका सवालहरु प्रखर रुपमा अगाडि बढेका छन् । हाम्रो मुख्य आधार मधेस हो ।

तपाईले पहिले संसदीय दलको नेतामा दाबी गर्नुभो, पछि आफैं हट्नुभो, किन ?

अहिलेको अवस्थामा निर्वाचनको बाटो उपयुक्त थिएन । पार्टी एकताको सन्देश दिन आवश्यक थियो । एकतावद्ध भएर हामी महाधिवेशनमा जानु आवश्यक थियो । त्यसैले संसदीय दलको नेता चयनमा हामी त्यो सन्देश दिन सफल भयौं ।

आगामी दिनमा पनि सहमतिबाट नै सम्पूर्ण तयारी गर्छाैं । पहिले पार्टी बनोस् भन्ने छ । त्यसका निम्ति सबैले राय सल्लाह गरेर नै सहमति गर्नुपर्छ, चुनाव गर्नुहुन्न भनेर यस्तो निर्णयमा पुगेका हौं ।

अबको महाधिवेशनपछिका नेता राजेन्द्र महतो हुन् कि महन्थ ठाकुर ?

पार्टीको संगठनसम्वन्धी संरचना, नेतृत्व, थिति यो सबै महाधिवेशनमा तय हुने कुरा हो । महाधिवेशनमा देशभरका सम्पूर्ण कार्यकर्ताहरुले निर्णय गर्ने कुरा हो । यसको जवाफ महाधिवशेनले मात्रै दिन सक्छ ।

कांग्रेसको गढ मानिएको धनुषामा विमलेन्द्र निधिलाई पराजित गरेर संघीय संसदमा आउनुभएको छ । यतिबेला जनतासामु गरेका बाचाहरु भुल्नुभयो कि सम्झना छ ?

मेरो निर्वाचन क्षेत्र जनकपुर होस् वा समग्र मधेसको चुनावी परिणाम, त्यो मधेस आन्दोलनको उपज हो । प्रदेश नम्बर दुईको जुन परिणाम हो, त्यो आन्दोलनको परिणाम हो । मधेस आन्दोलनको प्रतीक हो ।

जनताले आन्दोलनका एजेण्डालाई समर्थन गरेका हुन् । प्रदेश नम्बर दुईमै आन्दोलनको रापताप थियो । वीरगञ्जदेखि सप्तरीसम्म नै थियो । जहाँ-जहाँ आन्दोलन भयो, त्यहाँ-त्यहाँ जनताले आन्दोलनको एजेण्डालाई पुरस्कृत गरेका छन् ।

कैलालीमा थरुहट आन्दोलन भयो । त्यहीँका जनताले भूमिगत रहेका व्यक्तिलाई अपार बहुमतले जिताएर पठाए । त्यो थरुहट आन्दोलनलाई जनताले म्याण्डेट दिएको हो नि । यो राज्यसत्ताले बुझ्नुपर्छ ।

सोही अनुसार मेरो निर्वाचन क्षेत्र जुन कांग्रेसको गढ भन्ने थियो, त्यसलाई जनताले ठाडै इन्कार गरे । किनभने ती नेताले मधेसको पक्षमा काम गर्न सकेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment