Comments Add Comment

अमेजन मालिक जेफ बेजोस: पुराना किताब बेच्नेदेखि दुनियाँकै धनी मान्छेसम्म


अनलाइन रिटेलर कम्पनी अमेजन सुरु गर्नुअघि नै जेफ बेजोसले सायद यस्तो भविष्यको कल्पना गरेका थिए होलान्, जहाँ केवल एक क्लिकमा मानिसले सानो ठूलो सबै खाले सामानहरु खरीद गर्न सक्नेछन् ।शपिङ मलको लोकप्रियतामा कमी आउनेछ र पसलहरु आफ्नो अस्तित्व बचाउनका लागि संघर्ष गरिरहेका हुनेछन् ।

सोही कल्पनापश्चात् उनले अमेजनको साम्राज्य खडा गर्ने फैसला गरेका होलान् ।जेफ बेजोसले सन् १९९४ मा अमेजनको सुरुवात गरेका थिए । जुन अहिले विश्वकै पहिलो खरब डलरको कम्पनी बन्नेतर्फ अघि बढिरहेको छ ।

यस्तो कम्पनी जसले कुनैबेला पुराना किताब बेच्दथ्यो तर अहिले लगभग सबै खालका सामानमा उसको पहुँच छ ।

र, यसका मालिक जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन् । यद्यपि, उनको लक्ष्य अझै ठूलो छ । उनको कल्पना केवल जमिन र आकाशसम्म मात्र होइन, त्यसमाथि अन्तरीक्षसम्मै पुगेको छ ।

उनले सन् २०१३ मा वाशिङटन पोष्ट खरीद गरे र त्यसअघि सन् २००४ मा ब्लु ओरिजिन नामको अन्तरीक्षसम्बन्धी कम्पनी एरोस्पेसको स्थापना गरेका थिए । यो कम्पनीले आगामी वर्ष अन्तरीक्ष यात्राका लागि टिकट बेच्ने योजना बनाइरहेको छ ।

एक वर्षअघि जेफ बेजोसकी श्रीमतीले भनेकी थिइन् कि बेजोस आफ्नो भाग्य आफैं लेख्ने मध्येका एक मानिस हुन् । यो केवल पैसाको बारेमा होइन । भविष्य बदल्नका लागि पैसाको उपयोग गर्ने विषय हो ।

स्पेस कोलोनीको कल्पना

जेफ बेजोसको महत्वाकांक्षा कहाँसम्म हुनसक्छ भन्ने कुराको अनुमान दशकौँ पहिले हुन थालेको थियो ।

जेफको जन्म सन् १९६४ को जनवरी १२ मा न्यु मेक्सिकोको अबलुकर्कमा भएको थियो । उनकी आमाको नाम ज्याकी जरगन्सन र बुवाको नाम टेड जर्गन्सन हो ।

ज्याकीले १७ वर्षको उमेरमा जेफलाई जन्म दिएकी थिइन् । तर जेफ जन्मिएको १ वर्षपछि नै उनका बुवाआमाको डिभोर्स भयो ।

उनी आफ्नी आमा र सौतेलो बुवा माइक बेजोससँगै टेक्सास र फ्लोरिडामा हुर्किए ।

जेफ बेजोसका बारेमा ब्रेड स्टोनले सन् २०१३ मा लेखेको बायोग्राफीका अनुसार ३ वर्षको उमेरदेखि नै जेफ बेजोसको झुकाव विज्ञान तथा इन्जिनियरिङमा देखिएको थियो । हाइस्कुल पूरा गरेको अवसरमा उनले दिएको भाषणमा त उनले अन्तरीक्षमा मानव वस्ती अर्थात् कोलोनी बनाउने कल्पना गरेका थिए ।

सन् १९८६ मा उनले प्रिन्स्टन विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरे । त्यसपछि उनले न्युयोर्कमा एक वित्तीय कम्पनीमा काम गरे । त्यसक्रममा उनको भेट मेकेन्जी नामक युवतीसँग भयो । उनैसँग बेजोसको बिहे भयो । मेकेन्जी एक उपन्यासकार हुन् ।

इन्जिनियरिङ तथा विज्ञानतर्फको उनको झुकाव, कल्पना तथा महत्वाकांक्षाले नै उनलाई अमेजनको सुरुवाततर्फ डोरायो ।

जागिर छाडेर अमेजन


इन्टरनेटको बढ्दो पहुँच देखेका बेजोसले ३० वर्षको उमेरमा वित्तिय कम्पनीको जागिर छाडे । त्यसपछि उनले इ कमर्श कम्पनी अमेजनको स्थापना गरे । त्यसमा उनले आफ्नो निजी पैसा तथा परिवारको सहयोग गरी १ लाख डलर लगानी गरे । कम्पनी छिटै नै उनको विश्वासमा खरो उत्रिन सफल भयो ।

अमेजनको सुरुवात उनले एक ग्यारेजबाट पुराना किताब बेच्ने अवधारणासँगै गरेका थिए ।

ब्रेड स्टोनको किताब ‘द एभ्रिथिंग स्टोरः जेफ बेजोस एण्ड द एज अफ अमेजन’ का अनुसार सन् १९९५ मा अमेजनको सुरुवात भएसँगै एक महिना भित्रैमा यसले अमेरिकाका ५० राज्य तथा विभिन्न ४५वटा देशबाट सामानको अर्डर लिएको थियो ।

पहिलो पाँच वर्षमा अमेजनका ग्राहकको संख्या एक लाख ८० हजारले बढेर एक करोड १७ लाख पुग्यो । यसको बिक्रि ५ लाख ११ हजार डलरबाट बढेर १.६ अर्ब डलर भयो ।

त्यो सँगै कम्पनीमा ठूला ठूला लगानीकर्ता आउन थाले । सन् १९९७ मा अमेजन पब्लिक कम्पनीको रुपमा गयो । अन्ततः हेर्दा हेर्दै ३५ वर्षको उमेर भित्रै बेजोस विश्वको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।

सन् १९९९ मा टाइम म्यागेजिनले उनलाई किंग अफ साइबर कमर्स घोषणा गरेको थियो ।

नयाँ प्रयोगसँग डर छैन

जेफ बेजोस नयाँ प्रयोग गर्न तथा पैसा कमाउनका लागि लगानी गर्ने कुरासँग डराउँदैनन् । निशुल्क डेलिभरी, छुट तथा किन्डल इ रिडर जस्ता डिभाइस विकसित गर्नका लागि उनले वर्षौँ लगाए ।

तर सम्भव भएसम्म अमेजन बचत गर्नपनि पछि हट्दैन । मूख्यालयमा बस्ने कर्मचारीहरुसँग पार्किङको शुल्क लिने, आपूर्तिकर्ताहरुसँग लड्ने, आफ्नो गोदाममा श्रमिक संघको स्थापनाको विरोध गर्ने र सकेसम्म कम कर तिर्ने ।

अमेजनले गरेका केही सुरुवाती लगानीहरु जस्ते पेट्स डट कममा उसलाई घाटा समेत भयो । तर नयाँ उद्यमका लागि बेजोसको भोक मरेन ।

गतवर्ष अमेजनले होल फुड्स खरीद गर्यो । साथै यो वर्ष एक औषधि बिक्रेता कम्पनी पनि किन्यो ।

अमेजनले यस वर्ष सन् २०१८ को तिन महिनामा ५३ अर्ब डलरको बिक्रि गरेको थियो र त्यसबाट अढाइ अर्ब डलर मुनाफा कमायो । जुन किर्तिमानी मुनाफा हो ।

अमेजनमा कूल ५ लाख ७५ हजार कर्मचारी काम गर्दछन् । यो भनेको लक्जेम्बर्गको पूरै जनसंख्या भन्दापनि बढि हो ।

अमेजनले हजारौँ थर्डपार्टी कारोबारीहरुलाई लजिस्टिक्स, भण्डारण, ऋण तथा बिक्रिका लागि प्लाटफर्मको सुविधा पनि प्रदान गर्दछ ।

औँला नउठेको होइन


यद्यपि, अमेजनको बजारमा एकाधिकारको खतरा,कर छली तथा श्रम कानूनको पालना नभएको विषयलाई लिएर आलोचना पनि हुने गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेजनमाथि आरोप लगाउँदै उसले युएस पोर्टल सर्भिसको निकै कम दरको अनावश्यक फाइदा उठाइरहेको छ ।

यी सबैका बाबजुत बेजोस पछिल्ला दिनहरुमा ट्विटरमा निकै सक्रिय भैरहेका छन् । उनले आफ्ना आमाबुवा र कुकुरको भिडियो पनि शेयर गर्दछन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment