Comments Add Comment

भरतपुर अस्पताललाई केन्द्रीय अस्पताल बनाउन पहल

१५ साउन, चितवन । एक वर्षमा झण्डै २ लाख ४० हजार बिरामीहरुले उपचार सेवा लिने भरतपुर अस्पताललाई केन्द्रीय अस्पताल बनाउन पहल सुरु भएको छ ।

भरतपुरमा अस्पतालमा आउने बिरामीको संख्या काठमाडौंको बीर अस्पताल पछिको बढी भएको अस्पताल प्रशासनको दावी छ । अस्पतालमा दैनिक एक हजार ओपीडीमा आउने र वार्षिक ४५ हजार बिरामी भर्ना हुने गरेको अस्पतालको तथ्यांकमा छ । काठमाडौंको प्रसूति गृहपछि धेरै संख्यामा सुत्केरी सेवा लिने अस्पताल पनि यही नै हो ।

तर, अचम्मको कुरा के छ भने भरतपुर अस्पतालको स्टाटस मन्त्रालयमा एक जिल्ला अस्पतालको रुपमा मात्रै छ । अस्पतालको स्वीकृत बेड संख्या तीन सय छ । सरकारी कर्मचारी, चिकित्सक, नर्स पारामेडिक्स सबै गरेर स्वीकृत दरवन्दी जम्मा १७५ जनाको छ । तिमध्ये अस्पतालमा आएर काम गर्ने जम्मा १५० को हाराहारीमा मात्रै छन् ।

अस्पताल विकास समितिले थप तीन सय बेडको अस्पताल चलाएको छ भने उसले ४७७ जना कर्मचारीहरुलाई अस्पतालको स्रोतबाट तलब खुवाउने गरेको छ । गुरुयोजना अनुसार अस्पतालका दुई ठूला भवनहरु ‘ए’ र ‘बी’ ब्लक बनिसकेका छन् भने, ‘सी’ ब्लक भवन निर्माणको क्रममा छ ।

अस्पतालले अत्याधुनिक सिटी स्क्यान, ल्याव, आफ्नै फार्मेसी, मदन भण्डारी ट्रमा सेन्टर लगायतबाट सेवा पनि दिइरहेको छ । अस्पतालबाट निःशुल्क उपचार लिनेको संख्या मात्रै वार्षिक ९ हजारभन्दा बढी छ । भरतपुर अस्पतालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसँगको साँझेदारीमा स्टार्फ नर्स, बिएन, एमडी एमएसका कक्षाहरु पनि चलिरहेका छन् ।

तर, यहि अस्पतालको दर्जा भने जिल्ला अस्पतालको भएकोमा चिकित्सक, अस्पताल प्रशासन, राजनीतिक दलका नेताहरु असन्तुष्ट देखिन्छन् । अस्पतालको स्तरोन्नती र पहिचान दिलाउन पटक-पटक पहल गरेपनि उपलब्धी हासिल भएको छैन ।

पूर्वाधारमा लगानी छ, मानव संशाधनमा छैन

सरकारले भरतपुर अस्पतालका लागि सहयोग नगरेको भने होइन । उपकरण खरिद, भवन निर्माणमा सरकारले भरतपुर अस्पताललाई प्राथमिकतामा राखेको देखिन्छ । अत्याधुनिक सिटी स्क्यान मेशिन खरिद, भवनहरुको निर्माण, औजार उपकरणमा सरकारको सहयोग छ । तर मानव संशाधनको व्यवस्थापनमा स्वास्थ्य मन्त्रालयले त्यति ध्यान दिएको पाइँदैन ।

‘स्वीकृत दरवन्दी आफैंमा यहाँको बिरामीको चाप र स्वीकृत बेड संख्याको आधारमा कम हो,’ अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा. रविन खड्काले भने, ‘त्यही स्वीकृत दरवन्दीमा पनि चिकित्सक र अन्य कर्मचारीहरु सबै आएका छैनन् ।’

सरकारले बेड अनुसारको दरवन्दी स्वीकृत नदिँदा अस्पताल विकास समिति खर्च धान्न नसक्ने अवस्थामा पुगेको डा. खड्काको भनाइ छ । ‘भरतपुर अस्पताल सरकारी अस्पताल हो । यसले अतिरिक्त रकम बिरामीसँग लिने कुरा पनि आएन,’ मेसु डा. खड्काले भने, ‘बिरामीले त सबै सेवा र उपचार पाउनुपर्दछ भन्ने नै धारणा बनाएका हुन्छन् तर हामीसँग जनशक्ति छैन, कतिपय अप्ठ्याराहरु छन्, हामी चेपुवामा छौं ।’

अस्पताल विकास समितिका पूर्व अध्यक्ष विजय सुवेदीले अस्पतालको सरकारी स्वीकृत दरवन्दीको संख्या बढाउन पहल गरेपनि सफल नभएको बताए । ‘पटकपटक भनियो, लिखित रुपमा पनि दिइयो तर जनशक्ति बढाउने बिषयमा त्यति सहयोग भएन,’ पूर्व अध्यक्ष सुवेदीले भने ।

पहिचान भएन अस्पतालको

भरतपुर अस्पताल मध्यनेपालका १२ जिल्लाका ४० लाख मानिसहरुलाई उपचार गर्ने अस्पतालका रुपमा रहेको छ । संघीय संरचनापछि भरतपुर अस्पतालको पहिचान नभएको भन्दै अस्पतालका पदाधिकारी एवम् राजनीतिक दलका प्रतिनिधि र सांसदहरु सरकारसँग केन्द्रीय अस्पताल बनाउन माग गर्दै काठमाडौं पुगेका छन् ।

प्रदेश नम्बर ३ को सरकारले हेटौंडा अस्पताललाई प्रदेशस्तरीय अस्पताल बनाउने निर्णय गरेपछि भरतपुर अस्पतालले प्रदेशबाट समेत पहिचान पाएन । प्रदेश नम्बर ३ का १३ वटा जिल्लाका जिल्ला अस्पताल सरह यसलाई प्रदेश सरकारले राखेको छ । हेटौंडा अस्पतालबाट अधिकांश बिरामीहरु रिफर भएर भरतपुर अस्पतालमा नै आउने गरेको अस्पतालको दावी छ ।

चितवन क्षेत्र नम्बर ३ का सांसद एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलाई भेटेर अस्पताललाई केन्द्रीय अस्पताल बनाउने पहलका लागि एक टोली काठमाडौं गएको अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा. खड्काले बताए ।

टोलीमा क्षेत्र नम्बर १ का सांसद सुरेन्द्र पाण्डे, क्षेत्र नम्बर २ का कृष्णभक्त पोखरेल, चितवनबाट प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरु, विभिन्न राजनीतिक दलका जिल्लाका नेताहरु र भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल सहभागी छन् ।

डा. खड्काका अनुसार केन्द्रीय अस्पताल र शैक्षिक प्रतिष्ठान बनाउने दुई एजेण्डा राखिएको छ । भरतपुर अस्पतालले केन्द्रीय रिफरल अस्पताल र शैक्षिक प्रतिष्ठान बनाउने दुवै मादपण्ड पूरा गरेको छ ।

भरतपुर महानगरपालिकाले भरतपुर अस्पताललाई केन्द्रीय अस्पताल बनाउने प्रस्ताव गर्दै आएको छ । महानगरपालिकाकी मेयर रेणु दाहालले भरतपुर अस्पताललाई स्थानीय सरकार वा प्रदेश सरकारको मातहतमा नभई केन्द्रीय सरकारको मातहतमा राखिनुपर्ने बताइन् । उनले भरतपुर अस्पताललाई जिल्ला अस्पतालको दाँजो राखिनु अन्यायपूर्ण काम हुने भन्दै त्यसले अस्पतालको गति नै रोकिने बताइन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष प्रचण्ड चितवन आउँदा पटकपटक सार्वजनिक कार्यक्रममा नै भरतपुर अस्पताललाई केन्द्रीय रिफरल अस्पताल बनाउने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment