Comments Add Comment

मारिएका सैनिकको परिवारले ७ वर्षसम्म तलब पाउने

१४ साउन, काठमाडौं । सरकारले कार्य क्षेत्रमा खटिँदा मृत्यु भएका सैनिकका परिवारलाई सात वर्षसम्म पूरा पारिश्रमिक उपलब्ध गराउने व्यवस्था गरेको छ ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले कार्य क्षेत्रमा खटिँदा मृत्यु भएका सैनिकका परिवारलाई ७ वर्षसम्म पूरा पारिश्रमिक उपलब्ध गराउने व्यवस्थासहित सैनिक सेवा नियमावली, २०६९ लाई संशोधन गरिएको जानकारी गराएका छन् ।

सोमबार सैनिक मुख्यालय भद्रकालीमा आयोजित वीरगति प्राप्त गरेका सैनिक परिवारको एक दिने कार्यशाला गोष्ठीमा बोल्दै उनले पीडित सैनिकका परिवारलाई राहत दिन सरकारले सैनिक सेवा नियमावली संशोधन गरेको पनि स्पष्ट पारे ।

गत असार २० गते बसेको मन्त्रिपरिषद बैठकले संशोधन गरेको नियमावलीमा कार्य क्षेत्रमा खटिँदा मृत्यु भएका सैनिक जवानको एक तह स्वतः बढुवा गर्ने व्यवस्था पनि गरेको छ ।

त्यसैगरी सैनिक जंगी कार्वाही वा सेना परिचालन भएका बेला आकस्मिक दुर्घटनामा परी अशक्त भएका सैनिकलाई एक तह बढुवा गर्ने व्यवस्था पनि गरिएको छ । उपप्रधानमन्त्री पोखरेलले पीडित सैनिकका परिवारलाई सम्बोधन गर्न सरकार लागि परेको पनि बताए ।

कर्तव्य पालनाको सिलसिलामा कुनै सैनिक वेपत्ता, अशक्त वा घाइते र मृत्यु भएमा उसको परिवारले निवृत्तिभरण र उपदान पाउने व्यवस्था पनि संशोधित सैनिक सेवा नियमावलीमा गरिएको छ ।

त्यसैगरी सरकारले वेपत्ता, अशक्त वा घाइते र मृत्यु भएमा सैनिकका छोराछोरीलाई शैक्षिक भत्ता उपलब्ध गराउने व्यवस्था पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment